बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चिनियाँ कम्पनी हुवावेको नाफामा दशककै उच्च गिरावट 

शुक्रबार, चैत १७ २०७९
चिनियाँ कम्पनी हुवावेको नाफामा दशककै उच्च गिरावट 

अमेरिकी प्रतिबन्धको मारमा परेपछि निरन्तर  घट्दै गएको कम्पनीको नाफा सन् २०२२ मा अझ तीब्र बनेको छ। कम्पनीले सन् २०२२ मा ३५.६ अर्ब युआन नाफा गरेको छ यो सन् २०२१ को तुलनामा ६९ प्रतिशतले न्यून हो। 

काठमाडौं- चिनियाँ टेक जायन्ट हुवावेको नाफामा गएको दशककै उच्च गिरावट आएको छ। कम्पनीले आज सार्वजनिक गरेको विवरण अनुसार सन् २०२२ मा कम्पनीको नाफा ६९ प्रतिशतले घटेको छ। यो सन् २०११ पछिको उच्च गिरावट हो। 

अमेरिकी प्रतिबन्धको मारमा परेपछि निरन्तर  घट्दै गएको कम्पनीको नाफा सन् २०२२ मा अझ तीब्र बनेको छ। कम्पनीले सन् २०२२ मा ३५.६ अर्ब युआन नाफा गरेको छ यो सन् २०२१ को तुलनामा ६९ प्रतिशतले न्यून हो। 

अमेरिकी प्रतिबन्धको असर तथा पछिल्लो समय उत्पादन लागत बढेका कारणले नाफा घटेको कम्पनीले उल्लेख गेको छ। सन् २०२२ मा कम्पनीको आम्दानी भने ०.९ प्रतिशतले बढेको छ। सन् २०२१ मा भने आम्दानी नै २८ प्रतिशतले घटेको थियो। 

सन् २०१९ मा अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्धसँगै हुवावेले गुगलको एन्ड्रोइड प्रणालीमाथिको पहुँच गुमाएको थियो। योसँगै स्मार्टफोनको ब्यापार स्वाट्टै घटेको थियो। यद्यपि पछिल्लो समय हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याएको छ। तर यो सिस्टम चीन बाहिर खासै प्रभावकारी हुन सकेको छैन। 

स्मार्टफोनको व्यापार लयमा नआएको सँगै पछिल्लो समय दूरसञ्चार उपकरणको व्यापारमा पनि हुवावेले धक्का खाएको छ। फाइभजीमा हुवावेको प्रविधि प्रयोग नगर्न अमेरिकाले पैरवी गरिरहेको छ। यो पैरवीसँगै सयुक्त अधिराज्य बेलायतले हटाउने निर्णय गरिसकेको छ भने जर्मनीले पनि सीमित प्रतिबन्ध लगाउने बारे छलफल गरिरहेको छ। योसँगै उपकरण ब्यापार पनि सुधार हुन सकेको छैन। 

यद्यपि कम्पनीले पछिल्लो समय इन्टरप्राइज सेवा अन्तर्गत क्लाउड कम्प्युटिङमा व्यापार बढाइरहेको छ। योसँगै विद्युतीय सवारीको उत्पादनमा पनि हात हाल्ने तयारी गरेको छ। 

सन् २०१९ देखि हुवावेलाई इन्टिटी लिस्टमा राख्दै अमेरिकाले प्रतिबन्ध लगाएको थियो। गोप्य सूचनामा पहुँच राखी चिनियाँ सरकारलाई आपूर्ति गरेको, सार्वजनिक तथा व्यावसायिक सूचनामा सरकारी नियन्त्रण हुने गरेको र बौद्धिक सम्पत्ति चोरी गरेको लगायतका विभिन्न आरोप लगाउँदै अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको थियो। 

अमेरिकाले कालोसूचीमा राखेका कम्पनीसँग व्यापार गरेको र उनीहरूलाई प्रविधि हस्तान्तरण गरेको आरोप लगाउँदै हुवावेलाई अमेरिकी प्रविधिक उपयोगमा प्रतिबन्ध लगाइएको थियो। अमेरिकाको सो कदमपछि हुवावेको स्मार्टफोन व्यापार ओरालो लागेको थियो। 

यही प्रतिबन्धपछि हुवावेले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्नबाट बन्चित भएको थियो। स्मार्टफोनसँगै कुनै पनि प्रविधिमा हुवावेलाई प्रविधि नदिन अमेरिकाले आफ्ना कम्पनीहरुलाई निर्देशन दिएको थियो। 

यसका बाबजुद पनि हुवावेले केही प्रविधि भने अमेरिकी कम्पनीहरूले दिइरहेका थिए। अबदेखि यस्तो बाटो पनि बन्द गरिदिने भएको छ। फाइनान्सियल टाइम्समा प्रकाशित समाचार अनुसार अमेरिकी वाणिज्य विभागले केही अमेरिकन कम्पनीहरूलाई पत्राचार गर्दै कुनै पनि प्रविधि हुवावेलाई बिक्री गर्न नपाइने जानकारी गराएको छ। 

हुवावेमाथिको प्रतिबन्ध कडा हुँदै जाँदा व्यापार घटेको तथा लागत बढ्दा नाफामा उच्च गिरावट भइरहेको छ। प्रतिबन्धका कारणले हुवावेले व्यापार लिनका लागि न्यून मूल्य कबोल गर्ने गरेको छ। यसका कारणले पनि नाफा घट्दै गएको विश्लेषण भइरहेको छ। 


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend