बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

ब्याज अनुदानपछि व्यवसायी बन्दै युवा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
images
ब्याज अनुदानपछि व्यवसायी बन्दै युवा

रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यविधि २०७५ तयार पारेर कार्यविधिअनुसार नै कार्यक्रम सञ्चालन गरिरहेको छ। तरकारी, फलफूल, कुखुरा, बाख्रा, गाई, भैंसी, बंगुर, च्याउ, मौरीपालन व्यवसाय गर्ने युवालाई ब्याज अनुदान दिइएको छ।

images
images

पाल्पा- बजारमा दैनिकरुपमा अण्डाको माग बढ्दो देखेपछि रामपुरका हरि आचार्य पोल्टी फार्ममा आकर्षित भए।

images
images
images

कृषि, पशुपक्षीपालनसँग जोडिएर गाउँमै केही व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी राख्ने आचार्यको यतिबेला पोल्टी फार्म व्यवसाय लोभलाग्दो बनेको छ। केही वर्ष वैदेशिक रोजगार घर फर्किएपछि फर्निचर व्यवसायमा राम्रो अनुभव बटुलेका आचार्यको पहिचान अन्ततः पोल्टी फार्ममा जोडिएको छ।

उनलाई यस व्यवसायका लागि रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ३० लाख रूपैयाँ बराबरको कर्जा रकमको ब्याज अनुदान उपलब्ध गराएपछि उत्साहका साथ व्यवसाय चलाएका छन्। दिगोरुपमा व्यवसाय चलाउने अठोट लिएर रामपुर नगरपालिका-८ माथिल्ला ढिक आफ्नै पुख्र्यौली बस्तीमा अचार्य पोल्टी फार्मका नाममा करिब चार रोपनी जग्गामा व्यवसाय चलाएका छन्।

images

अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमार्फत व्यवसाय सञ्चालनका लागि लिएको ३० लाख रूपैयाँ बराबरको कर्जाको मासिक ब्याज ३४ हजार रूपैयाँ नगरपालिकाले उपलब्ध गराएपछि व्यवसायमा धेरै सजिलो भएको उनले बताए। ‘व्यवसायका लागि आफूले लिएको ऋणको ब्याज तिर्नु नपर्दा धेरै राहत भएको महसुस गरेको छु’, उनले भने, ‘ब्याज तिर्नु नपरेपछि धेरै सजिलो हुँदोरहेछ, नगरले ल्याएको यो कार्यक्रम अति नै प्रभावकारी छ।’

images

बुटवल, भैरहवा, चितवनलगायतका बजारबाट रामपुरमा ठूलो परिमाणमा अण्डा भित्रिएको देखेपछि उनले व्यावसायिकरुपमा अण्डा उत्पादनमा जोड दिएको बताए। अण्डा उत्पादनका लागि उनको फार्ममा लेयर्स जातका कुखुरा छन्। रामपुर क्षेत्रलाई अण्डामा आत्मनिर्भर बनाउने उनको अभियान छ। व्यवसाय गर्न नगर सरकारले युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान दिएपछि उनलाई व्यवसायमा ठूलो राहत पुगेको छ।

‘ब्याज अनुदान कार्यक्रम गाउँमै केही व्यवसाय गर्छु भन्नेका लागि असाध्यै उपयोगीमूलक लाग्यो, ठूलो लगानी गरेर दीर्घकालीनरुपमा चलाइएका व्यवसायलाई दुई वर्षको मात्र ब्याज अनुदान नभई यसलाई नगर सरकारले व्यवसायका आधारमा बढाउनुपर्नेछ, व्यवसायीलाई ऋणको भार कम पर्नेछ, एक/दुई वर्षको समय व्यवसाय लगानीकै क्रममा रहने हुँदा आम्दानी लिन पाइने अवस्था रहँदैन’, उनले भने।

रामपुरमा अण्डाको माग राम्रो रहेको हुँदा उत्पादनमा जोड दिने उनको भनाइ छ। विसं २०७२ मा तीन हजार दुईसय कुखुराबाट व्यवसाय सुरू गरेका अचार्यले यो व्यवसाय एक्लै धान्दै आएका छन्। हाल उनको फार्ममा एक हजार पाँच सय कुखुरा छन्। अब दुई हजार कुखुरा राख्ने तयारी गरिरहेका छन्। दैनिक ७० पेटीसम्म अण्डा उत्पादन भइरहेको छ। वार्षिकरुपमा ८२ लाख रूपैयाँ बराबरको कारोबार हुने गरेको व्यवसायी आचार्यको भनाइ छ। उनी भन्छन्, ‘विदेशको अनुभव पनि गरियो। स्वदेशमै जस्तो पैसा कमाउन सजिलो विदेशमा हुँदैन।’

अहिले दानाको मूल्य ह्वात्तै बढ्दा दाना व्यवस्थापनमा व्यवसायीलाई समस्या परिरहेको छ। व्यवसाय सुरूका समयमा प्रतिकिलो ३२ रूपैयाँमा खरिद गरेको दाना हाल प्रतिकिलो ७३ रूपैयाँमा खरिद गर्नु परेकामा दानामा धेरै रकम खर्चिनु पर्दा व्यवसायी मारमा पर्ने अवस्था रहेको उनी बताउँछन्। अचार्यले दैनिक १६० किलोभन्दा बढी दाना व्यवस्थापन गरिरहेका छन्। संरचना निर्माण र कुखुरा खरिदमा करिब ६५ लाख रूपैयाँ बराबरको लगानी परेको छ। पाँच हजार दुईसय कुखुरा अट्ने क्षमताको पक्की संरचना तयार भएकाले फराकिलो संरचनामा कुखुरा खेल्दै हुर्कने वातावरणले छिटो उत्पादन दिएको आचार्य बताउँछन्।

छ महिनादेखि अण्डा उत्पादन दिन सुरू गरेको कुुखुराले दुई वर्षसम्म उत्पादन दिइरहन्छ। यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा होलसेल १२ र खुद्रा १३ रूपैयाँ मा बिक्री भइरहेको छ। करिब छ वर्ष युनाइटेड अरब इमिरेट्समा बसेर स्वदेश फर्किएका आचार्यले रामपुर मटेरीमा सात वर्ष फर्निचर उद्योग पनि चलाए। अन्ततः आफ्नै पुर्खौली जग्गालाई सदुपयोग गर्दै अण्डा उत्पादन व्यवसायमा लागेपछि छुट्टै आनन्दानुभूति भइरहेको बताउँछन्।

रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यविधि २०७५ तयार पारेर कार्यविधिअनुसार नै कार्यक्रम सञ्चालन गरिरहेको छ। तरकारी, फलफूल, कुखुरा, बाख्रा, गाई, भैंसी, बंगुर, च्याउ, मौरीपालन व्यवसाय गर्ने युवालाई ब्याज अनुदान दिइएको छ। हालसम्म यस कार्यक्रमअन्तर्गत ८६ जना युवाले ब्याज अनुदान प्राप्त गरेको कृषि शाखा प्रमुख तथा समितिका सदस्य सचिव रामहरि पाण्डेय बताउँछन्।

उनका अनुसार सहभागी युवाले यस कार्यक्रममा छ करोड ९० लाख ४० हजार रूपैयाँ बराबरको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको र सो कर्जाको हालसम्म ७२ लाख पाँच हजार आठसय ७५ रूपैयाँ रकम ब्याज अनुदान उपलब्ध गराइएको छ। कार्यक्रममा समावेश युवाले दुई लाखदेखि ३० लाख रूपैयाँसम्मको ऋण लिएर व्यवसाय गरेका छन्। सो रकमको मासिक ब्याज नगरपालिकाले भुक्तानी गरिरहेको कृषि शाखा प्रमुख पाण्डेयले जानकारी दिए। 

