मंगलबार, फागुन २२ गते २०८०    

आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले २५ लाखबाट बढेर सवा करोड क्षतिपूर्ति पाउने विधेयक पूर्वस्वीकृतिमा किन ढिलाइ?

images
images
आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले   २५ लाखबाट बढेर सवा करोड क्षतिपूर्ति पाउने विधेयक पूर्वस्वीकृतिमा किन ढिलाइ?

मस्यौदामा वायु सेवा सञ्चालन संस्थाले वायुयानद्वारा यात्रा गर्ने प्रत्येक व्यक्तिको लागि टिकट जारी गर्नुपर्ने उल्लेख छ।

images

काठमाडौं- आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढाउने गरी बनेको विधेयकको मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको टेबलमा लामाे समयदेखि थन्किएको छ। 

images
images

सवा करोड रूपैयाँभन्दा बढी क्षतिपूर्ति पाउने गरी मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदाको पूर्वस्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा लैजानुपर्नेमा महिना दिन बित्दासमेत अघि बढ्न सकेको छैन। 

images

सबै काम सकेर मन्त्रिपरिषद्‌मा पेस गर्ने गरी मन्त्रीलाई फाइल बुझाए पनि मन्त्रीले प्रस्ताव मन्त्रिपरिषद्‌मा नलगेको मन्त्रालयका एक सहसचिवले जानकारी दिए। 'आम हवाई यात्रुको परिवारलाई दु:खद् समयमा आर्थिक रुपमा सहजता हुने गरी तयार पार्न लागिएको कानूनको पहिलो चरणमै ढिला हुनु राम्रो संकत होइन,' उनले भने। 

images

मन्त्रालयले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले एक लाख डलर क्षतिपूर्ति पाउने गरी हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदालाई कानूनी रुप दिने प्रक्रिया सुरु गर्न पूर्वस्वीकृति लिनुपर्ने हुन्छ। सोहीअनुसार मन्त्रालयले काम सुरू गरेको थियो।

images

तर फाइल एक महिनादेखि मन्त्रीकै टेबलमा रोकिएको छ। आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले अहिले क्षतिपूर्तिबापत जम्मा २० हजार डलर मात्रै पाउँछन्। अहिले यति एयरको जहाज दुर्घटनापछि मन्त्रालयले तयार पारेको मस्यौदालाई मन्त्रिपरिषद्‍बाट पूर्वस्वीकृति लिने गरी प्रक्रिया अगाडि बढेको हो।

विधेयकको मस्यौदा तयार भइसकेको छ। मन्त्रिपरिषद्‍ले स्वीकृति दिएपछि मस्यौदालाई अन्तिम रुपमा लैजाने प्रक्रिया सुरू हुन्छ। मन्त्रालयले तयार मस्याैदा राय सुझावका लागि यसअघि नै सार्वजनिक समेत गरिसकेको छ। आन्तरिक हवाई यात्रुलाई चोटपटक लागेमा, अंगभंग वा मृत्यु भएमा पाउने क्षतिपूर्तिको विषय मस्यौदामा उल्लेख छ।

यात्राको क्रममा बोर्डिङ चेक गरेपछि वायुयानभित्र जाने प्रक्रियाहरुमा वा यात्रा अवधिभर वायुयानभित्र रहँदा वा वायुयानबाट उत्रने क्रमका प्रक्रियाहरुमा कुनै दुर्घटना भई चोटपटक लागेमा वा शारीरिक क्षति वा अंगभंग भएमा वा मृत्यु हुन गएमा सम्बन्धित वायुसेवा सञ्चालन संस्थाले क्षतिपूर्तिबापत एक लाख अमेरिकी डलर ब्यहोर्नुपर्ने गरी विधेयकको मस्यौदा बनेको छ। 

मन्त्रालयको हवाई उद्योग महाशाखाले तयार पारेको विधेयकको मस्यौदा सहसचिव लामिछानेले मन्त्रालयमा यसअघिकै सचिव महेश्वर न्यौपानेसमक्ष बुझाएका थिए। अहिले सबै प्रक्रिया पूरा गरेर पूर्वस्वीकृतिका लागि फाइल मन्त्रिपरिषद्‌मा पठाउने तयारी भइरहेको लामिछानेले बताए।

मस्यौदामा वायुसेवा सञ्चालन संस्थाको यात्रु, ब्यागेज, तथा कार्गोसम्बन्धी दायित्व व्यवस्था गरिएको छ। हवाई यात्राको दौरान हुन सक्ने विलम्ब, यात्रा स्थगन, यात्रुलाई लाग्न सक्ने चोटपटक, अंगभंग वा मृत्यु तथा बायुयानबाट ओसारपसार गरिने मालसामानको ओसारपसारको क्रममा हुन सक्ने विलम्ब, मालसामान नष्ट हुने, हराउने वा बिग्रने अवस्था तथा तेस्राे पक्षमा क्षति पुग्न गएको अवस्थामा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा मोन्ट्रियल महासन्धि १९९९, नेपालको संसदबाट अनुमोदन भई कार्यान्वयनमा आइसकेको छ।

विश्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा संलग्न वायुसेवा संस्थाको दायित्वबीचको भिन्नता पनि साँघुरिँदै गइरहेको अवस्थामा सो महासन्धिसँग सामञ्जस्य हुने गरी आन्तरिक हवाई उडानहरूमा पनि क्रमबद्ध रुपमा लागु गर्न वाञ्छनीय भएकाले आन्तरिक वायु सेवाको दायित्व तथा बीमाको सम्बन्धमा उचित व्यवस्था गरी हवाई यात्रुको अधिकार सुनिश्चित हुने वातावरण तयार गर्दै हवाई सेवालाई भरपर्दो, विश्वसनीय, स्तरीय तथा जिम्मेवार बनाउन कानूनी व्यवस्था गर्न लागिएको विधेयकको मस्यौदामा उल्लेख छ।

मस्यौदामा वायु सेवा सञ्चालन संस्थाले वायुयानद्वारा यात्रा गर्ने प्रत्येक व्यक्तिको लागि टिकट जारी गर्नुपर्ने उल्लेख छ। यसैगरी विधेयकको मस्यौदामा हवाई भाडा उल्लेख गर्दा वायुसेवाले लिने रकम, विमानस्थल सेवा शुल्क तथा अन्य सरकारी निकायलाई बुझाउनुपर्ने रकम स्पष्ट उल्लेख गर्नुपर्ने पनि उल्लेख छ।

यसैगरी निर्धारित मिति र समयमा सुरक्षित यात्रा गराउनुपर्ने र उडान रद्द भएको अवस्थामा निर्धारित समयभन्दा कम्तीमा तीन घण्टा अगाडि सो उडानबाट यात्रा गर्न टिकट लिएका यात्रुलाई जानकारी गराउनुपर्ने विषय पनि समावेश गरिएको छ।

मस्यौदामा निर्धारित मिति र समयको उडानबाट यात्रा गराउन नसकेमा अर्को वायुसेवाको उडान उपलब्ध भएमा सो उडानबाट यात्रा गराउने वा यात्रुबाट कुनै थप रकम नलिई यात्रुलाई निजको गन्तव्य स्थानसम्म तत्काल यात्रा गराउन सकिने अन्य कुनै विकल्प भएमा सो अनुरुप यात्रा गराउने विषय पनि समावेश गरिएको छ।

यसैगरी विधेयकको मस्यौदामा यात्राको क्रममा यात्रुले आफैले साथमा लिएर जान पाउने गरी तोकिएका झोलाहरु बाहेक अन्य ब्यागेज यात्रुले विमानस्थलमा यात्राको लागि सम्बन्धित वायुसेवा सञ्चालन संस्थाको काउन्टरमा सम्पर्क गर्दाको अवस्थामा जाँचगरी वायुसेवा सञ्चालन संस्थाले आफ्नो जिम्मामा लिई सोको प्रमाणको लागि ब्यागेज ट्याग यात्रुलाई दिनुपर्ने विषय पनि उल्लेख छ।

गन्तव्य विमानस्थलमा पुगेपछि यात्रुलाई निजको ब्यागेज हस्तान्तरण विषय पनि मस्यौदामा समावेश गरिएको छ। यात्रु तथा सामान वायुयानभित्र रहेको अवस्थामा वा वायुयानभित्र प्रवेश गर्न वा स्थानान्तरण गर्दा वा वायुयानबाट बाहिर निस्कने वा स्थानान्तरण गर्दा वाहकको लापरबाहीको कारणले भएको प्रत्यक्ष हानीनोक्सानीको लागि मात्र वाहक जिम्मेवार हुने विषय समावेश गरिएको छ।

वायुसेवा सञ्चालन संस्थाले जिम्मा लिएको ब्यागेज हराएमा, नष्ट भएमा वा हानी नोक्सानी भएमा सो बापतको रकम त्यस्तो वायुसेवा सञ्चालन संस्थाले सम्बन्धित यात्रुलाई दिनुपर्ने विषय पनि मस्याैदामा उल्लेख छ। तर क्षतिपूर्ति माग गर्ने व्यक्तिको कारणबाट सामानमा नोक्सानी भएको प्रमाणित भएमा वाहकमाथि कुनै किसिमको दाबी नलाग्ने मस्यौदामा उल्लेख छ।

जाँच गरिएका सामानमा कुनै हानीनोक्सानी भएमा प्रति किलोग्राम अधिकतम २० अमेरिकी डलरको दरले कुल अमेरिकी डलर पाँच हजारको सीमा ननाघ्ने गरी सो बराबरको नेपाली रूपैयाँमा मात्र वाहकको दायित्व हुने मस्यौदामा उल्लेख छ।

 विधेयकको मस्यौदामा उल्लेख गरिएका थप केही विषयहरू :

 - यात्रुले वायुयानभित्र आफूसँगै लगेको वा राखेको तर जाँच नगरिएको सामानमा कुनै हानीनोक्सानी भएमा अधिकतम अमेरिकी डलर चारसय बराबर हुने नेपाली रूपैयाँको हदसम्म मात्र  बाहकको दायित्व हुने।

 - वायुसेवा सञ्चालन संस्थाले प्रेषकबाट कार्गो बुझिलिँदा कार्गोको सामान्य प्रकृति, प्रमुख चिन्ह, पोका वा थानको संख्या, तौल वा परिमाण बुझी लिएको कार्गोसँग मेल खाने यस्तै व्यहोराको सम्बन्धमा कैफियत जनाई कार्गो लिने।

 - वायुसेवा सञ्चालन संस्थाले प्रेषकबाट ढुवानी करार बमोजिम कार्गो बुझिलिएपछि प्रापकलाई हस्तान्तरण नगरेसम्म त्यस्तो कार्गो उपरको सम्पूर्ण दायित्व वायुसेवा सञ्चालन संस्थाको हुने।

- कार्गो ढुवानीको सिलसिलामा वायुसेवा सञ्चालन संस्था वा निजको कर्मचारी वा निजको प्रतिनिधिबाट हुन गएको कुनै पनि कार्य प्रति वायुसेवा सञ्चालन संस्था स्वयं जवाफदेही हुने।

- वायुयानको दुर्घटना वा अन्य कुनै कारणबाट तेस्राे पक्षलाई हुन सक्ने हानीनोक्सानीको सम्बन्धमा वायुसेवा सञ्चालन संस्थाको दायित्वको न्यूनतम सीमा देहाय बमोजिम हुने मस्यौदामा उल्लेख छ।

क. १०००० केजी वा सो भन्दा कम तौल भएको वायुयानको हकमा २५ मिलियन अमेरिकी डलर बराबरको रकम।

ख. १०००१ केजी देखि ३५००० केजी सम्म तौल भएको वायुयानको हकमा ३५ मिलियन अमेरिकी डलर बराबरको रकम।

ग. ३५००१ केजी देखि माथि जतिसुकै तौल भएको वायुयानको हकमा ६० मिलियन अमेरिकी डलर बराबरको रकम।


प्रकाशित : मंगलबार, चैत १४ २०७९०६:३०

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