शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

बेमौसमी वर्षाको असर : ६८ हजार हेक्टरमा २ लाख ५८ हजार मेट्रिकटन धान क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ८ २०७८
images
बेमौसमी वर्षाको असर : ६८ हजार हेक्टरमा २ लाख ५८ हजार मेट्रिकटन धान क्षति

गत वर्ष नेपालले करिब ५० अर्ब रुपैयाँको चामल आयात गरेको मन्त्रालयले जनाएको छ। यसले व्यापार घाटालाई बढाएको छ भने राष्ट्रिय अर्थतन्त्रलाई नकारात्मक असर पुर्‍याएको छ।

images
images

काठमाडौं- बेमौसमी वर्षाका कारण धानबालीमा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा २ लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ।

images
images
images

सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा करिब ४२ हजार हेक्टरमा एक लाख ६१ हजार २२३ मेट्रिकटन धान नोक्सान हुँदा चार अर्ब ५१ करोड रुपैयाँ क्षति भएको छ। सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा करिब १८ हजार हेक्टरमा ६८ हजार ४ सय मेट्रिकटन धान क्षति भएको छ। सोको बजार मूल्य एक अर्ब ९१ करोड रुपैयाँ हुन आउँछ।  

images
images

प्रदेश नं १ का झापा, मोरङ र सुनसरीमा सात हजार ४९२ हेक्टर क्षेफलमा २८ हजार ४६९ मेट्रिकटन बालीमा नोक्सान पुगेको छ। यसको बजार मूल्य ८० करोड रुपैयाँ हुन आउँछ। गत असोज ३१ गतेदेखि देशका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण विशेषगरी यस क्षेत्रका किसान समस्यामा परेका छन्। अन्य प्रदेशमा पनि केकस्तो नोक्सान भएको छ, त्यसको अभिलेख सङ्कलन गर्न मन्त्रालय मातहतका प्रदेश कार्यालयलाई जिम्मेवारी दिइएको छ। 

images
images

सम्बन्धित पक्षलाई राहत सहुलियत उपलब्ध गराउन मन्त्रालयबाट पनि अनुगमन समिति गठन गरी प्रभावित क्षेत्रमा पठाइएको प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए। मन्त्रालय र प्रदेशका अधिकारीबीच समन्वय र समझदारी कायम गरी प्रभावित कृषकलाई सहयोग प्रदान गरिने जनाइएको छ। वर्षाले देशका विभिन्न स्थानमा आएको बाढी तथा डुबानले एक सयभन्दा धेरै मानिसको मृत्यु भएको छ। 

विभिन्न स्थानका सडक मार्गसमेत नोक्सान भएका छन्। कृषकले धान भित्र्याउने समयमा भएको वर्षाले यस वर्ष ठूलो नोक्सानी भएकाले राष्ट्रिय उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ। धानलगायत अन्य बाली रोप्ने समयमा रासायनिक मलको समस्या सधैँ हुने गर्दछ। मौसमका आधारमा बर्खे धान, चैते धान, भदैया धान र घैया धानसमेत उत्पादन हुने गर्दछ।

नेपालमा अन्नबालीमा धानलाई प्रमुख बालीका रुपमा लिइन्छ। करिब दुई दशकदेखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइन्छ। मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब ३२ प्रतिशत कृषि क्षेत्रले योगदान गरेको छ। त्यसमा पनि कृषि गार्हस्थ उत्पादनमा धानको योगदान करिब २० प्रतिशत छ। खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यकपर्ने क्यालोरी चामलमा राम्रो हुन्छ। 

कुल जनसङ्ख्याको करिब ६५ प्रतिशत यस क्षेत्रमा आश्रित छन्। मुलकमा राम्रो धानखेती हुने क्षेत्र तराई भए पनि पहाडमा हावापानीअनुसारको स्थानीय धान उत्पादन हुने गर्दछ। उच्च क्षेत्र जुम्लालगायत केही हिमाली जिल्लामा पनि स्थानीय धानखेती हुने गर्दछ। मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा धानको खेती हुन्छ। देशको करिब १६ लाख हेक्टरमा धानखेती भइरहेको मन्न्त्रालयले जनाएको छ। 

हाल ६३ जातका धानको खेती गरिन्छ भने पछिल्लो पाँच वर्षयता करिब ५० देखि ५६ लाख मेट्रिकटन धान उत्पादन हुने गरेको अभिलेख छ। 'केही दशक अगाडि हामीले विदेशमा चामल निर्यात गर्ने गरेकामा केही वर्षदेखि चामल आयात गरेका छौँ', प्रवक्ता सञ्जेलले भने। गत वर्ष नेपालले करिब ५० अर्ब रुपैयाँको चामल आयात गरेको मन्त्रालयले जनाएको छ। यसले व्यापार घाटालाई बढाएको छ भने राष्ट्रिय अर्थतन्त्रलाई नकारात्मक असर पुर्‍याएको छ।

विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गरेको छ। सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो। विश्वमा करिब १७ करोड हेक्टर जमिनमा धान खेती गरिन्छ भने करिब ७५ करोड मेट्रिकटन धान उत्पादन हुन्छ। कुल उत्पादनको ८० प्रतिशत धान खपत एशियामा हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend