बिहीबार , वैशाख २७ गते २०८१    
images
images

निर्माणाधीन तमोर करिडोरमा बाक्लियो चहलपहल, फस्टाउँदै व्यापार व्यवसाय

images
बिजनेस न्युज
images
images
निर्माणाधीन तमोर करिडोरमा बाक्लियो चहलपहल, फस्टाउँदै व्यापार व्यवसाय

यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फ उन्मुख हुन थालेका छन्।

images
images

धनकुटा- निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ।

images
images
images

अहिले तराईबाट कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन्। तराईबाट उक्त दुई जिल्लासम्म जान करिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीसाधनको चाप दैनिक बढ्ने क्रममा छ। यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फ उन्मुख हुन थालेका छन्।

images

विसं २०७० मा यस स्थानमा सडक पुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे गाउँपालिका-५ हङ्समोरङ बेंसीकी रुपादेवी दाहालले जानकारी दिए। आफूसँग भएको तीन रोपनी जमिनबाट जीवनयापन असहज भइरहेका बेला करिडोरको व्यापारले आफ्ना तीन जनाको परिवारको जीवनयापनमा सहज भएको उनले सुनाए।

images

पहिला करिडोर लक्षित पसल तथा होटल कम भएकाले दैनिक तीनदेखि पाँच हजार रूपैयाँ कमाइ भए पनि हाल भने सडक छेउमा अनगिन्ति होटल सञ्चालनमा आएकाले व्यापारमा कमी आएको उनको भनाइ छ।

images
images

त्यस्तै साँगुरीगढी गाउँपालिका-३ कुशेटारका ४६ वर्षीय खेम न्यौपानेले पनि गत वर्षबाट कृषि पेसा छाडेर सानो किराना पसल र होटल सञ्चालन गर्दै आएका छन्। गत वर्षदेखि पाँच लाख रूपैयाँ लगानीमा व्यवसाय सुरु गरेको बताउने न्यौपानेले मासिक ४० हजार रूपैयाँसम्म कमाइ हुने गरेको जानकारी दिए।

पहिला कृषि पेसाबाट जीवनयापन असहज भएपछि वैदेशिक रोजगारीमा गएका न्यौपानेले करिडोरमा चहलपहल बढेपछि व्यापारमा लागेको बताए। पहिला बजार नपाएर त्यसै खेरजाने यहाँका उत्पादन अहिले करिडोर बनेपछि यसै ठाउँमा बसेर स्थानीयले मनग्य आम्दानी गरिरहेको उनले जानकारी दिए।

करिडोरका कारण चौबिसे वडा नं ५ भैँसेटारका २६ घर माझी परिवारको जीवनमा पनि सहजता आउन थालेको छ। पारम्परिकरुपमा माछा मार्ने र खेतीपाती गर्दै आएका सो क्षेत्रका माझी पसल गर्ने तथा सवारीसाधनमा काम गर्नेतर्फ अग्रसर रहेको स्थानीय राजन माझीले बताए।

करिडोरमा दैनिक एक सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले उनीहरुले तमोर नदीमा मारेको माछासमेत तत्काल र उचित मूल्यमा बिक्ने गरेको उनले जानकारी दिए। 'पहिला मारेको माछा कहिले बिक्ला भनेर सुकाएर राख्नुपर्थ्याे', उनले भने, 'अहिले तुरुन्त बिक्छ, हामीलाई जीवन चलाउन धेरै राहत भएको छ।'

दुई वर्षअघिदेखि ४० हजार रूपैयाँमा सामान्य किराना पसल खोलेका माझीले हाल गाउँमा सो समुदायका चार किराना सञ्चालन गरिरहेको जानकारी दिए। भारतको जोगवनीदेखि चीनको ओलाङ्चुङगोला जोड्ने दुईसय ५४ किमी लामो उक्त करिडोरको मूलघाट-पाँचथर सडकखण्ड अहिले ग्राभेल भएर कालोपत्रको चरणमा छ।

images

प्रकाशित : आइतबार, चैत १९ २०७९०८:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend