शनिबार, साउन १२ गते २०८१    
images
images
images

मेहनत धेरै, आम्दानी थोरै : चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ८ २०७९
images
images
मेहनत धेरै, आम्दानी थोरै : चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

स्वास्थ्यका लागि पनि काठका भाँडा फाइदाजनक मानिन्छ। तर आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा बिस्तारै हराउन थालेका छन्। गाउँमा पशुपालन गर्ने व्यवसाय घटेपछि काठका ठेकीको प्रयोगमा पनि कमी आएको देखिन्छ।

images

भोजपुर- काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन्। लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ।

images
images

विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ। न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा संकटमा पर्दै गएको चुँदाराको भनाइ छ। यहाँ ठाउँअनुसार गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट स-साना आकारका गोलियालाई कुँदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन्। जसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ।

images

दूध जमाउने ठेकीबाहेक मोही पार्ने ठेकी, कोसी, आरी खुर्पेटा कुँदेर चुँदाराले आफ्नो जीविका चलाउँदै आएका छन्। ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादनलगायतका औजारको प्रयोग हुने गर्दछ। नयाँ पुस्तामा ध्यान नजाँदा तथा व्यावसायिक हुन नसक्दा यहाँ अहिले पनि परम्परागतरूपमा नै ठेकी बनाउने चलन छ। काम गर्ने प्रविधिले आधुनिकता नपाउँदा श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या हुने चुँदारा बताउँछन्।

धेरै मेहनतले खोलाखोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि यो पेसा छाड्दै गएको ५१ वर्ष बढी समयबाट चुँदारा पेसा गर्दै आएका टेम्केमैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए। ‘न्यून ज्यालालगायत कारणले यो हाम्रो पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ’, विश्वकर्माले भने, ‘मेहनत धेरै गर्नुपर्छ। मेहनतअनुसारको आम्दानी हुँदैन, धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन्।’

images

काठको सामग्री बनाउनका लागि दार, पँयले, लोडसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने विश्वकर्माले बताए। तर पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको उनले बताए। ‘काममा त दुःख छँदैछ। अझ काठको पनि अभाव छ। गाउँले आफैँले काठ खोजेर ल्याए भने हामी बनाइदिन्छौँ। हामीले ज्याला लिने हो', विश्वकर्माले भने, 'एक पाथी जाने ठेकी बनाएको दुईसय ५० देखि तीनसय रूपैयाँसम्म ज्याला लिने गरेका छौँ। दुई जनाले दिनभर काम गरेको एक हजार पाँचसय रूपैयाँसम्म हुन्छ।'

आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ। मेहनतका आधारमा प्रतिफल नहुने भएकाले नयाँ पुस्ताले चासो नदिँदा पेसा लोप हुने अवस्थामा पुगेको उनले बताए। विश्वकर्माले भने, 'यो काम गरेर हामीले जीवन गुजरा गर्न सकिएको छैन। हिउँदको समयमा खोलामा पानी कम हुने भएकाले निरन्तर काम हुँदैन। वर्षात्को समयमा मात्र सञ्चालन हुन्छ। काम गर्न झन्झट हुने भएकाले धेरैले यो पेसा नै गर्न छाडे। नयाँ पुस्ताले चासो दिँदैनन्। पेसा जोगाउन नै समस्या छ।'

खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पङ्खामा खसाइ काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक)को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ। त्यसको अलावा हातले यन्त्र घुमाएर पनि काठका सामग्री बनाउने चलन छ। चुँदाराले कलात्मकरूपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाडो, गम्बुलगायत विभिन्न सामग्री बनाउँदै आएका छन्। हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सके काम गर्न सहज हुने चुँदाराको काम गर्दै आएका अर्का स्थानीय जंगबहादुर विकले बताए।

'हामीले बलको भरमा परम्परागतरूपमा काम गरिरहेका छौँ। बाउबाजेले जसरी गरे हामीले पनि त्यही विधिअनुसारको काम गर्दै आएका छौँ', विकले भने, 'आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग गरे हुने। तर यो पेसाको संरक्षणमा खास कसैको सहयोग छैन।'

पेसालाई जोगाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने विकको भनाइ छ। तालिमको व्यवस्था गरेर सीपलाई सबैमा विस्तार गर्नुपर्ने विकले बताए। 'यो सीपलाई विस्तार गर्न आवश्यक छ', विकले भने, 'विस्तार गर्न सकिएन भने यो काम गर्ने मानिस पाउन मुस्किल छ। राज्यको तर्फबाट जीवन गुजारा गर्न सक्नेसम्मको वातावरण निर्माण भयो भने पेसालाई बचाइराख्न सकिन्थ्योजस्तो लाग्छ। अहिले पनि हामीले काम गर्न आवश्यक सामग्री जुटाउन नै समस्या छ।'

पराम्परागतरूपमा सञ्चालन हुँदै आएका यस्ता पेसाको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने स्थानीय गोरखबहादुर विष्टले बताए। राज्यको तहबाट यस्ता पेसालाई प्राथमिकता नदिने हो भने नयाँ पुस्ताका लागि इतिहास हुने विष्टको भनाइ छ। रैथाने पराम्परागत पेसाको संरक्षण गर्न ठोस योजना बनाउन आवश्यक रहेको उनले बताए। विष्टले भने, 'यो पेसालाई जोगाउनुपर्ने अवस्था छ। धेरैले पेसा छाड्दै जाँदा यस्तो काम गर्ने मानिस पाउन नै मुस्किल छ।'

स्वास्थ्यका लागि पनि काठका भाँडा फाइदाजनक मानिन्छ। आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा बिस्तारै हराउन थालेका हुन्। गाउँमा पशुपालन गर्ने व्यवसाय घटेपछि काठका ठेकीको प्रयोगमा पनि कमी आएको देखिन्छ। अझै पनि जिल्लाका केही ग्रामीण स्थानमा कुँदेरै ठेकी बनाउने चलन छ।

परम्परागतरूपमा गाई-भैँसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो समय हराउँदै गएको छ। बजारमा आधुनिक स्टिललगायत प्लाष्टिकका सामग्री पाइन थालेपछि काठको ठेकीको प्रयोग हराउँदै गएको हो। रासस


प्रकाशित : बुधबार, चैत ८ २०७९०५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend