बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

ढोरपाटनमा १२ नाउर र ८ झारल मार्न विदेशी सिकारीलाई अनुमति, बेमौसमी हिमपातले समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ९ २०७९
images
images
ढोरपाटनमा १२ नाउर र ८ झारल मार्न विदेशी सिकारीलाई अनुमति, बेमौसमी हिमपातले समस्या

फागुनदेखि बैशाखसम्म चल्ने उक्त मौसमका लागि १२ नाउर र ८ झारलको सिकार खेल्नका लागि विदेशी सिकारीले अनुमति पाइसकेका छन्।हेलिकप्टरमार्फत सिकार ब्लक क्षेत्रमा पुग्ने विदेशी सिकारीलाई बेमौसमी हिमपातका कारण समस्या भएको छ।

images
images

गलकोट- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले सिकारको दोस्रो मौसम चलिरहेको छ। फागुनदेखि बैशाखसम्म चल्ने उक्त मौसमका लागि १२ नाउर र ८ झारलको सिकार खेल्नका लागि विदेशी सिकारीले अनुमति पाइसकेका छन्। विदेशी सिकारीलाई बेमौसमी हिमपातले त्यहाँ पुग्न र सिकारमा रमाउन समस्या बनाएको छ। 

images
images
images

हेलिकप्टरमार्फत सिकार ब्लक क्षेत्रमा पुग्ने विदेशी सिकारीलाई बेमौसमी हिमपातका कारण समस्या भएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ। दोस्रो सिकार याम सुरू भइसके पनि अहिलेसम्म नाउर र झारलको सिकारका लागि हिमपातले सिकार व्यवस्थापनमा आरक्षलाई कठिनाइ भइरहेको आरक्षका सूचना अधिकारी अविनाश थापाले जानकारी दिए। 

‘विदेशी सिकारीको निश्चित समय विभागबाटै दिइएको हुन्छ, उक्त समय सीमाभित्रै सिकार गरेर फर्किसक्नुपर्ने हुन्छ, सुनदह ब्लक र बार्से ब्लकमा तोकिएको सिकार बेमौसमी हिमपातका कारण एक हप्ता प्रभावित बनिसकेको छ, अहिले दुवै ब्लकमा सिकारी ढिलोगरी पुग्नुभएको हो’, सूचना अधिकारी थापाले भने, ‘चैत ३ गते दुई सिकारी कम्पनीले हेलिकप्टरमार्फत सिकारी ल्याउने कार्यतालिका थियो, तर हिमपात र मौसम खराबीका कारण बार्से ब्लकका सिकारी मंगलबार र सुनदह ब्लकका सिकारी बुधबार मात्रै आएका छन्।’ 

images

थापाका अनुसार यसपटक ढोरपाटन क्षेत्रमा ढिलोगरी हिमपात हुँदा समस्या भएको हो। आरक्षले तोकिएको स्थानमा दुवै हेलिकप्टर पुग्न नसक्दा केही तलबाट सिकारी पैदल मार्गमार्फत सिकार खेल्न ब्लकतर्फ लागेकोे जनाएको छ। मौसममा सुधार भए सबै नाउर र झारलको सिकार गर्न सम्भव भने रहेको आरक्षको भनाइ छ। अधिकांश विदेशी सिकारीले भने चैतको दोस्रो सातापछि मात्रै सिकार अनुमति लिएका कारण समस्या नहुने आरक्षको भनाइ छ। 

images

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ढोरपाटन सिकार आरक्ष केन्द्रमा दोस्रो यामको सिकार पर्यटकका लागि बाह्र नाउर र आठ झारलको सिकार अनुमति दिएको थियो। आरक्षका अनुसार सिकार खेल्न विदेशी सिकारी बन्दोबस्तीका सामग्रीसहित हेलिकप्टरमार्फत ढोरपाटन आउने गरेका छन् भने आरक्षका कर्मचारी सिकारीभन्दा अगाडि नै सिकार खेल्ने स्थानमा आवश्यक सामग्रीसहित पुग्ने गरेका छन्। 

सुनदह ब्लकमा ओपन नेपाल वाइल्ड लाइफ सफारीले चैत ३ देखि १६ गतेभित्रमा नाउर सिकारका लागि अनुमति प्राप्त गरे पनि बेमौसमी हिमपातका कारण बुधबार मात्रै सिकार गर्ने टोली ब्लकतर्फ लागेको छ। यस्तै बार्से ब्लकमा हिमालय वाइल्ड लाइफ सफारीलेसमेत चैत ३ देखि १७ गतेसम्म सिकार खेल्ने अनुमति पाएकामा हिमपातका कारण हेलिकप्टर आउन नसक्दा मंगलबार मात्रै आरक्षको केही तल्लो भागमा हेलिकप्टर अवतरण गरी पैदल मार्गमार्फत सिकार ब्लकमा सिकारी पुर्‍याइएको छ। 

आरक्षलाई विभाजन गरिएको सात ब्लकमा फरकफरक समयमा सिकार अनुमति दिइने गरिएको छ। विभागले पछिल्लो समय नाउर र झारलसँगै बँदेलका लागिसमेत सिकार आह्वान गर्दै आएको छ। विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाका आधारमा प्रतिस्पर्धाबाट नाउर र झारलकोे सिकार गरिनेछ। 
 
यस मौसममा नेपाली नागरिकका लागि सात बँदेल र विदेशी नागरिकका लागि चार बँदेल गरी जम्मा ११ बँदेल सिकार कोटा तोकिएको छ। नाउर र झारल भने विदेशी सिकारीले मात्रै सिकार गर्ने गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए।

ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो। यहाँ कात्तिक-मंसिर र फागुन-वैशाख गरी दुई मौसममा सिकार खेलिन्छ। आरक्षले सिकारको अनुमति दिएको सङ्ख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ। ब्लकअनुसार मूल्य फरकफरक पर्छ। पर्यटकले सिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता महत्वपूर्ण अंग भने आफ्नै देश लैजान पाउने छन्। विभागले यस वर्षको पहिलो सिकार यामका लागि आठ नाउर र पाँच झारलको सिकार अनुमति दिएको थियो। तीमध्ये पाँच नाउर र चार झारलको मात्रै सिकार भएको थियो।

अघिल्लो याममा सिकार नभएका नाउर र झारलसमेतलाई थप गरेर वर्षको दोस्रो याममा १२ नाउर र आठ झारलको सिकार अनुमति दिएको हो। नाउर र झारलको अनुमति लिएका विदेशीले निःशुल्क बँदेलको सिकार गर्न पाउनेछन्। आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था छ।

बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन्। प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन्। यहाँ दुर्लभ एवं संरक्षित पक्षीको सूचीमा परेका डाँफे र मुनाललगायत एक सय ६४ प्रजातिका चरा पाइन्छन्। विदेशी सिकारीले प्रतिस्पर्धाका आधारमा एउटै नाउर तथा झार सिकार गर्न लाखौँ रकम सरकारलाई राजस्व बुझाउँदै आएका छन्। रासस 


प्रकाशित : बिहीबार , चैत ९ २०७९१२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend