बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

जिल्ला नगरको नेतृत्व गर्नु समग्र निजी क्षेत्रको नेतृत्व गरेसरह हो : दिनेश श्रेष्ठ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २० २०७९
images
images
जिल्ला नगरको नेतृत्व गर्नु समग्र निजी क्षेत्रको नेतृत्व गरेसरह हो : दिनेश श्रेष्ठ

अघिल्लो निर्वाचनमा शेखर गोल्छा तथा किशोर प्रधान समुहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी भएका दिनेश श्रेष्ठ यसपटक वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठको समुहबाट चुनावी मैदानमा होमिएका छन्। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। 

images
images
images

महासंघको आगामी निर्वाचनमा पनि जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्याशी श्रेष्ठ साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले गरेका कामहरु नै विजयको प्रमुख आधार भएको बताउँछन्। 

महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट सशक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगरतर्फको उपाध्यक्षमा पुनः दाबेदारी दिएको उनको भनाइ छ।

images

'यो क्षेत्रको नेतृत्व गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृत्व गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,' श्रेष्ठले भने।

images

नेपालमा अहिले उद्योग व्यवसाय सञ्चालन गर्नको लागि दक्ष कामदारको ठूलो अभाव रहेको उनको बुझाइ छ। कामदारको क्षमता अभिवृद्धिमा ध्यान दिन नसक्दा उत्पादकत्व अहिलेसम्म पनि न्यून नै रहेको उनले बताए। 'जसरी नेपाली युवाहरुले विदेशी भूमिमा निकै राम्रो क्षमता प्रदर्शन गर्दै आइरहेका छन्, त्यसरी नै नेपालमा पनि काम गर्नसक्ने गरी उनीहरुको गुणात्मक क्षमता अभिवृद्धि गर्ने कार्य हाम्रो लागि ठूलो आवश्यकताको विषय बनेको छ', उनले भने, 'जबसम्म कामदारको उत्पादकत्व वृद्धि हुन सक्दैन, तबसम्म अन्य आयातित वस्तुसँग प्रतिष्पर्धामा जान सकिँदैन।'

जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या तथा जिल्ला नगर उद्योग वाणिज्य संघको सशक्तीकरणमा जोड दिँदै प्रत्याशी श्रेष्ठले महासंघमा आफूले धेरै काम गर्न बाँकी रहेको बताए। कुनै पनि कम्पनी दर्ताका लागि संघले दिने सिफारिसदेखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरुले नपाउने समस्याका विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाएका छन्।

पछिल्लो समय उद्योग व्यवसाय धराशायी अवस्थामा पुगेको भन्दै उनले बैंक वित्तीय संस्थाको ब्याजदर, सहुलियत लगायत विषयमा समस्याको पहिचान गर्न जरुरी रहेको उनको भनाइ छ। ब्याजदर र बैंक वित्तीय संस्थाबाट उत्पन्न समस्याका विषयमा लामो समयदेखि आवाज उठाइरहेका श्रेष्ठले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।

सरकारी संयन्त्रका कर्मचारीले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिएका श्रेष्ठले ऐन कानून उद्योगी व्यवसायीलाई नियन्त्रण गर्ने किसिमको हुने गरेको भन्दै त्यसमा सहजीकरण गर्न पनि पहल गर्ने बताए। छुट्टै चेम्बर ऐन, क्रेडिट ऐन, व्यवसायीको लगानी सुरक्षित हुने गरी सुरक्षित कारोबार ऐन जरुरी रहेको उनको भनाइ छ।

'अहिले कारोबार ऐन छ तर, त्यसका केही प्रावधानहरु गलत छन्। राज्य संयन्त्रका कर्मचारीले हामीप्रति देखाउने व्यवहार गलत छ', उनले भने, 'यसकारण पनि व्यवसायीहरुले नचाहेर पनि गलत बाटो अपनाएर व्यवसाय गर्नुपर्ने अवस्था छ। यसको अन्त्य हुनुपर्छ।' करका दरहरु धेरै हुँदा चोरी पैठारी बढिरहेको श्रेष्ठको बुझाइ छ।

जिल्ला नगरका साथीहरुको आग्रहमा नै पुनः सोही पदमा उम्मेदवारी दिएको उनको भनाइ छ। सबैजना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुनसक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर साथीहरुसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा नै उम्मेदवारी दिएको उनले बताए। 

अघिल्लो निर्वाचनमा शेखर गोल्छा तथा किशोर प्रधान समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी भएका श्रेष्ठ यसपटक वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको समूहबाट चुनावी मैदानमा होमिएका हुन्। 

झण्डै २ दशकदेखि उद्योग वाणिज्य महासंघमा कार्यसमितिअन्तर्गत विभिन्न भूमिकामा रहँदै आएका छन्। व्यावसायिक परिवारमा जन्मिएका कारण सानैदेखि व्यवसायमा धेरैथोरै संलग्न रहेका श्रेष्ठले विसं. २०३६ सालदेखि पूर्णरुपमा आफैले व्यवसाय सम्हाल्न थालेका हुन्। हाल श्रेष्ठ मुख्य रुपमा हाते टुल्स, अफिस इक्वीपमेन्ट तथा विभिन्न इक्वीपमेन्टहरु नेपाली बजारमा उपलब्ध गराउने व्यवसायमा संलग्न छन्। हाल प्यासिफिक ग्रुपका मुख्य सञ्चालक पनि हुन् दिनेश श्रेष्ठ।


प्रकाशित : सोमबार, चैत २० २०७९०८:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend