काठमाडौं- सेयर कारोबारमा केही यस्ता खेलाडी छन् जो आफूअनुकुल खरिद बिक्री गराउन सामान्य लगानीकर्तालाई जुनसुकै हदमा प्रभावित बनाउन लागिपरेका हुन्छन्। धेरैजस्तो फेसबुक ग्रुपमार्फत हुने त्यस्तो बनिबनाउ तर्कको खेतीमा अहिले सामाजिक सञ्जालका नयाँ माध्यमहरू पनि जोडिएको छ।
सेयर बजारमा लगानीकर्ता बढेसँगै उनीहरूलाई विभिन्न माध्यबाट प्रभावित पार्ने समूह नै सक्रिय हुने गरेका छन्। त्यसमा पछिल्लो समय सबैभन्दा सजिलो माध्यम बनेको छ, टिकटक, क्लब हाउस र ट्वीटर स्पेसजस्ता सामाजिक सञ्जालहरू। जहाँ सिधा आवाजको प्रभावमा विश्वस्त पार्ने झुटा कुरा बिकिरहेको छ।
आफूलाई विश्लेषक भनेर विभिन्न कम्पनीमा लगानी गर्न आग्रह गर्ने र लाभांशदेखि हकप्रदसम्मका लोभ देखाउने काम तीनै सामाजिक सञ्जालमार्फत भइरहेका छन्। अहिले नेपालमा २३ लाखभन्दा बढीले साधारण सेयर (आईपीओ) र ९ लाखभन्दा बढी दोस्रो बजारमा सक्रिय छन्।
पछिल्लो समय टिकटक र क्लव हाउसहरूमा सेयर बजारको चर्चा व्यापक हुने गरेको छ। ठूलै लगानीकर्ताहरू साना लगानीकर्तामा बजारप्रति भ्रम फैलाएर आफू त्यसको फाइदा लिने होड बढेको देखिन्छ। त्यतिमात्र होइन, भर्खरै बजार प्रवेश गरेका लगानीकर्तालाई तत्काल सेयर बेचिहाल्नुस् भन्नेदेखि कम्पनीले यतिको लाभांश घोषणा गर्दै भन्नेसम्मको अड्कलबाजिमा फसाइरहेका हुन्छन्। जसमार्फत उनीहरू बजार कर्नरिङमा लैजान सफल पनि हुँदै आएका छन्। अनुभवि लगानीकर्ताको फण्डामा सोझा लगानीकर्ता फसिरहेका छन्।
यसलाई रोक्नका लागि कुनै पनि स्पष्ट कानून अहिले धितोपत्र बोर्डसँग छैन। न त धितोपत्र बोर्ड यस्तो किसिमबाट हुने सेयर कर्नरिङलाई बोर्डले चासोको साथ हेरेको छ! न कुनै कानून नै बनाउने तयारीमा धितोपत्र बोर्ड रहेको देखिन्छ। सूचना तथा संचार माध्यम आएका प्रभावित सेयर बजारका कुराहरूलाई लिएर बेलाबेला सूचना भने जारी गर्ने गरेको छ।
बोर्डले यस्ता सूचनाहरू बेलाबेला जारी गर्नुु कुनै नौलो कुरा भने होइन। कानूनका आधारमा जारी नोटमा भनिएको छ, ‘नेपाल धितोपत्र, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्षअप्रत्यक्ष प्रभाव पार्न आफैँले वा अरूसँग मिलेर धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन वर्जित गरेको र सो गरेमा धितोपत्र कारोबारसम्बन्धी कसुर गरेको मानिने व्यवस्था छ।’
थप भनिएको छ, ‘धितोपत्र बजारको स्वच्छ, पारदर्शी, प्रभावकारी सञ्चालनबाट लगानीकर्ताको हित संरक्षण हुने हुनाले धितोपत्र बजारलाई प्रभावित पार्ने कार्य हुन नदिन बोर्ड सधैँ सचेत रहेको र त्यस्ता घटनालाई नजिकबाट नियालिरहेकाले हाललाई त्यस्ता कार्यहरू नगर्न-नगराउन सूूचना प्रकाशित गरिएको छ। यस सूूचनाको अवज्ञा गरी अब उप्रान्त बोर्डको अनुमतिबिना यस्ता कार्यलाई निरन्तरता दिएको पाइएमा धितोपत्र बोर्डसम्बन्धी ऐन, २०६३ बमोजिम कारबाही गरिनेछ।’
सामाजिक सञ्जालमा हुने टीका-टिप्पणी कुन हदसम्म व्यक्तिगत हुने, सञ्जालमा समूह नै लाग्दा त्यसको परिभाषा व्यक्तिगतबाट समूहगत हुने नहुने भन्नेजस्ता पारिभाषिक द्विविधाका कारणसमेत नेपाल धितोपत्र बोर्डले सचेत मात्रै गराइरहने र आवश्यक कारबाही गर्नेजस्ता निर्णय आजसम्म गर्न सकेको देखिँदैन।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड हो। बोर्डको काम कुनै पनि अनाधिकृत रूपमा सेयर बजारलाई प्रभावित पार्ने बजारका अन्य विभिन्न गतिविधिलाई नीति, कानून, ऐनले बाँध्ने र आवश्यक परे कारबाही गर्ने हो। बोर्ड सरकारको नीतिभित्र रहेर सञ्चालन हुने एक अभिन्न अंग हो। जसमा पछिल्लो समय ४० लाखभन्दा बढी लगानीकर्ताको हिस्सासँग सरोकार राख्छ भने यसको संख्यामा दैनिक वृद्धि छ।
तर कानूनले दिएको अधिकार प्रयोग गरेर सामाजिक सञ्जालमार्फत हुने गरेका सेयर कारोबारमा प्रभाव पार्ने गैरकानूनी काममा नियामक निकायले ध्यान दिन सकिरहेको छैन।