त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बिहीबार नेपालको जित र युनाइटेड अरब इमिरेट्स (युएई)को हार भयो। जितको उत्सव मैदानमा उपस्थित २५ हजारभन्दा बढी दर्शकले धुलो उडाएर मनाए। जितको खुसीमा धुलाम्य हुने रहरले होइन बाध्यताले।
जितमा रहर त अत्याधुनिक रंगशालामा अतिशबाजी गरेरै खुसी मनाउने थियो। तर एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको नेपालमा एउटा पनि क्रिकेट स्टेडियम छैन, जहाँ खेल हुँदा दर्शक रूखका टुप्पोमा चढ्नु नपरोस्, शौचालयका छतमा उभिनु नपरोस्, धुले भुइँमा बस्नु नपरोस्।
यही खेल युएईको जस्तो स्टेडियममा भएको हुँदा हो र यहाँकै जस्तो दर्शकको समर्थन हुँदो हो त उत्सव कस्तो हुन्थ्यो होला?
युएईले गएको १५ देखि २० वर्षको बीचमा एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाएको छ। युएईले टी-ट्वान्टी विश्वकप, एसिया कप, आईपीएल, पीएसएललगायतका विश्वस्तरीय प्रतिस्पर्धा आयोजना गरिसकेको छ। युएई टेस्ट क्रिकेट नखेल्ने यस्तो देश हो जसले आफ्नो मुलुकमा टेस्ट क्रिकेट आयोजना गर्छ। त्यहाँ टेस्ट खेलाउने तीनवटा क्रिकेट रंगशाला छन्। हो यही विषयमा नेपालले युएईसँग क्रिकेट हारिरहेको छ, युएईले जितिरहेको छ।
स्वतन्त्र युएई देश बनेकै जम्मा ५१ वर्ष भयो। केही वर्षअघिसम्म यो देशको खेलकुद क्षेत्रमा कुनै पहिचान नै थिएन। आजकै दिनमा पनि कुनै पनि खेलको विश्व प्रतियोगिताहरूमा हस्तक्षेपकारी भूमिका यसले बनाएको छैन। तर उसले यस्ता पूर्वाधार र वातावरण बनाएको छ जसका कारण यो देश क्रिकेटमात्रै होइन फुटबल, फर्मुला वान, गल्फ, टेनिसलगायत खेलका विश्वप्रतिस्पर्धा नियमित रुपमा आयोजना गर्छ। विश्वका प्रतिष्ठित खेलाडी मात्रै होइन ठूलो मात्रामा पैसा र खेल पर्यटक पनि भित्र्याउँछ।
युएईले सन् २०२२ मा क्रिकेटको एसिया कप आयोजना गर्यो। त्यसअघि उसले सन् २०२१ मा टी-ट्वान्टी विश्वकप आयोजना गरेको थियो। सन् २०२० मा आईपीएलको सबै खेल र २०२१ मा आधा खेल युएईमा भए।
श्रीलंकामा हुनुपर्ने एसिया कप राजनीतिक अस्थिरता र आर्थिक संकटका कारण हुन सकेन र न्यूट्रल भेन्यूमा उपलब्ध पूर्वाधारका कारण त्यो अवसर युएईले नै पायो। २०२१ को टी-ट्वान्टी विश्वकप चाहिँ भारतमा हुनुपर्नेमा त्यहाँ कोभिडको महामारीका कारण युएई र ओमानमा सरेका थिए।
युएईमा क्रिकेटबाट राज्यले मात्रै होइन अब निजी क्षेत्रले पनि प्रशस्त लाभ लिइरहको छ। दुबईका हुने क्रिकेट लिगमा आईपीएल लगायत विश्वका चर्चित लिगमा लगानी गरेका कर्पोरेटका टिम खेल्छन्। इन्टरनेशनल टी-ट्वान्टी लिग, टीटेन लिग, लिजेण्डस् लिगलगायत अनेकन प्रतियोगिता त्यहाँ भइरहेका हुन्छन्।
नेपालमा क्रिकेटसम्बन्धी पर्याप्त पूर्वाधार भएका भए दक्षिण एशियाली मुलुकमा हुनुपर्ने यस्ता प्रतियोगिता मध्यपूर्व नपुग्न पनि सक्थे। दक्षिण एसियामा हिन्दू, मुस्लिम, बौद्धलगायत सबै धर्मका मानिसले मान्ने एउटै सम्प्रदाय क्रिकेट भएकाले यसका पूर्वाधार बनाउन र विश्वस्तरीय प्रतियोगिता यहाँ गराउने सन्दर्भमा नेपालले युएईलाई जित्न सक्थ्यो। जित्नैपर्थ्यो।
विश्वमा क्रिकेटको इपिसेन्टर दक्षिण एसिया हो। मध्यपूर्व होइन। सार्कका सदस्यमध्ये नेपाल, भुटान र माल्दिभ्सबाहेक सबैले टेस्ट खेल्छन्। त्यसमा पनि भारत र पाकिस्तान क्रिकेटका सदाबहार पावरहाउस हुन्। यी दुई मुलुक एकअर्काकहाँ गएर बिरलै मात्रै क्रिकेट खेल्छन्। दक्षिण एसियामा सबैभन्दा न्यूट्रल मुलुकका रुपमा भारत पाकिस्तानलगायतलाई नेपालमा नियमित क्रिकेट खेलाउन सक्ने क्षमता बनाउनेतर्फ नेपालले कहिल्यै सोचेन।
दुबईमा क्रिकेट सुरु गर्नेमध्येका एक श्याम भाटिया त्यहाँको मरुभूमिमा २२ जना उभिएर खेल्ने ठाउँ भेट्न पनि महाभारत हुने गरेको सम्झन्छन्। तर नेपालका पहाडी क्षेत्रमा रहेका उपत्यका र टारहरूमा सुविधासम्पन्न स्टेडियमहरू बनाउन सकिन्थ्यो। मौसम र रमणीयताका हिसाबले पनि ती आकर्षणको केन्द्र बन्न सक्ने थिए। उस्तै पूर्वधार रहँदा दुबईको मरुभूमिको गर्मीभन्दा नेपालको शीतलता नै क्रिकेट आयोजक र खेलाडीको रोजाइ बन्न सक्थ्यो। नयाँ विकसित पर्यटकीय मुलुक युएईलाई परम्परागत गन्तव्य नेपालले खेल पर्यटनमा पनि जित्न सक्थ्यो। तर यसमा पनि युएईले नै बाजी मारिरहेको छ ।
हुन त सारजहाँ क्रिकेट स्टेडियम सन् १९८४ मै बनेको हो। सन् २००४ मा जायेद क्रिकेट स्टेडियम बन्यो र त्यसपछि मात्रै त्यहाँ क्रिकेट पूर्वाधार निर्माणले गति लिन थालेको हो। विगत १० देखि १५ वर्षमा युएईले आफ्नो मुलुकमा क्रिकेटको मानचित्र नै बदलेको छ। इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) को मुख्यालय त्यहीँ छ। नेपालमा भने सन् १९९८ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन थालिएको त्रिवि मैदान अहिले पनि मैदान मात्र नै छ। स्टेडियम बन्न सकेको छैन।
मुलपानीमा क्रिकेट रंगशाला बनाउने भनेर कुरा गर्न सुरु भएको २०६० साल देखि नै हो। २०७१ मा त ठेक्का लागेर पटक पटक अवरोध हुँदै काम भएर अहिले जसोतसो केही घरेलु प्रतियोगिता मात्र गर्न मिल्नेमा सीमित भएको छ। मुलपानीको झारा टार्ने कामले पनि खेल पूर्वाधारमा नेपालको लाजमर्दो नजर देखिएको छ।
क्रिकेटको लोकप्रियता देखेर हौसिएका धुर्मुस सुन्तलीले चितवनमा रंगशालाको जग हाले। तर पर्याप्त चन्दा उठाउन नसकेपछि सरकारलाई जिम्मा लगाएर हिँडे। यसैले बिहीबार त्रिवि मैदानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै क्रिकेट हेर्न पुगेकी भरतपुर महानगरकी मेयर रेनु दाहालसँग दर्शकले चितवनको क्रिकेट रंगशाला बनाइमागे।
बिहीबारको खेल जितेपछि हरेकजसो नेताहरूले खेलाडीलाई हौसदै बधाई दिए। खेल क्षेत्र अघि बढाउनुपर्ने भाषण सामाजिक सञ्जालमा नै हालिदिए। प्रधानमन्त्री प्रचण्डले बधाईसँगै सधैँजसोको सरकारी शैलीमा केही निर्देशन र 'पटके पुरस्कार' घोषणा गरिदिए। खेलाडीसँग फोटो खिचेर हाले। अब उसैगरी 'हल्ला हुने' अर्को खेल नहुँदासम्म खेल क्षेत्र अघि बढाउन आवश्यक पूर्वाधारबारे सबै मौन नै हुन्छन्। बजेटमा खेल पूर्वाधार सधैँ उपेक्षामा नै परिरहन्छ।
विश्व क्रिकेटका दिग्गजहरू नेपाली क्रिकेटमा देखिएको 'समर्थक क्रेज' देखेर सधैँ नै चकित भइरहँदा सरकार भने खेलकुदमा औपचारिकताबाट माथि उठ्न सकेको छैन।
मुंग्रोलाई ब्याट, मोजालाई बल र लौरोलाई स्टम्प बनाएर अभावै अभाव र रहरै रहरमा क्रिकेट खेलेका खेलाडीले जुन उपलब्धि हासिल गरेका छन्, त्यो राज्यले गरेको लगानीको तुलनामा सयौँ गुणा ठूलो हो। खेलाडीले जितेर आएपछि दिने पटके पुरस्कार र त्यस्तै बेला मात्रै 'मुलपानीको रंगशाला के भो हँ' भनेर नेतृत्वले राख्ने चासोले क्रिकेटको विकास हुन सक्दैन।