बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

उपत्यकामा बढ्दो सवारी दुर्घटना : ३ वर्षमा ४ सय ८४ जनाको मृत्यु

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १० २०७९
images
images
उपत्यकामा बढ्दो सवारी दुर्घटना : ३ वर्षमा ४ सय ८४ जनाको मृत्यु

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन्। आफूले ठीक ढंगबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनु परेका घटना पनि छन्।

images
images

काठमाडौं- गत फागुन २४ गते साँझ काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो। साँखु-जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा ५ ख २४१४ नम्बरको टिपरले पत्रकार श्रेष्ठले चलाएको बा ९४ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साँखुबाट प्रकाशित हुँदै आएको लावण्य साप्ताहिक पत्रिकाका प्रधान सम्पादक श्रेष्ठको ज्यान गएको हो।

images
images
images

सोही दिन सोही टिपरको ठक्करबाट साँखुका २२ वर्षीय हरि खड्काको समेत ज्यान गयो। खड्काले चलाएको बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको ज्यान गएको हो। एकैपटक एउटा टिपरले दुई सवारी साधनलाई ठक्कर दिँदा दुवैजनाको ज्यान गएको थियो। उक्त दुर्घटनामा २० वर्षीय पुनम श्रेष्ठ गम्भीर घाइते भए।

यस्तै, गत माघ १४ गते काठमाडौं महानगरपालिका-१५ स्वयम्भुस्थित चमतीमा ट्यांकरको ठक्करबाट ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्यको ज्यान गयो। प्रदेश ३-०१-००३ क ७५१२ नम्बरको ट्यांकरले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको ज्यान गएको हो।

images

यीमाथि उल्लेखित घटना प्रतिनिधिमूलक घटनामात्र हुन्। पछिल्लो समय काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन्। आफूले ठीक ढंगबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनु परेका घटना पनि छन्।

images

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा काठमाडौं उपत्यकाभित्र ६ हजार ८ सय ३ सवारी साधन दुर्घटनाबाट १ सय २७ जनाको ज्यान गएको छ। यस्तै, १ सय ५४ जना गम्भीर घाइते भएका छन् भने ५ हजार १ सय २७ जना सामान्य घाइते भएका छन्।

पछिल्लोे तीन वर्षको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाभित्र सवारी साधन दुर्घटनाबाट ४ सय ८४ जनाले ज्यान गुमाएका छन्। आव २०७७/७८ मा ९ हजार ५ सय ४५ सवारी साधन दुर्घटनाबाट १ सय ६६ जनाको मृत्यु भएको छ भने २ सय २९ जना गम्भीर घाइते तथा ७ हजार ९५ जना सामान्य घाइते भएका छन्।

आव २०७८/७९ मा १० हजार ७ सय ३३ सवारी साधन दुर्घटनामा परेर १ सय ९१ जनाको मृत्यु भएको छ भने २ सय ५७ गम्भीर घाइते र ८ हजार २ सय ८१ जना सामान्य घाइते भएका छन्। काठमाडौं उपत्यकामा सवारी साधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ। काठमाडौं उपत्यकामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्रु बढी छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउँछन्।

'दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतीमा सवारी साधन चलाउन नपाइने नियम, सवारी साधनको स्थिती जाँच, लामो दूरीका सवारी साधनमा दुई चालक छन् या छैनलगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ', उनी भन्छन्। साँघुरो बाटो र धेरै सवारी साधन भएकाले बढी दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यकाभित्रको सवारी व्यवस्थापनका लागि प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा एक हजार सात सय ट्राफिक प्रहरी परिचालित छन्। लामो समयसम्म काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काम गरेका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँछन्। 

'चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने गरेका छन्', उनी भन्छन्। हाल देशभर ४० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र १८ लाखदेखि २० लाख सवारी साधन सञ्चालनमा छन्। रासस


प्रकाशित : शुक्रबार, चैत १० २०७९०४:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend