बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अमेरिकी पैसामा अर्थसचिवको कुर्सी मर्मत

सोमबार, कात्तिक ८ २०७८
अमेरिकी पैसामा अर्थसचिवको कुर्सी मर्मत

अहिले अर्थ मन्त्रालयले आर्थिक कुटनीतिमा प्रभाव पार्ने सक्ने दाताकै पैसाबाट अर्थसचिवको कार्यकक्ष मर्मत अघि बढाएको छ। 

काठमाडौं- मुलुकको आर्थिक कुटनीतिको नेतृत्व गर्ने अर्थसचिको कार्यकक्ष अमेरिकी सहयोग नियोग (युएसएआइडी)को पैसामा मर्मत भइरहेको पाइएको छ। दसैँअघिबाट युएसएआइडीले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको कार्यकक्ष मर्मत सुरु गरेको हो। 

अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिवको कार्यकक्ष मर्मत गरिसकेपछि अमेरिकी पैसामा सचिवको कार्यकक्ष मर्मत सुरु भएको हो। 'अब मन्त्रीको कार्यकक्ष मर्मत हुँदैछ, यो रकम पनि अमेरिकाले नै ब्यहोर्नेछ,' अर्थ मन्त्रालय स्रोतले भन्यो। 

मुलुकको आर्थिक कुटनीतिको नेतृत्व अर्थ मन्त्रालयका सचिवले गर्छन्। दातृ निकायसँगको हरेक ऋण तथा अनुदान सम्झौता अर्थ सचिवकै हस्ताक्षरमा हुने गरेको छ। तर अहिले अर्थ मन्त्रालयले आर्थिक कुटनीतिमा प्रभाव पार्ने सक्ने दाताकै पैसाबाट अर्थसचिवको कार्यकक्ष मर्मत अघि बढाएको छ। 

'विकास निर्माणमा स्रोत अभाव छ भनेर हामी नै भन्छौँ, अनि हामीलाई दाताले दिने पैसा यसैगरी कोठा सजाउन प्रयोग गर्छौँ भने हाम्रो स्रोत होइन नियत खोटो छ भन्ने प्रष्ट पार्छ,' लामो समय वैदेशिक सहायताको क्षेत्रमा काम गरेका एक पूर्वकर्मचारीले भने।

युएसएआइडी नेपालमा सबैभन्दा धेरै बजेट बाहिरबाट रकम खर्च गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा पर्छ। अर्थकै कर्मचारीहरू अमेरिकालाई चलाउन कठिन दाता (हार्ड टु ह्यान्डल डोनर) भन्ने गरेका छन्। 'नेपालमा सबैभन्दा धेरै अफ-बजेट खर्च गर्ने दाताले यस्तै कुरामा धेरै खर्च गर्न चाहनु अनौठो होइन,' स्रोतले भन्यो। 

अर्थ मन्त्रालय स्रोतका अनुसार युएसएआइडीले अहिलेसम्म मन्त्रालय भित्रको कोठा मर्मतको बजेटसमेत दिएको छैन। पहिले उपसचिवहरू, अहिले सचिव र यसपछि मन्त्रीको कोठा मर्मतमा भएको खर्चको विवरणबारे अहिलेसम्म मन्त्रालय बेखबर छ। 

अमेरिकाकै सहयोगमा सञ्चालन हुने एमसिसी परियोजना विवादमा परेका बेला एमसिसी कार्यान्वयनका लागि गठित एमसिए नेपालको अध्यक्ष अर्थसचिव हुन्छन्। उनै सचिवको कार्यकक्ष अमेरिकी पैसामा मर्मत गरिएको हो। 

नेपालमा दातृ निकायले नीति निर्माणका प्रत्येक तहमा हस्तक्षेप गर्छन् भन्ने आरोप सधैँ लाग्दै आएको छ। दाताले स्वार्थअनुकूल काम गराउन सरकारी कर्मचारीलाई विभिन्न उपहार दिने चलन नै छ। यस्तैमा अमेरिकाले सचिवको कार्यकक्ष मर्मत गरिदिएको हो। दाताको पैसामा विदेश घुम्नेदेखि नेपालमै आयोजना अनुगमनका नाममा कर्मचारीले मस्ती गर्ने गरेका छन्।


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८०३:३३
  • सम्बन्धित विषय:

  • # अर्थ मन्त्रालय


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend