बलेवा- विसं २०४८ अघि बागलुङ नगरपालिका-४ उपल्लाचौरलगायतका क्षेत्रमा पातलो बस्ती थियो। सहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको सहायतामा पानीको जोहो गर्थे। बागलुङ बजार सडक सञ्जालसँग जोडिएपछि उपल्लाचौरमा सहरीकरण हुन थाल्यो। कोदो फल्ने बारीमा ठूलाठूला घर बने। एउटै घरमा चार-पाँच परिवार अटेका छन्। केही साना उद्योग पनि छन्। तर अहिले उपल्लाचौर, कुँडुलेलगायत आसपासका गाउँ काकाकुल छन्।
मानवबस्ती कम हुँदा पानीका स्रोतले पुगेपछि नजिकैका मुहान नखोजेको बागलुङ नगरपालिकाले अहिले आफ्नो सीमा क्षेत्रका मुहानमा चासो देखाएको छ। तर उपल्लाचौर, कुँडुलेलगायतका गाउँमा ल्याउन सकिने बागलुङ नगरपालिकाकै वडा नं ५ का दर्जन बढी पानीका मुहान भने म्याग्दीवासीले प्रयोग गरिरहेका छन्।
मालिका आसपासका दर्जन बढी मुहानबाट प्रतिसेकेन्ड ५० लिटरभन्दा धेरै पानी छिमेकी म्याग्दीमा पुगेको छ। आफ्नै नगरका मुहानको पानीले बेनी नगरपालिका-१ रत्नेचौर हराभरा हुँदा सिमाना जोडिएको कुँडुलेले पानीको चरम अभाव खेपिरहेको छ। खानेपानी अभाव भएपछि आफ्नो क्षेत्रका मुहान खोजी गरे पनि योजना बनाएर पानी ल्याउन नगरलाई सकस छ। विसं २०५८ मा बागलुङ-५ मालिकाको कमेरे खानेपानी मुहान मूलको पानी बागलुङ-५ र ४ का उपभोक्तालाई वितरण गर्ने उद्देश्यले आयोजना निर्माण भएको थियो।
आयोजना अघि बढाउन रकमसमेत विनियोजन भयो। तर मुहान विवादका कारण न योजना अघि बढ्न सक्यो न खानेपानीको अभाव खेपिरहेका उपभोक्ताले पानी पाए। रत्नेचौरका स्थानीयवासीले कमेरेपानी नजिकै रहेको ठूलोखोला र बागलुङमा रहेका करिब एक दर्जन मूल आफ्ना बनाएका छन्। सरकारी निकायमा दर्ता कहीँकतै नभएको भए पनि पाइप बिछ्याएर पानी रत्नेचौर पुगेको छ। वर्षौँदेखि विवाद हुँदै आएको कमेरे खानेपानी मुहानबाट बगेको पानी म्याग्दी रत्नेचौरका स्थानीयवासीले सिँचाइका लागि प्रयोग गरेको बागलुङ-४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्री बताउँछन्।
'एक-दुई हजार जनसङ्ख्यालाई एउटै मुहानको पानी फालाफाल हुन्छ, यहाँ त ६२ एमएमदेखि छ इन्चको पाइपसम्ममा ११ मूलको पानी लगिएको छ', क्षेत्री भन्छन्, 'हामीले प्यास मेटाउन प्रतिसेकेन्ड तीन लिटर पानी लैजान्छौँ भन्दा आफ्नै जमिनको पानी पाएनौँ।' कमेरे खानेपानी मुहानमा विवाद हुँदा बागलुङका १२ सय घरधुरीले समस्या झेलेका छन्।
बागलुङ-५ बान्द्रे र वडा नं ४ कुँडुले फेदीका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने योजना पर्दासमेत रत्नेचौरवासीले अवरोध गर्दै आएका छन्। बान्द्रे, कुँडुले फेदी, छाप, दाह्रेगौँडा, रमेटार, उपल्लाचौर, डुङढुङ्गा बस्तीमा खानेपानी ल्याउने योजना भए पनि अवरोधका कारण योजना अघि बढ्न नसकेको वडाध्यक्ष क्षेत्री बताउँछन्।
कमेरे मूलको पानी बागलुङ-४ मा ल्याउन पहल सुरु भई विसं २०५८ मा मूल दर्ता भएको थियो। वडाध्यक्ष क्षेत्रीले भने, 'सो समयमा बागलुङका उपभोक्ताले बिछ्याएका खानेपानीका पाइप, पाइप जडान गर्ने मेसिनलगायतका उपकरण म्याग्दीको रत्नेचौरका स्थानीयवासीले लुटेर लगे। तत्कालीन उपभोक्ता समितिले प्रशासन र प्रहरीमा उजुरी दिएका पनि हुन्। सशस्त्र द्वन्द्व तथा सङ्कटकालले पानीको काम अघि बढ्न सकेन। अहिले काम सुरु गर्दा रत्नेचौरवासीले विरोध गर्नु दुःखद् कुरा हो।'
उनका अनुसार बागलुङ नगरपालिकामा रहेका मूल म्याग्दीले दर्ताबिनै लगेको र करिब दुई लाख रूपैयाँ खर्च गरेर हाल निर्माण गरेको कमेरे मूलमा निर्माणाधीन खानेपानी ट्याङ्कीको संरचना तोडफोड भएको छ। उनले अझै पनि सहमतिको बाटो खोजेको, आधा-आधा पानी लैजाने र पुरानै प्रवृत्ति नदेखाउन आग्रह गरे।
पानीकै विषयमा बागलुङ र म्याग्दीका सुरक्षा प्रमुख तथा जनप्रतिनिधिबीच सहमतिको प्रयास भएको थियो। खानेपानी समस्या समाधान गर्न भन्दै दुई जिल्लाका उच्चपदस्थ अधिकारीको गत फागुन १७ मा बागलुङ बजारमा बसेको बैठकले मुहानको पानीको प्राविधिक जाँचमा प्रतिसेकेन्ड सात लिटर पानी रहेकामा प्रतिसेकेन्ड चार लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी तीन लिटर बागलुङले प्रयोग गर्ने, हिउँदका चार महिना ९ फागुनदेखि जेठसम्म मुहानको कुल पानीको ५८ प्रतिशत रत्नेचौर र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने गरी सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। मौखिक सहमतिलाई अहिले रत्नेचौरका बासिन्दाले नमानेका कारण पुनः विवाद भएको श्रेष्ठले बताए।
उनले जनताको बीचमा लडाइँ-झगडाभन्दा पनि सबै नेतृत्व तहकाले यसको सहमतिको बाटो खोज्नुपर्ने बताए। नगरपालिकाले उक्त योजना सम्पन्न गर्नका निम्ति ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। कमेरे मुहानको पानी अपुग भएमा आसपासलगायत खोलाको पानीसमेत मिसाएर बाँडफाँट गरिने गरी सहमति भएको र दुवै क्षेत्रका उपभोक्तालाई जानकारी गराउने सहमति भएको भए पनि रत्नेचौरका केही स्थानीयवासीले जनप्रतिनिधिलाई समेत दबाबमा राखेपछि सहमति कार्यान्वयन हुन सकेको छैन।
रत्नेचौरका स्थानीयवासीले प्रयोग गर्दै आएको खानेपानीका विषयमा सहमति गरेर निकास निकाल्नुपर्ने म्याग्दीको बेनी नगरपालिका-१ का वडाध्यक्ष टेकबहादुर थापालले बताए। स्थलगत अध्ययनका लागि गएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले दुई गाउँबीच सहमति गरेर खानेपानी व्यवस्थापन गर्नुपर्ने बताए। अहिलेसम्म बागलुङले जबर्जस्ती नगरेको भन्दै थापाले अधिकांश मुहान बागलुङकै भू-भागमा रहेकाले पनि म्याग्दीले व्यावहारिकता बुझ्ने बताए। रासस