बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल लाइफको सेयर मूल्य लगातार घट्दा दोस्रो बजारमा न्यून मूल्यमा, कतिसम्म आउला?

बिहीबार , चैत १६ २०७९
नेपाल लाइफको सेयर मूल्य लगातार घट्दा दोस्रो बजारमा न्यून मूल्यमा, कतिसम्म आउला?

काठमाडौ- बीमा शुल्कसमेत घट्दै गएपछि दोस्रो बजारमा नेपाल लाइफ इन्स्योरेन्स सेयर मूल्य बढ्न सकेको छैन। कम्पनीको सेयर बुधबार प्रतिकित्ता ६५० रुपैयाँमा कारोबार भएको छ। जसमा २९ हजार कित्ता कारोबार भएको छ। 

पछिल्लो समय जीवन बीमा कम्पनीहरूको व्यवसाय घटिरहेको छ। फागुन महिनामा पनि जीवन बीमा कम्पनीहरूको व्यावसाय ११.७३ प्रतिशतले घटेको छ। बीमाकर्ताहरूले पछिल्लो समय बीमा शुल्क तिर्न छाडेपछि बीमा शुल्क लगातार घटिरहेको छ। 
 
पछिल्लो समय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरूको ब्यापार माघ महिनाको तुलनामा ११.७३ प्रशितले घटेको हो। यसको असर सबै बीमा कम्पनीमा परेको छ। सोही कारण नेपाल लाइफको सेयर मूल्यमा पनि लगातार धक्का लागिरहेको छ। कम्पनीको सेयर मूल्य अझै तल आउने देखिएको छ। 

सबै भन्दा ठुलो कारोबार गर्ने नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७३ करोडको बीमा संकलन गरेको छ। कम्पनीको पनि माघ महिनाको तुलनामा ९ प्रतिशतले घटेको छ। कम्पनीले माघ महिनामा ३ अर्ब रुपैयाँ बीमा संकलन गरेको थियो। 

कम्पनीले कुल १५.७८ प्रतिशत नगद लाभांश साधारणसभाले पारित गरेर लगानीकर्ताको खातामा गइसकेको छ।कम्पनीले इतिहासमा लगानीकर्तालाई १२६ प्रतिशतसम्म लाभांश दिएको थियो। १० वर्ष अगाडि नै कम्पनीले ७० प्रतिशत बोनस सेयर र ५६ प्रतिशत नगद लाभांश दिएको इतिहास रहेको छ। 

गत वर्षदेखि प्रतिकित्ता मूल्य ३००० सम्म पुगेको सेयर मूल्य लगातार घटिरहेको छ। समग्र नेप्से परिसूचक अघिल्लो वियरिसमा आउँदा १२०० तल हुँदा ९ सयमा अन्तिम कारोबार भएको थियो। त्यसपछि लगातार बढेर ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य लगातार घटेर न्यूनतम ५७७ रुपैयाँमा आइपुगेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा र प्रतिसेयर आम्दानी दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३७.२९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यसैगरी सो अवधिसम्ममा इन्स्योरेन्सले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशत बढी हो।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७ रुपैयाँ १० पैसा बढेर १० रुपैयाँ ७३ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६८.४४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ७२.५९ प्रतिशत घटेको छ। त्यस्तै इन्स्योरेन्सको जीवन बीमा कोष २०.८४ प्रतिशत र महाविपत्ती कोष १५.८२ प्रतिशत बढेको छ।


प्रकाशित : बिहीबार , चैत १६ २०७९०२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend