बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

बक्यौता नतिर्ने करदाताको नाम सार्वजनिक

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १२ २०७९
images
images
बक्यौता नतिर्ने करदाताको नाम सार्वजनिक

आन्तरिक राजस्व कार्यालय जनकपुरधामले आयकरतर्फ २८ करोड र मूल्य अभिवृद्धि करतर्फ ३२ करोड ७४ लाख २८ हजार आठसय १७ गरी कुल ६० करोड ७४ लाख २८ हजार आठसय १७ रूपैयाँ बक्यौता उठाउन बाँकी छ।

images
images

जनकपुरधाम- आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम सार्वजनिक गर्दै तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ। 

images
images
images

आइतबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न मितिमा पत्राचार, फोन सम्पर्क तथा संकलन भ्रमणका माध्यमबाट आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको प्रमुख कर अधिकृत किशोर वर्तौलाले जानकारी दिए। 

‘पहिलो चरणमा मोबाइलमा कर विवरण दाखिलाका लागि सन्देश पठाउने, दोस्रो चरणमा हरेक करदातालाई पत्राचार, फोन सम्पर्क र संकलन भ्रमण पनि गरेका थियौँ, तर पनि बक्यौता रकम दाखिला नगरिएकाले त्यस्ता करदाताका नाममा सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेका हौँ, अब प्रचलित कानूनको व्यवस्थाअनुसार अगाडि बढ्छौँ’, प्रमुख कर अधिकृत बर्तौलाले भने।

images

उनका अनुसार मूल्य अभिवृद्धि करतर्फको बक्यौता दाखिला नगर्ने दुईसय ६८ र आयकर तथा अन्तःशुल्क तथा टिडिएसतर्फ ३६ करदाताका नाममा सूचना जारी गरिएको र १५ दिनभित्र बक्यौता दाखिला गरी सोको प्रमाण आन्तरिक राजस्व कार्यालयमा पेस गर्न भनिएको छ। 

images

‘अहिले बक्यौता रकम दाखिलाका लागि तीनसय चार करदातालाई सार्वजनिकरुपमा आग्रह गरेका छौँ’, बर्तौलाले भने, ‘यसरी पनि सम्पर्कमा नआए अन्तिम विकल्पका रुपमा आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै वा सबै प्रक्रिया, मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ बमोजिमको प्रक्रिया एवं अन्तःशुल्क ऐन, २०५८ को दफा १० ‘ज’ बमोजिमको प्रक्रिया अपनाइ असुलउपर गरिने छ।’ 

आयकर ऐन, २०५८ को दफा १०४ मा कुनै व्यक्तिले कर दाखिला गर्ने मितिसम्म सो कर दाखिला नगरेमा नेपाल सरकारले व्यक्तिको सम्पत्ति माथि दाबी गर्ने, दफा १०५ मा दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्नेदेखि दफा १११ मा कर असुलीका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्नेसम्मको व्यवस्था छ। 

त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा म्यादभित्र कर नबुझाएमा महानिर्देशकको पूर्वस्वीकृति लिइ कर अधिकृतले व्यवस्थाबमोजिमका कुनै वा सबै तरिका अपनाइ कर असुल गर्ने भनिएको छ। अन्तःशुल्क ऐन, २०५८ को दफा १० ‘ज’ मा म्यादभित्र बुझाउनुपर्ने अन्तःशुल्क नबुझाएमा अन्तःशुल्क अधिकृतले विभिन्न सात उपाय अपनाएर असुल गर्नसक्ने कानूनी प्रबन्ध छ। 

कार्यालयले आयकरतर्फ २८ करोड र मूल्य अभिवृद्धि करतर्फ ३२ करोड ७४ लाख २८ हजार आठसय १७ गरी कुल ६० करोड ७४ लाख २८ हजार आठसय १७ रूपैयाँ बक्यौता उठाउन बाँकी छ। ब्याज, थप दस्तुर, विलम्ब शुल्कसमेत गरेर सो बराबर बक्यौता उठाउन बाँकी रहेको हो। 

करदाताले प्रत्येक महिना आफूले बुझाउनुपर्ने कर रकम स्वयं निर्धारण गरी सो महिना समाप्त भएको २५ दिनभित्र विवरण पेस गर्नुपर्ने कानूनी प्रावधान छ। यसो नगर्दा तोकिएको राजस्व लक्ष्य पूरा गर्न पनि समस्या हुने र बक्यौता बढ्दै गई करदातामाथि नै दायित्व थपिने गरेको छ। यस कार्यालयको कार्यक्षेत्रमा सिन्धुली, सर्लाही र महोत्तरीसमेत छन्। रासस 


प्रकाशित : आइतबार, चैत १२ २०७९०९:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend