काठमाडौं- रक्सौलदेखि काठमाडौंसम्म निर्माण हुने रेलमार्गको डीपीआर तयार भएको छ। भारतको कोंकड रेलवे कर्पोरेसनले यो रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेको हो।
२०७६ मा गरिएको प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको लागत ३ खर्ब रुपैयाँ अनुमान गरिएको थियो। तर पछिल्लो डीपीआरअनुसार आयोजनाको लागत करिब २० अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। भारत सरकारले नेपाललाई डीपीआर उपलब्ध भने गराइसकेको छैन। आफ्नो तर्फबाट डीपीआर तयार भएपछि भारतले नेपाली विज्ञहरुसँग निर्माण मोडालिटीबारे अनौपचारिक परामर्श गरिहेको छ।
२०७८ असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको थियो। सोहीअनुसार भारतको कोंकण रेलवे कर्पोरेसनले यसको डीपीआर तयार पारेको हो। उक्त एमओयूअनुसार ६ महिनामा अध्ययन सकेर प्रतिवेदन बुझाउने र त्यसलगत्तै डीपीआर तयार पर्ने तय भएको थियो। केही ढीलो गरि कोंकड डीपीआर तयार पारेको हो।
रक्सौल रेलमार्गको दुरी १ सय ४० किलोमिटर हुने उल्लेख छ। ‘भारतीय पक्षले डीपीआर नेपाललाई उपलब्ध गराइसकेका त छैनन्। तर नेपालका केही विज्ञहरुसँग निर्माणको मोडालिटीबारे कुरा गर्दा मलाई पनि सोधिएको थियो,’ एक पूर्वाधार विज्ञले भने, ‘हामीसँग कुरा गर्दा उनीहरुले डीपीआर बनेको र मोडालिटी टुंगोलगाएर आयोजना बनाउन सकिने अवस्थामा पुगेको बताएका छन्।’ आयोजनाको लागत कोंकडका प्रतिनिधिले बताएअनुसार सवा ३ खर्ब हुने ती विज्ञको भनाइ छ।
२०७६ भदौमा रेलमार्ग पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो । काठमाडौंमा २०७५ भदौमा बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रक्सौल काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन समझदारीमा हस्ताक्षर गरेका थिए।
कोंकणले नेपाल सरकारसँगको समन्वयमा तोकिएभन्दा बढी समय लगाएर अध्ययन प्रतिवेदन तयार पारेको थियो। प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको दूरी १ सय ३६ किमि थियो भने अहिले करिब १ सय ४० किलोमिटर हुने बताइएको छ। रेलमार्गमा करिब ४० किलोमिटर सुरुङ र विशेषखालका हाइराइज पुलसमेत निर्माण गर्नुपर्ने छ। सबैभन्दा लामो ८ किमि सुरुङसहित करिब ३ दर्जन सुरुङ बनाउनु पर्ने डीपीआरमा उल्लेख छ। आयोजनामा विशेष प्रकृतिका २४ हाइराइज पुल, १ सय २४ वटा ठूला प्रकृतिका र करिब १ सय २० वटा सामान्य पुल बन्ने छन्।
रक्सौल काठमाडौं रेलमार्गमा कति वटा स्टेसन बन्ने, काठमाडौंको कुन बिन्दुमा अन्तिम स्टेसन हुनेलगायत विषय भने डीपीआर सार्वजनिक भएपछि तयहुनेछ। तर प्रारम्भिक अध्ययनमा १२ वटा स्टेसन निर्माण गरिने उल्लेख थियो। त्यस्तै रेलमार्गको अन्तिम बिन्दु काठमाडौंको कीर्तिपुर हुने तय भएको थियो। डीपीआरमा यी कुराहरुमा भने केही फेरबदल भएको हुनसक्छ।
रक्सौल काठमाडौं रेलमार्गको अध्ययन भारतीय कम्पनीले गरिरहेको र त्यसको पछिल्लो अपडेट आफूहरुलाई आइनसकेको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए। ‘भारतीय कम्पनीले डीपीआरको काम गरिरहेको हो। तर हालसम्म हामीलाई पछिल्लो अपडेटबारे जानकारी आएको छैन,’ उनले भने।
सोमबार उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अबको एक महिनामा विस्तृत अध्ययन प्राप्त हुने बताएका हुन्। ‘रक्सौल-वीरगञ्ज-काठमाडौं रेलवेको विकासका लागि भारत सरकारको सहयोगमा भएरहेको विस्तृत सर्भे तथा अध्ययन कार्य यस अवधिमा तीब्रताका साथ भइ अबको एक महिनामा अन्तिम प्रतिवेदन प्राप्त हुने अवस्था रहेको छ,’ मन्त्रीको तीन महिने प्रगति विवरणमा उल्लेख छ।
चीनतर्फबाट आउने रेल बनाउन थालेमा भारतले समेत रक्सौल काठमाडौं रेलमार्ग तत्काल बनाउन सक्ने तयारी गरेर बस्न लागेको बुझिएको ती विज्ञले बताए। ‘भारतले बनाउन त यो रेलमार्ग पक्कै बनाउला। तर चीनले उताबाट आउने रेलमार्ग बनाउन थालेमा तत्कालै बनाउन सुरु गर्ने संकेत गरेको छ,’ ती विज्ञले भने।
चीनले पनि रुसुवागढी काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७५ मंसिरमा गरेको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको थियो। रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटरको लामो रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाउने पर्ने पूर्वसम्भाव्यता अध्ययनमा उल्लेख थियो।
प्रारम्भिक अध्ययनअनुसार प्रतिकिलोमिटर सुरुङ बनाउन ३ अर्ब ७० करोड रुपैयाँ लाग्ने उल्लेख छ। यसअनुसार उक्त रेलमार्ग निर्माण गर्न पौने ३ खर्ब लाग्ने अनुमान गरिएको थियो।