शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

हुवावेको ‘नियन्त्रणमा’ नेपाल टेलिकमको प्रणाली

एउटा कम्पनीमाथिको निर्भरताले सरकारी ट‍ेलिकमको व्यावसायिक क्षयीकरण

images
images
images
हुवावेको ‘नियन्त्रणमा’ नेपाल टेलिकमको प्रणाली

नेपाल टेलिकमको सेवा सञ्चालमात्र होइन संवेदनशील प्राविधिक प्रणालीमै एउटा कम्पनीको एकलौटी हुँदा त्यसको असर दैनिक सेवामा देखिने गरेको छ।

images
images

काठमाडौं- सरकारी स्वामित्वको नेपाल टेलिकमको प्रविधिमा चिनियाँ प्रविधि जायन्ट हुवावेले एकाधिकार कायम गरिराखेको छ।  

images
images
images

विभिन्न समयमा भएका खरिद प्रक्रियाबाटै हुवावेले एकाधिकार कायम गरेको हो। सरकारको बहुमत स्वामित्व भएको टेलिकमका अधिकांश संवेदनशील भागमा हुवावेकै प्रविधि रहेको छ।  

images

टेलिकम कम्पनीमा मुख्यगरि दुई भाग हुन्छन्। लाइन एक्सिन नेटवर्क (जसमा कोर प्रणालीसँगै पावर, प्रासरण हुन्छन्)   रेडियो एक्सिस नेटवर्क हुन्छन्। कोर प्रणाली भनेको हरेक गतिविधिको व्यवस्थापन र भण्डारणको काम हुन्छ भने नेटवर्कबाट फ्रिक्वेन्सी प्रसार हुन्छ।  

images

यी दुईवटै प्रणालीमा हुवावेकै प्रविधिको वर्चश्व रहेको छ। नेपाल टेलिकमको फोरजीको कोर नेटवर्क प्रणालीबाहेक हुवावेकै प्रविधि रहेको छ। फोरजीको कोरमा भने चिनियाँ कम्पनी जेटटीईको रहेको छ।  

images
images

एउटा कम्पनीको प्रविधिको बर्चस्वले गर्दा एकातिर कम्पनीको व्यापारिक रणनीति पूर्णतया असफल भएको देखिन्छ भने अर्कोतिर चरम जोखिमपूर्ण हुने व्यवसायीहरू बताउँछन्। जबकि निजी कम्पनीहरूले भने प्रविधिमा मिक्स गरेका छन्। एनसेलले जेटटीई र हुवावेको प्रविधि प्रयोग गरेको छ। तर नेपाल टेलिकम भने खरिद प्रणालीका नाममा प्रविधिगत संवेदनशीलताको ख्यालै नगरि एउटै कम्पनीमाथि निर्भर भएको छ।  

यसले धेरै जोखिम निम्त्याउने सम्भावना हुन्छ। व्यापारिक, प्रविधिक र समग्र सञ्चारमै जोखिम उत्पन्न गराउनसक्छ। ‘यो व्यापारको कुरा पनि हो रणनीतिको कुरा पनि तर यसरी एउटा कम्पनीको एकाधिकार पक्कै पनि राम्रो कुरा होइन’ नेपाल टेलिकमकै एक अधिकारीले भने।  

नेपाल टेलिकमको प्रणालीमा मुख्य र संवेदनशील प्रणालीमा एउटा कम्पनीको एकलौटी हुनु भनेको सामान्य व्यापारिक कमनसेन्स पनि नदेखिने भन्दै विनियमावली संशोधनको तयारी भएको थियो। एउटै कम्पनीमाथिको निर्भरता हटाउनका लागि भन्दै यसअघि भएको फोरजीको टेन्डरको समयमा विनियमावली संशोधन गरि टेन्डर स्पेसिफिकेसन संशोधनका लागि छलफल भए पनि त्यो अघि बढ्न सकेन। 

टेलिकम कम्पनीभन्दा इन्टरनेट सेवाप्रदायकहरूले समेत प्रविधि मिक्सको मोडलमा गएका छन्। तर नेपाल टेलिकमले भने यस्तो संवेनशील कुरामा खेलाची गरेको छ।  

टुजी र थ्रीजी नेटवर्क जुन अहिले टेलिकमको भ्वाइस कल डेटाको सेवा पनि हुने गरेको छ। यसमा सबै प्रविधि हुवावेको छ। नेटवर्क र कोर प्रणालीमा सबै प्रविधि हुवावेको छ। त्यस्तै यसको मर्मतको जिम्मा पनि हुवावेकै रहेको छ। ‘यति धेरै नियन्त्रण एउटै कम्पनीको हुँदा त टेलिकमको सबै डेटामा एउटै कम्पनीको पहुँच र नियन्त्रण सहजै हुन्छ’ टेलिकमकै एक इन्जिनियरले भने।  

समग्रमा टेलिकमको संवेदनशील प्रविधिमा ९० प्रतिशत हिस्सा हुवावेको छ। 

यतिमात्र होइन फाइभजीका पनि हुवावेले आफ्नै बर्चस्वको आधार यसअघि तयार पारिसकेको छ। यति भएपछि हुवावेमाथि नेपाल टेलिकमको प्रविधि पूर्ण निर्भर हुने छ। बिलिङका लागि हुवावेले निरन्तर लबिङ गर्दै आएको छ।  

हुवावेको प्रविधि अब्बल भएको तथा मूल्यमा प्रतिस्पर्धी भए पनि एउटा व्यापारिक तथा सञ्चार कम्पनीका लागि  मिश्रित मोडल हुनुपर्ने धेरैको राय छ। 

एउटा कम्पनीको प्रविधिमा निर्भर हुँदा पहिलो कुरा त कुनै पनि समय केही भएमा सेवा पूरै प्रभावित हुनसक्छ। यसले गर्दा सञ्चार जस्तो सेवामा भविष्यमा कुनै पनि समय हुनसक्ने जोखिम नियन्त्रणका बारेमा टेलिकमले सोचेको देखिँदैन। 

अर्को कारण हो व्यावसायिक हानी। सबै प्रणाली हुवावेकै भएमा कुनै पनि सेवा तथा सामान राख्नुपर्दा त्यही कम्पनी वा उसले तोकेकै मूल्य तिर्नुको विकल्प हुँदैन। यदि यस्तोमा मिक्स प्रविधि हुँदा एउटाले बढी मूल्य भन्नेवित्तिकै अर्को विकल्पमा जान सकिन्छ। अथवा यस्तो अवस्था भएमा मूल्य पनि प्रतिस्पर्धी हुनसक्छ। यही अवधारणा एनसेलले अपनाएको छ। 

एनसेलले प्रविधि धेरै हुवावेको उपयोग गरे पनि उसले मिक्स गरेको छ। हुवावेसँगै जेटटीईको पनि प्रविधि उपयोग गरेको छ। यसले गर्दा जतिबेला पनि विस्तार गर्दा वा मर्मत गर्दा प्रतिस्पर्धी लागत हुन्छ। 

तर नेपाल टेलिकमले यो अवसर गुमाएको छ। टेलिकममा एउटैमात्र कम्पनीको प्रविधि हुँदा हुवावेले जे भन्छ त्यही मान्नुपर्ने अवस्था आएको छ। यतिमात्र होइन टेलिकमले बलियो सम्झौता नगर्दा वा हुवावेकै ‘अनैतिक व्यापार’ रणनीतिका कारणले टेलिकम आफै पनि पीडित हुने गरेको छ। 

अवस्था कतिसम्म आयो भने नेपाल टेलिकमको फोरजीको कोर प्रणाली जेटटीईले पायो। फोरजीको कोर प्रणालीमा डेटा माइग्रेसन गर्नुपर्ने थियो। त्यो समयमा टेलिकमसँग त्यो डेटा माइग्रेसनको कुनै पनि सीप र संस्थागत क्षमता थिएन र हुवावेलाई आग्रह गर्‍यो। तर हुवावेले त्यसका लागि पैसा लाग्ने बतायो। ‘यो कुरा बिलकुल अनैतिक थियो। हुवावे एउटा प्रविधि प्रदायकका नाताले टेलिकमलाई यो काम नि:शुल्क गर्दिनुपर्ने थियो। तर उसले त्यसमा पैसा लिन खोज्यो’ फोरजी प्रणाली स्थापना गर्ने समयमा नेपाल टेलिकमको उच्च व्यवस्थापनमा रहेका एक अधिकारीले बिजनेस न्युजसँग भने। 

यदि प्रविधि मिक्स हुन्थ्यो भने टेलिकमलाई त्यतिबेला त्यस्तो समस्या पर्ने थिएन। हुवावेसँग बार्गेनिङ हुँदा त्यो काम अन्तिममा गएर टेलिकमले आफ्नै इन्जिनियरबाट गराएको थियो। हुवावेमै काम गरेका तर टेलिकममा जागिरे हुन आइपुगेका प्राविधिकले त्यो काम गरेका थिए। 

यो त एउटा सामान्य उदाहरण हो। कोर र रेडियो नेटवर्कमा एकाधिकार एउटैसँग भएपछि समय समयमा त्यस्ता प्रणालीमा सफ्टवेयरदेखि हार्डवेयरसम्म फेर्नुपर्ने हुन्छ। अपग्रेड तथा विस्तारका नाममा कयौँको खरिद गर्नुपर्छ। यस्तो खरिद स्थापित प्रणालीसँगै अप्टमाइजेसन हुन्छ र मूल्यमा उसकै एकाधिकार हुन्छ। 

‘एक हिसाबले भन्ने हो भने हुवावेको बन्धनमा नेपाल टेलिकम बाँधिएको छ’ टेलिकमकै एक अधिकारी भन्छन्। 

