बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

शून्य समयमा आर्थिक मन्दिदेखि जनगणनासम्मका मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १२ २०७९
images
images
शून्य समयमा आर्थिक मन्दिदेखि जनगणनासम्मका मुद्दा
फाइल तस्बिर

यस्तै राप्रपाकी मीना जैसवालले वीरगञ्जमा सरल र सहजरुपमा सार्वजनिक यातायातका साधनको व्यवस्था गर्न आवश्यक रहेको बताइन्।

images
images

काठमाडौं- प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ।

images
images
images

प्रतिनिधिसभाको आइतबारको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए। एमालेकी विद्या भट्टराईले मुलुकमा आर्थिक मन्दिका कारण नागरिकको दैनिक जीवन अत्यन्त सङ्कटमा परेको तथा प्रमुख सहरमासमेत आर्थिक कारोबार सुस्त रहेको बताइन्। 
 
उनले भनिन्, 'ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि विदेशिएका छन, अध्ययन र भ्रमणका लागि विदेश  जानेको सङ्ख्याले वैदेशिक मुद्रा सञ्चितिमा असहजता उत्पन्न भएको छ, महँगी उच्च छ, आम नागरिकलाई उत्साह प्रदान गर्ने कार्य कहिले हुन्छ?'

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बीना लामाले मिटर ब्याजमै भए पनि ऋण लिएर उच्च शिक्षा र रोजगारीका कारण ठूलो सङ्ख्यामा युवायुवती विदेश जान बाध्य भएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकारको ध्यान जाओस् भनिन्। 

images

जनमत पार्टीकी विनिताकुमारी सिंहले सिराहमा प्रसूति अस्पताल नभएकाले सुत्केरीले बाटोमै मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि ध्यानाकर्षण गराइन्। 

images

नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले दशकौँदेखि झापाका विभिन्न स्थानमा बसोबास गरेका सुकुम्वासी समस्यामा परेकाले उनीहरुका लागि लक्षित गरी  नापी सुरु गर्न, चर्काे रुपमा रहेको कर घटाउन, लालपुर्जा वितरण गर्न तथा अव्यवस्थित बसोबास हटाउन मिति तोकेर काम गर्न सुझाव दिए।

राप्रपाकी मीना जैसवालले वीरगञ्जमा सरल र सहजरुपमा सार्वजनिक यातायातका साधनको व्यवस्था गर्न आवश्यक रहेको बताइन्।

नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एसइई परीक्षा अर्काे विद्यालयमा गएर दिनुपर्ने बाध्यतालाई अन्त्य गरी होम सेन्टरमै परीक्षा दिने व्यवस्था मिलाउन सुझाव दिए। 

एमालेकी शान्ति श्रेष्ठले आफूलाई निर्वाचनमा विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रमा रहेको अव्यवस्थित र कच्ची बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न माग गरिन्।

रास्वपाका शिव नेपालीले जनताले सुशासन र विकासको कहिले अनुभूति गर्न पाउलान भनी प्रश्न गर्दैै सांसदलाई केवल सरकार गठन र ढाल्न मात्र प्रयोग नगरियोस् भने। 

नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवरले अघिल्लो वर्ष भएको जनगणनामा कालापानी र लिम्पियाधुराको जनगणना किन छुटाइयो भनी प्रश्न गरे।

नेपाली कांग्रेसले सन्तोष चालिसले काठमाडौँ क्षेत्र नं ३ स्थित बागमती करिडोर बनाउने सिलसिलामा नेपाल ट्रष्टको जग्गा र वन क्षेत्र परेकाले त्यसलाई प्रयोग गर्न सक्ने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरे। 

रास्वपाका सन्तोष परियारले देशमा आर्थिक सङ्कटका कारण समस्या परेकाले त्यसलाई कसरी सहज र सरल तुल्याउने भन्नेतर्फ सबैको पहल हुन आवश्यक रहेको बताए।

सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा ताला, नियुक्तिमा ढिलाइ, विश्वविद्यालयका कोर्स अघि बढ्न नसकेको अवस्थाले भर्ना र उत्तिर्ण दर कमजोर भएकाले सबैको त्यसतर्फ ध्यान जाओस भनिन्। 

कांग्रेसका सुरेन्द्रराज आचार्यले सीमा क्षेत्रमा भारतले बाँधेको बाँधले  वर्खामा नेपालका कयौं बस्ती र खेतीयोग्य जग्गा डुवानमा पर्ने भएकाले समयमै त्यो समस्या समाधानका लागि अर्थपूर्ण पहलका लागि ध्यानाकर्षण गराए। 

एमालेकी सूर्यकुमारी श्रेष्ठले दैलेखमा अव्यवस्थित बसोबास समस्या अन्त्यका लागि सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न माग गरिन्। 

जनमत पार्टीकी सोनु मुर्मुले कृषि प्रधान देश भएपनि किसानलाई मलखाद अभावले खेतीपाती गर्न नसक्ने परिस्थिति अन्त्यका लागि समयमै त्यसको सुनवाइ गर्न  ध्यानाकर्षण गराइन्।

रास्वपाकी सोविता गौतमले काठमाडौँ क्षेत्र नं  ३ मा  जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी समस्या समाधान गर्न माग गरिन्।

नेपाली कांग्रेसकी सङ्गीता मण्डल धानुकले तराई–मधेसमा  दाइजोलगायतका कुप्रथा अन्त्यका लागि चेतनामुलुक कार्यक्रम र शिक्षामा जोड दिन आवश्यक रहेको बताइन्।

नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले कम लागतमा धेरै सिँचाइ हुने राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई छिटो पूर्णता दिन आवश्यक बजेटको व्यवस्था होस भनी माग गरे।

रास्वपाका हरि ढकालले शून्य समयमा उठाएका विषय शून्यतामै सीमित नगरियोस् भनी सदनको ध्यानाकर्षण गराउँदै सेयर कारोबार गर्नेले हालसम्म रु १४ खर्ब गुमाइसकेकाले उनीहरुलाई सान्त्वना दिने काम कहिले हुन्छ भनी प्रश्न गरे।

नेकपा माओवादी केन्द्री का हितराज पाण्डे पछिल्लो समय क्यासन्सरका कारण धेरै व्यक्ति आक्रन्त भएकाले त्रिभुवन विश्वविद्यालय महाराजगञ्जमा रहेको सुरेश वाग्ले अस्पताललाई विस्तार गरी उपचारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए।

नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङले काठमाडौं उपत्यकाभित्रका नदी किनार, उकास र बहाव क्षेत्रमा निर्माण गरेका संरचना सात दिनभित्र हटाइयोस् भनी सूचना प्रकाशित भएकामा सुकुम्वासी समस्यालाई हलुका तरिकाले नहेरियोस् भनी सदनको ध्यानाकर्षण गराए।

राप्रपाका ज्ञानबहादुर शाहीले विश्वमा मुलुकलाई चिनाउने  खेलकुद  क्षेत्रमा छुट्याएको बजेट र खेलाडीको तलब बढाउन माग गरे। 

माओवादी केन्द्रकी ज्ञानु बस्नेतले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला अधुरै रहेकाले त्यसलाई पूर्णता दिने काममा तदारुकता देखाउन सरकारसँग माग गरिन्।

नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले रामधुनी ऐतिहासिक महत्वअनुरुप संस्कृति र सभ्यताको प्रचारप्रसार आवश्यक रहेको बताए। रासस


प्रकाशित : आइतबार, चैत १२ २०७९११:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend