बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

भारतीय तरकारीमा निर्भर नेपाली भान्सा : घट्दो उत्पादन, बढ्दो आयात

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
images
images
भारतीय तरकारीमा निर्भर नेपाली भान्सा : घट्दो उत्पादन, बढ्दो आयात

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा करिब एक वर्षको अवधिमा भित्रिएको तरकारी तथा फलफूलको हिस्सा हेर्ने हो भने हामी पूर्णरुपमा भारतीय बजारमा निर्भर हुँदै गरेको प्रष्ट हुन्छ।

images
images

काठमाडौं- कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो। मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्थ्यो। भान्सामा केही सीमित वस्तुबाहेक कृषिजन्य उत्पादनको आयात आवश्यक थिएन। 

images
images
images

तर पछिल्लो समय कृषि प्रधान देश नेपालमा कृषिजन्य उत्पादन घट्दो र आयात बढ्दो अवस्थामा गएको देखिन्छ। फलस्वरुप हाम्रो भान्सामा भारतीय तरकारीले हिस्सा बढाउँदै लगेको तथ्यांकले देखाउँछ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा करिब एक वर्षको अवधिमा भित्रिएको तरकारी तथा फलफूलको हिस्सा हेर्ने हो भने हामी पूर्णरुपमा भारतीय बजारमा निर्भर हुँदै गरेको प्रष्ट हुन्छ। हामीले दैनिक खाने तरकारी तथा फूलफूलमा भारतीय बजारको तरकारी र फलफूल अनिवार्य जस्तै भएको छ।

images

उदाहरणका लागि गत वैशाख १ गतेदेखि चैत १३ गतेसम्म कालीमाटी बजारमा भित्रिएको कुल प्याजमध्ये ९९ प्रतिशत भारतीय बजारबाट आयात भएको छ। साथै कुल भित्रिएको ५२ लाख ४८ हजार ३२ केजी ठूलो टमाटरमध्ये ४९ लाख ३९ हजार १८२ केजी अर्थात् ९४ दशमलव ११ प्रतिशत भारतबाट आयात भएको छ। 

images

यस अवधिमा कालीमाटी फलफूल तथा तरकारी बजारमा भारतीय बजारबाट रातो आलु ६० प्रतिशत र सेतो आलु ५७, हरियो केराउ ४५ प्रतिशत, लौका ३९ प्रतिशत,  फर्सी ६६ प्रतिशत र सजिवन ७७ प्रतिशत भित्रिएको छ। साथै इमली ९९ प्रतिशत, स्याउ ८१ प्रतिशत, अनार ९८ प्रतिशत, मेवा ८१ प्रतिशत, अङ्गुर ८१ प्रतिशत भारतबाट मात्रै आयात भएको देखिन्छ। 

हालै प्रकाशित राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कृषिमा आश्रित जनसङ्ख्या ५० दशमलव एक प्रतिशत छ। आधाभन्दा बढी जनसङ्ख्या कृषि क्षेत्रमा आश्रित रहँदा आयात बढ्दो क्रममा हुनु अर्थतन्त्रका लागि सुखद् नभएको जानकार बताउँछन्। कालीमाटी फलफूल तथा तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यहाँ भारतीय तरकारीको माग अत्यधिक छ।

समितिको तथ्यांक अनुसार पछिल्लो करिब एक वर्षमा कालीमाटी बजारमा भित्रिएको कुल तरकारी र फलफूलमध्ये ३८ दशमलव ६८ प्रतिशत भारतबाट आयात भएको छ। ‘भारतबाट ठूलो परिमाणमा तरकारी आयात हुन्छ, २० देखि २५ टन तरकारी खुद्रा बजारले किन्न सक्दैनन्’, उनले भने, ‘कालीमाटी तरकारी बजारले ठूलो परिमाणमा भारतीय तरकारीको खरिद गर्ने भएकाले हिस्सा धेरै देखिएको हो।’

समितिका अनुसार गत वैशाख १ गतेदेखि चैत १३ सम्म कालीमाटी तरकारी बजारमा २६ करोड ३५ लाख २२ हजार ३५ केजी विभिन्न तरकारी आयात भएकोमा भारतबाट मात्रै १० करोड १९ लाख ४१ हजार पाँच सय ७७ केजी तरकारी आयात भएको समितिका योजना अधिकृत रमेश डंगोलले जानकारी दिए। सो अवधिमा चीनबाट एक लाख १२ हजार तीन सय, बंगलादेशबाट एक लाख ४७ हजार, भुटानबाट एक लाख १२ हजार तीन सय र अन्य मुलुकबाट पाँच हजार नौ सय २७ केजी तरकारी आयात भएको छ।

‘कतिपय तरकारी नेपालमा पर्याप्त हुँदैनन, कृषिलाई व्यावसायिकरण गर्न नसकिएको पनि कारण हुनसक्छ’, उनले भने, ‘त्यसैले भारतलगायतका देशबाट तरकारी आयात गर्नु परेको हो।’ उनका अनुसार केही वर्षअघिसम्म मात्रै ७० देखि ८० प्रतिशत तरकारी नेपालमा उत्पादन भएका हुने गरेकोमा पछिल्लो समय भारतबाट तरकारी आयात बढ्न थालेको छ। 

‘जुम्लामा उत्पादन हुने स्याउ विभिन्न समस्याका कारण यहाँसम्म आइपुग्दैन, यस्तोमा आयातित स्याउ खरिद गर्नुपर्ने हुन्छ’, उनले भने, ‘पछिल्लो समय आयातित तरकारी र फलफूल बढ्दो अवस्थामा छ।’

काठमाडौं आसपासका जिल्लाबाट कालीमाटी तरकारी बजारमा बढी मात्रामा तरकारी बिक्री हुन्छ। जसमा सबैभन्दा धेरै धादिङबाट यस अवधिमा सबैभन्दा धेरै तीन ६१ हजार ७९ केजी तरकारी तथा फलफूल भित्रिएको छ। 

धादिङ लगायत काभे्रपलाञ्चोक, मकवानपुर, चितवन, सर्लाही, काठमाडौं, दोलखा, ललितपुर, नुवाकोट  भक्तपुर, गोरखालगायतका जिल्लाबाट पनि कालीमाटीमा तरकारी भित्रिने गरेको छ। समितिका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल दुई लाख ७० हजार दुई सय ७८ मेट्रिक टन तरकारी तथा फलफूल आयात भएको थियो। रासस 


प्रकाशित : बुधबार, चैत १५ २०७९०७:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend