शनिबार, साउन १२ गते २०८१    
images
images
images

मेची राजमार्ग : रोकिएन जमिन भासिने र पहिरो खस्ने समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १६ २०७९
images
images
मेची राजमार्ग : रोकिएन जमिन भासिने र पहिरो खस्ने समस्या

दुईसय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा समस्या हुने गरेको छ।

images

पाँचथर- जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ। दुईसय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा समस्या हुने गरेको छ।

images
images

सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेले इलामको माईखोला क्षेत्र तथा पाँचथरको पांग्रेभीर र भारपा घ्यापेमा जमिन नअडिने समस्या राजमार्गका लागि चुनौतीपूर्ण बनेको बताए। उनले जमिन भासिने र पहिरो झर्ने स्थानमा सधैँ धुलो र हिलोको समस्याले सताउने गरेको जानकारी दिए।

images

जमिन निरन्तर भासिने ठूलो क्षेत्र रहेको इलामको माईखोलामाथिका तीन स्थानमा सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष २०७१/०७२ मा ‘रक एन्करिङ’ प्रविधिबाट सडक अड्याउने प्रयास गरेको थियो। ६ करोडको लागतमा उक्त प्रविधिबाट सडक अड्याउने प्रयास गरिए पनि सो उपायले एक वर्षसम्म समेत काम नगरेको स्थानीयवासीको भनाइ छ।

भिरालो बाटो निरन्तर भासिने हुनाले यहाँको यात्रा चुनौतीपूर्ण हुने गरेको छ। इलाममा माइखोला-भञ्ज्याङको ६ किलोमिटर सडक निरन्तर भासिने गरेको छ। यस स्थानमा १० वर्षमा करिब तीन मिटर सडक भासिएको पाइएको छ। यो स्थान जोखिमपूर्ण देखिएपछि खुदुनाबारी-दानाबारी-राकसे-बेलासे-भञ्ज्याङ सडक वैकल्पिक मार्गका रुपमा उपयोग गर्न सकिने बनेको छ। धेरैले उक्त सडकको स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन् । 

images

पाँचथरको हिलिहाङ गाउँपालिका-७ भारपाको घ्यापेमा माइखोलामा जस्तै मेची राजमार्गको सडक भासिने समस्या छ। स्थानीयवासी राजेन्द्रप्रसाद काफ्लेका अनुसार यहाँ राजमार्ग विस्तार हुनुअघि नै जमिन भित्रबाटै सर्ने गर्थ्याे। सर्ने जमिनमै बाटो बनेपछि सडक नअडिएको काफ्लेको भनाइ छ। 'सडक भन्दामुनि जमिनमा ठूलो भौडी छ। बर्सेनि माथिबाट जमिन सर्दै जाँदा सडक भासिन्छ', उनले भने, 'घ्यापे दीर्घकालीन समस्या बनेको छ।'

यस स्थानमा २०४२ सालमा सडक विस्तार भई २०४३ सालबाट सवारी साधन चल्न थालेका थिए। सडक अड्याउन सडकको माथिल्लो भागमा पाइप लगाइ पानी नालीमा झारेर सडक अड्याउने प्रयास गरिए पनि सफल हुनसकेको छैन। उक्त स्थानको विकल्पका लागि गोलेडाँडा घुम्तीबाट सल्लरी जोड्ने वैकल्पिक बाटो निर्माण भएको छ। 

यस्तै वैकल्पिक सडककै लागि मझौले घुम्ती-चिवाडाँडा हुँदै मानेडाँडा जोड्ने बाटोको ट्र्याक पनि बनेको काफ्लेको भनाइ छ। 'यी दुवै सडक मर्मत सम्हार गरे चलाउन सकिन्छ', उनले भने।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पांग्रेभीर क्षेत्रमा सडक मर्मत गरिरहेका निर्माण व्यवसायीले सडक भित्तामा रहेको चट्टान कटान गराएपछि पहिरो झर्न थाल्यो। व्यावसायीले आफूखुसी ढुङ्गा उत्खनन गर्दा झरेको पहिरोका कारण चार वर्षअघि एक साता राजमार्ग नै अवरुद्ध बनेको थियो।

एक साताको प्रयासमा पहिरो पन्छाएर सडक सुचारु त भयो, तर दीर्घकालीन समस्या निम्तियो। पांग्रेभीरमा सडकमाथिको ठूलो भाग लच्किएर झरेको छ। तर लच्किएको सबै जमिन पहिरो बनेर बगेको छैन। वर्षा हुनासाथ ढुंगामाटो सडकमा झर्ने गर्दछ। सडक डिभिजन कार्यालय इलामले कङ्क्रिट पर्खाल लगाएर पहिरो रोक्न खोजे पनि ठूलो भाग लच्किएकाले पहिरो सडकमा झर्ने गरेको छ। पांग्रेभीरको पहिरो दीर्घकालीन समस्या बन्ने देखिएपछि सो समय फाल्गुनन्द गाउँपालिका र प्रदेश सरकारको लगानीमा गुम्बाडाँडा-निबुखोला-राँकेबजार वैकल्पिक सडक निर्माण थालिएको थियो। 

उक्त सडकको ट्र्याक खोल्ने काम सकिएपछि स्तरोन्नतिमा कुनै निकायले ध्यान दिएनन्। जसकारण यो सडकमा सवारी सञ्चालन हुन सक्दैनन्। पहिरो झरेर पांग्रेभीर अवरुद्ध बने राजमार्ग नै ठप्प हुने अवस्था रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पोखरेलको भनाइ छ। 'यी समस्याबारे सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ', उनले भने।

मेची राजमार्ग विसं २०२९ मा खाद्यान्न अनुदानमा निर्माण सुरु भएको थियो। २०३३ सालबाट भने सरकारी बजेटमै सडक निर्माण हुन थाल्यो। ताप्लेजुङ, पाँचथर र इलामको ‘लाइफलाइन’का रुपमा रहेको सडक अहिले निकै व्यस्त हुने गरेको छ। 

यहाँ यात्रुबाहाक सवारीका साधनको चाप दैनिक रुपमा बढिरहेको छ। यातायातको सुगमतापछि ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम दर्शन गर्न दैनिक हजारौँ तीर्थयात्रीले यो सडक प्रयोग गर्ने गर्छन्। यस्तै खाद्यान्न, मालसामान लगायत सामग्रीको ढुवानी तथा स्थानीय कृषि उपजको निकासीमा समेत यो राजमार्ग महत्वपूर्ण रहेको छ। 

तर जमिन नअडिने समस्याले राजमार्गमा प्रायः हैरानी ब्यहोर्नुपर्ने अवस्था रहेको छ। झापाको चारआलीदेखि ताप्लेजुङको फुङलिङसम्म सडकका रहेका सयौँं खाल्डाखुल्डी र अवरोधले यात्रुलाई समस्या हुने गरेको छ। राजमार्गमा निरन्तर बाधा उत्पन्न हुने भएपछि विकल्पका रुपमा निर्माणाधीन तमोर कोरिडोर सडको प्रयोग हुन थालेको छ। यद्यपि यस कोरिडोरले मेची राजमार्गजस्तै ठूलो जनघनत्वलाई समेट्न सक्ने अवस्था नहुनाले मेची राजमार्ग विकल्पविहीन सडक बनेको छ। रासस 


प्रकाशित : बिहीबार , चैत १६ २०७९१०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend