बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सनकट्टीमा बन्ने भयो पक्की पुल

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १२ २०७९
images
images
सनकट्टीमा बन्ने भयो पक्की पुल

विसं २०७४ मा सुदूरपश्चिम प्रदेश सरकारले पुल निर्माणलाई बहुवर्षीय योजनाका रूपमा अघि सारेको थियो। तर दुई प्रदेशसँगको विषय भएका कारण प्रदेशको त्यो योजनाले काम गर्न नसकेको सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल बताउँछन्।

images
images

भजनी- कैलालीको टीकापुरवासीको एउटा सपना हो- कर्णाली नदीको सनकट्टीमा पक्की पुल। पुल निर्माण भए कर्णाली नदीमा डुंगामा जोखिमपूर्ण यात्रा गर्न नपरोस् भन्ने चाहना छ। यही आशाले अब मूर्तरुप लिने भएपछि स्थानीय खुसी भएका छन्। 

images
images
images

लामो समयदेखि पटक-पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुंगोमा पुग्न सकेको थिएन।

टीकापुर नगरपालिकाका कमल बुढा पुल बन्ने खबरले खुसीको आभास भएको बताउँछन्। उनी त्यहीँ सनकट्टीको बाटो हुँदै दैनिक ओहोरदोहोर गर्छन्। घर टीकापुर भए पनि व्यापारका लागि बर्दियाको गेरुवा गाउँपालिका शान्तिबजारमा गइरहनुपर्छ। आवतजावतका लागि डुंगा आवश्यक पर्छ। 

images

‘हिउँदमा कर्णालीमा पानी कम हुन्छ। डुंगामा सवार गर्दा  खासै डर लाग्दैन’, कमलले भने, ‘बर्खाको उर्लँदो भेलमा किनारमा नपुग्दासम्म मृत्युले झस्काउँछ। पुल बनेपछि सहजरुपमा आवागमन हुने आशा पलाएको छ।’

images

टीकापुरका सुन्दर चौधरी मोटरसाइकलमा व्यापार गर्छन्। उनी  बिहानै चाउमिनलगायत अन्य सामान लिएर बर्दिया पुग्छन्। उहाँको त्यो दैनिकीजस्तै हो। बर्दिया पुग्नका लागि उनी राजापुरको बाटो जानुपरे सत्ती पुल प्रयोग गर्छन्। नभए त्यहीँ सनकट्टीमा सञ्चालन हुँदै आएको डुंगा।

‘दैनिक बर्दिया जाँदा खर्च बढेको छ भने जोखिम पनि उत्तिकै छ’, चौधरी भन्छन्, ‘आफूले चाहेको बेला डुंगा पाइँदैन। साँझ समयमा पुग्नुपर्छ भने बिहान समय मिलाएर पुग्नुपर्छ।’ पुल निर्माणको खबरले टीकापुर र बर्दियाको दुरी छोटो बनाउने विश्वास चौधरीले व्यक्त गरे।

सुदुरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण भएपछि दुई प्रदेश तथा टीकापुर र बर्दियाको व्यावसायिक सम्बन्ध स्थापित हुने अनुमान गरिँदै आएको छ। सनकट्टीमा पुल निर्माणकै लागि कैयौँ पटक बहस र छलफल भएको थियो भने संघीय सरकार समक्ष ‘डेलिगेशन’ पनि पुगेको थियो। 

विसं २०७४ मा सुदूरपश्चिम प्रदेश सरकारले पुल निर्माणलाई बहुवर्षीय योजनाका रूपमा अघि सारेको थियो। तर दुई प्रदेशसँगको विषय भएका कारण प्रदेशको त्यो योजनाले काम गर्न नसकेको सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल बताउँछन्।

‘पुलका लागि निकै मेहनत गर्नुपर्‍यो। कहिले संघीय सरकार त कहिले प्रदेश सरकारसँग समन्वय र सहकार्य भयो’, डा रावलले भने, ‘अन्ततः संघीय सरकारले हाम्रो आवाज सुनेको छ। अब टीकापुर र बर्दियाको व्यापारिक सम्बन्धलाई मजबुत बनाउने अपेक्षा लिएका छौँ।’ 

व्यापारीहरूको संस्था टीकापुर उद्योग वाणिज्य संघले पनि पुल निर्माणको पहल गर्नका लागि महोत्सवको आयोजना गर्‍यो। महोत्सव सम्पन्न भयो तर पुल निर्माणको योजनाले पूर्णता पाउन सकेन।

अहिले पुल निर्माणका लागि संघीय सरकारले रसुवा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेर काम अगाडि बढाएको छ। गएको मंसिरमा भएको सम्झौताअनुसार ५३ महिनामा पुल निर्माण गरिसक्नुपर्ने छ। करिब एक अर्बभन्दा बढीको लागत रहेको उक्त पुल सातसय ५० मिटर लम्बाइको रहने निर्माण कम्पनीका इन्जिनियर कृष्ण ढुंगेलले बताए।

‘सम्झौता भएपछि स्थलगत अध्ययन गरेर डिजाइनको काम भइरहेको छ। डिजाइनको काम सकिएपछि लगत्तै काम सुरु गर्छौँ’, उनले भने, ‘सम्भवतः एक डेढ महिनामा डिजाइनको काम सम्पन्न हुन्छ होला। त्यो समयसम्म कर्णाली नदीमा पानीको बहाव नबढे काम सुरु गर्छौँ, नभए बर्खापछि काम सुरू हुन्छ।’

टीकापुर नगरपालिका-२ का वडाध्यक्ष दीपक चौधरीले टीकापुरका लागि सनक्ट्टीको पुन निकै महत्वपूर्ण हुने बताए। उनले टीकापुर र बर्दियाको सम्बन्ध निकै नजिक रहेको बताउँदै दैनिक सयौँ नागरिकले डुंगाको सहारामा कर्णाली वारपार गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे।

‘वर्षौँदेखि त्यहीँ एउटा सपना थियो सनकट्टीमा पक्की पुल। जसका लागि कैयौँपटक राज्यका अधिकांश निकायमा पुगेका थियौँ’, वडाध्यक्ष चौधरीले भने, ‘आज त्यो राज्यले सुनेको छ। नागरिक खुसी छन्। पुल निर्माण भएपछि टीकापुरको व्यवसायमा टेवा पुग्ने विश्वास छ।’ रासस 


प्रकाशित : आइतबार, चैत १२ २०७९०६:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend