बुधबार, जेठ १७ गते २०८०

किर्किट्या-गैरीडाँडा-कालडाँडा : यात्रा गर्नै कठिन

images
images
विजनेस न्युज
किर्किट्या-गैरीडाँडा-कालडाँडा : यात्रा गर्नै कठिन

रुपातोलाको किर्किट्याबाट अहिलेसम्म बाटो काटिएको छैन। चट्टान तथा पहिराको बीचमा चौपायाले टेकेका पाइलामा पाइला मिलाएर यात्रा गरेको पनि पाँच वर्ष भइसक्यो।

images
images
images

बझाङ- चट्टानै चट्टान भएको भीरमा साँघुरो बाटो। यताउता फर्कनै नमिल्ने। माथि हेर्दा चट्टान खस्ला झैँ, तल हेर्दा आँङै सिरिङ हुने। त्यही बाटोमा भारी बोकेर यात्रा गर्छन्, तलकोट गाउँपालिका-२ रुवातोलाका गोविन्द बोहरा। उनी हरेक महिना छ-सात पटक गह्रुँगो भारीसहित तीन दिन पैदलयात्रा गरेर साइपाल पुग्छन्।

images
images
images

भारी बोकेरै जीविकोपार्जन गर्ने उनलाई सरकारले रोजगारी दिएन भन्ने गुनासो छैन। सरकारले बाटो मात्रै बनाइदिए उनको मनमा शान्ति हुने बोहराको भनाइ छ। 'जीविकोपार्जनका लागि साइपालको भारी बोक्नुपर्छ,' उनले भने, 'साइपालमा भारी बोकेर जान सबैभन्दा समस्या यही बाटोमा हुन्छ। पालिकाले रोजगारी नदिए पनि बाटो मात्रै बनाइदिए हामीलाई ठूलो राहत हुने थियो।'

रुपातोलाको किर्किट्याबाट अहिलेसम्म बाटो काटिएको छैन। चट्टान तथा पहिराको बीचमा चौपायाले टेकेका पाइलामा पाइला मिलाएर यात्रा गरेको पनि पाँच वर्ष भइसक्यो। मानवबस्तीको सबैभन्दा अन्तिम गाउँ साइपालको न्युना, बलौडी तथा धुलीका लागि पिठ्यूँमा भारी बोक्दै हिँड्ने उनलाई सबैभन्दा कठिन यात्रा कालडाँडासम्मको लाग्छ।

images

कालडाँडादेखि किर्किट्यासम्मको दूरी झण्डै २५ किलोमिटर छ। 'यो बाटोमा संयमता नअपनाए कोही पनि फर्केर आउन सक्दैन,' बोहराले भने, 'भारी पिठ्यूँमा बोकेर एकछिन पनि पर्खन सकिन्न। माथिबाट ढुङ्गा खस्ला भन्ने डर, तलबाट खुट्टा चिप्लिने डर। संयोगवश अहिलेसम्म दुःखद खबर भएको छैन।' बोहराका अनुसार रुपातोलाको किर्किट्याबाट भारी बोकेर कालडाँडा पुग्न १२ घण्टा लाग्छ। 'कालडाँडा तलको खोला (ठूले खोला) सम्म पुग्नै साढे पाँच घण्टा लाग्छ। त्यसपछि उकालै उकालो। त्यो यात्रा पार गरेपछि भने बाँचे जस्तै लाग्छ', उनले भने।

गैरीडाँडामा भेटिए, रुपातोलाका दीपक बोहरा। गैरीडाँडा कालडाँडा र ठुले खोलाको बीचमा पर्छ। उनी साइपालको न्यूनामा बन्दै गरेको एउटा घरको रडसहित सामान बोकेर आएका हुन्। कालडाँडा पुग्न यहाँबाट साढे दुई घण्टाको यात्रा गर्नुपर्छ। 'जोखिम बाटोको बढी भाग त काटेँ। कालडाँडा पुगेपछि मात्रै साइपाल पुगेजस्तै हुन्छ', उनले भने।

दीपकले कालडाँडा पुगेपछि साइपाल जाने बाटो भने केही सहज भएको बताए। साइपालको न्यूना गाउँ पुग्न कालडाँडाबाट झण्डै १० घण्टा उकालो ओरालो हिँड्नुपर्छ। 'साइपालले फराकिलो बाटो बनाएको हुँदा जता पनि भारी बिसाउन सकिन्छ। आराम गर्दै हिँड्न सकिने भएकाले बाटोको समस्या हुँदैन', उनले भने।

दीपक हरेक महिनामा चार/पाँच पटक त्यही बाटो ओहोरदोहोर गर्छन्। धुलीसम्म  पिठ्यूँमा भारी बोकेर परिवारको गुजारा गर्छन्। दीपकले भने, 'तीन-चार दिनको यात्रा गरेर धुलीसम्म पुर्‍याएको सामानको ज्यालाले परिवार पाल्नुपर्छ।' उनले भारी बोकेको पैसाबाट कर तिरिरहेको बताउँदै सरकारले बाटो नबनाइदिएकामा गुनासो गरे। 

रुपातोलाका महादेव जोशी पुजारी हुन्। उनका जजमान (पूजा लगाई माग्ने समुदाय) साइपालमा छन्। पूजाआजा हुने साइतदेखि औँसी पूर्णिमाको दिन जोशी साइपाल पुग्छन्। न्यूना र बलौडीमा पूजाका लागि उनी घरबाट एक दिन अघि नै निस्कनुपर्छ। 'आफू पुजारी भएकाले सामानको भारी बोक्नु पर्दैन, रित्तै आउनुपर्ने हुन्छ। भारी बोक्नेहरुको जस्तो समस्या मैले भोगेको छैन,' उनले भने, 'भारी बोकेर आउनेहरूलाई त बाटो ‘काल’ जस्तै हो। सरकारले बाटोका लागि वास्तै गर्दैन।'

किर्किट्या-गैरीडाँडा-कालडाँडा बाटो हिँड्ने तलकोटको रूपातोलावासी मात्रै नभइ साइपालको न्युना र बलौडीबासी पनि नियमित ओहोरदोहोर गर्छन्। 'माथिबाट तलकोट क्षेत्रको करिब तीन घण्टा लाग्ने बाटो साइपालले काटेको छ। 'तलको भाग तलकोटले काटेर बाटो खोलीदिए सबैलाई सहज हुन्थ्यो', न्युनाका प्रदीप बोहराले भने। लेकको ठाउँ त्यसमाथि जोखिम पूर्ण यात्रा गर्दा बाटोका कारण सबैलाई जोखिम भएको उनले बताए।

'घरबाट निस्कने बित्तिकै किर्किट्या-गैरीडाँडा-कालडाँडा बाटोको यात्रा सफल होस् भनेर परिवारले पुकार गर्छन्,' प्रदीपले भने, 'बर्खायाममा तलकोट-साइपाल यात्रा नै बन्द हुन्छ। काँडा भएर जान ६ दिन पैदल यात्रा गर्नुपर्छ। अझ कहिलेकाहीँ खोला बढेर जानै सकिँदैन।' हिउँदमा यहाँका बासिन्दाले यही चट्टानको बाटो भएर बोकेर ल्याइएका खाद्य तथा दैनिक उपभोग हुने सामानबाट गुजारा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

तलकोटको सिमाना काउल्यासम्म हो। काउल्यादेखि कालडाँडा पुग्न झण्डै पाँच घण्टा समय लाग्छ। त्यो बाटो सबै साइपाल गाउँपालिकाले काटेको छ। तलकोट गाउँपालिकालाई बाटोका लागि धेरै प्रयास गर्दा पनि सुनुवाइ नभएको गोविन्दले बताए। 'दुई चारजना गएर त्यो बाटो काटिँदैन,' उनले भने, 'पालिकाले बजेट विनियोजन गरेमा सबैलाई ढुक्कले हिँड्ने बाटो बनाउन सकिन्थ्यो।'

बाटो निर्माणका लागि स्थानीय सरकालाई पटक-पटक जानकारी गराए पनि वास्ता नगरेको गोविन्दले गुनासो गरे। 'यस वर्ष पनि धेरै भन्यौँ, वडासँग जहिल्यै झगडा पर्छ। बाटोका लागि कुनै सरकारले चासो देखाउँदैनन्', उनले भने।

गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले बाटो निर्माणका लागि पहल भइरहेको बताए। उनले भने, 'म पालिकामा आएदेखि नै बाटोका निर्माणका लागि कार्यपालिकामा निर्णय गरेर डेढ लाख रूपैयाँ छुट्याएका छौँ। बिस्तारै काम हुनेछ र आवश्यकताअनुसार बजेट पनि थप्नेछौँ।'

पालिकामा नयाँ सरकार बनेको अब एक वर्ष पुग्न लागेको छ। बाटो खन्ने तयारीसमेत नभएकाले अध्यक्षको कुरा पत्याउन नसकिने स्थानीय कलकबहादुर बोहोराले बताए। 'हामी जहिल्यै पालिकामा जाँदा ‘अब बन्छ’ भन्ने आश्वासन मात्रै दिनुहुन्छ। अहिलेसम्म बाटोका लागि केही पहल भएको छैन। अब यो आर्थिक वर्षसम्म आशा गरौँ केही हुन्छ कि !', उनले भने। रासस 

images

प्रकाशित : शनिबार, चैत १८ २०७९०१:२८
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