मन्त्री सचिवमात्र होइन प्रधानमन्त्रीसम्म पहुँच राख्ने हुवावे तथा उच्च व्यवस्थापनले क्षणिक लाभका लागि हुवावेसँग थप बार्गेनिङ पनि गर्दैनन् यही कारणले गर्दा समान्य क्षति हुँदा पनि सेवा प्रभावित हुनसक्छ। 

एकाधिकार हुँदा अर्को नोक्सानी हो गोपनीयताको। नेपाल टेलिकमको आन्तरिक सञ्चालनका बारेमा दुई पक्षलाई पूर्ण जानकारी हुन्छ एउटा व्यवस्थापन र अर्को प्राविधिक भेन्डरलाई। यदि फरकफरक भेन्डर भएको अवस्थामा फरक हुन्छ तर यहाँ मर्मतको समेत जिम्मा उहि कम्पनीलाई भएपछि बीचमा कुनै समस्या भएमा त्यसको जानकारी व्यवस्थापनलाई नहुन सक्छ। 

जस्तो कोरमा आएको खराबीका करणले गर्दा नेटवर्क प्रभावित भएको अवस्थामा टेलिकमले थाहा नै नपाउने भयो। किनभने कोर र नेटवर्क दुबैमा हुवावेको नियन्त्रण भएपछि उसले आफ्नो कमजोरी देखाउन खोज्दैन। यस्ता कयौँ प्राविधिक कमजोरीको हिसाब त कतै पनि आउँदैन। 

अर्को कुरा टेलिकम प्रयोगकर्ताको डेटामा हुवावेले पहुँच राख्नसक्छ। त्यसको दुरुपयोगको अनुगमन नहुने भएकाले गर्दा टेलिकम व्यवस्थापन चाहँदा पनि यस्ता कुरा जानकारी पाउँदैन। 

‘कोर प्रणाली, नेटवर्क र मर्मतको जिम्मा एकै ठाउँमा हुँदा डेटामा पहुँच नराख्ने भन्ने हुँदैन’ टेलिकमका एक इन्जिनियर भन्छन्,’खाली त्यस्तो दुरुपयोग भयो वा भएन भन्ने कुरा मात्र हो। चाहेमा उसले सहजै सक्छ।’ 

फोरजीको नेटवर्क लिएर बिलिङमा समेत हुवावेले आँखा लगाएपछि कुनै पनि कम्पनीको प्राविधिक नियन्त्रण हुन नहुने नियामकीय व्यवस्था हुनुपर्ने माग उठेको थियो। टेलिकम आफैले दूरसञ्चार प्राधिकरणमा पत्र लेखेर यसका बारेमा चासो राखेको थियो। तर यो प्रक्रिया अघि बढ्न सकेन। 

हुवावेले ट‍ेलिकममाथिको नियन्त्रण खुला प्रतिस्पर्धाबाटै कायम गरेको हो। तर हुवावे आफैले यो काम देखिएर भने गर्दैन। पछिल्लो समय हुवावे आफै कुनै पनि टेन्डरमा प्रत्यक्ष सहभागी छैन। ऊ तेस्रो पक्षको कम्पनीमार्फत् टेन्डरमा सहभागी हुँदै आएको छ। 

नेपाल टेलिकमको सेवा सञ्चालनमात्र होइन संवेदनशील प्राविधिक प्रणालीमै एउटा कम्पनीको एकलौटी हुँदा त्यसको असर दैनिक सेवामा देखिने गरेको छ।

दूरसञ्चार कम्पनीहरूको नेटवर्कको गुणवत्ता मापन तथा अडिटका लागिसमेत निर्देशन दिँदै आएको नियामक दूरसञ्चार प्राधिकरणले प्रणालीका लागि भने कुनै नियमन ल्याएको छैन। 

सञ्चारलाई संवेदनशील भनिए पनि त्यसको सुरक्षाका बारेमा ऐनमा कुनै पनि कुरा उल्लेख नभएकाले नियमन तथा निर्देशन नभएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए। 

‘सञ्चार प्रणालीमा आउनसक्ने जोखिम धेरै हुन्छन्। हामीले व्यापारभन्दा पनि सम्भावित जोखिम न्यूनीकरणका लागि हुनुपर्ने न्यूनतम पूर्वाधारको ग्यारेन्टी त खोज्छौँ तर सिधै प्रणालीगत सन्तुलनका बारेमा भने अहिलेसम्म बोलिएको छैन’ उनले भने। 

नेटवर्कको सुरक्षा, उपभोक्ताको डेटा, गोपनीयता जस्ता सुरक्षामा कानूनमै स्पष्ट व्यवस्था हुनुपर्ने उनको भनाइ छ। अहिलेसम्म नेपालले सुरक्षा थ्रेट सञ्चारमा नदेखेको भए पनि अब भने यसमा गम्भीर हुनुपर्ने समय आएको उनले बताए। तर प्राधिकरणले अहिलेको कानूनी दायरामा बसेर हुनसक्नेसम्मका सुरक्षाका लागि निर्देशन दिइरहेको खनालको भनाइ छ। 

images

प्रकाशित : बिहीबार , चैत १६ २०७९०८:००

प्रतिक्रिया दिनुहोस