ब्याज अनुदान उपलब्ध गराउन थालेपछि गाउँमै बसेर केही उद्यम, व्यवसाय गर्छु भन्नेका लागि ठूलो राहत मिलेको छ। मासिक ब्याज नगरपालिकाले भुक्तानी गरिदिएपछि व्यवसायीलाई ऋणको भार कम परेको छ। युवालाई विदेश पलायन हुन नदिने, गाउँमै आयआर्जनमूलक क्षेत्रमा लगानी गरेर व्यवसाय गर्न यस कार्यक्रमले प्रोत्साहन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन्।

‘प्रभावकारी अनुगमन गरेर विदेश पलायन हुने आकर्षण बढेका युवालाई स्वदेशमै स्वरोजगारको ढोका खोल्ने गरी नगरले युवामाझ ल्याएको यस कार्यक्रम नमूना रहेको छ, केही गर्छु भनेर व्यवसायमा लागेका युवाले विभिन्न व्यवसायबाट राम्रो कार्य गरिरहनुभएको छ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने।

कृषि उत्पादनलाई वृद्धि गरेमा हाटबजारमा बिक्री वितरण गर्ने, बजारको प्रबन्धलगायतका कार्य कृषि शाखाबाट हुने उनले बताए। उत्पादित वस्तुको बजारमा बिक्री भएन भन्ने गुनासो किसानबाट आउन नदिने प्रबन्ध नगरले गर्नेछ तर किसानले कृषिजन्य उत्पादन वृद्धि गर्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ। बजार स्थिर नहुँदा पनि उत्पादन गरेका कृषि उत्पादन कहिलेकाहीँ खपत नहुने अवस्था कृषकले झेल्नुपर्ने सास्ती उत्तिकै खेप्नुपर्छ।

युवा वैदेशिक रोजगारीमा जानेक्रम बढ्दै जाँदा गाउँ रित्तिँदै जाने अवस्था रहेको हुँदा गाउँमै बसेर तरकारी, फलफूल, पशुपक्षीपालन, कुखुरा, बाख्रा, गाईभैँसीपालन गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले व्यवसायका लागि नगर सरकारले दुई वर्षको ब्याज अनुदान सहयोग कार्यक्रम ल्याएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन्।

‘प्रदेश, संघ र स्थानीय सबै सरकारले अनुदानका कार्यक्रम ल्याए पनि लगानीअनुसारको उपलब्धि हुन सकेन, अनुदानको नाममा कतिपय ठाउँमा दुरुपयोग भएको छ’, उनले भने, ‘पूर्णरुपमा अनुदानभन्दा पनि युवाले लिएको ऋणको दुई वर्षसम्म ब्याज नगरपालिकाले तिरिदिनेछ, यसले नियमितरुपमा व्यवसाय गर्नेलाई निरन्तर ब्याज उपलब्ध गराइएको छ भने बीचमै व्यवसाय छाड्नेलाई ब्याज अनुदान उपलब्ध हुँदैन।’

विभिन्न विधामा कार्यविधि बनाएर व्यवसायीले तयार पारेको संरचना अनुगमन गरेर मात्रै यस कार्यक्रममा युवालाई छनोट गर्ने गरिएको छ। यस कार्यक्रममा सहभागी युवाले प्रत्येक तीन/तीन महिनामा आफूले लिएको ऋण बैंक तथा वित्तीय खातामा ब्याज नगरपालिकाले तिरिदिने गरेको नगर प्रमुख थापाले बताए।

सुरूका बखत बैंकबाट मात्रै व्यवसायीले ऋण लिन पाउने व्यवस्था भए पनि अहिले भने युवालाई सहजताका लागि रामपुर नगरपालिकाभित्र रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट लिन पाउने नगरले व्यवस्था गरिदिएको छ। ३० लाख रूपैयाँसम्म कर्जा स्वीकृतका लागि नगरपालिकाले बैंक तथा वित्तीय संस्थालाई सिफारिस गर्ने र ब्याज अनुदान उपलब्ध गराएको छ। रासस 


प्रकाशित : शुक्रबार, चैत १० २०७९०८:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend