शनिबार, साउन १२ गते २०८१    
images
images
images

औषधिमा समेत ठगी : नियमविपरित बिरामीसँग चर्को मूल्य असुल्छन् अस्पतालका फार्मेसी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १ २०७९
images
images
औषधिमा समेत ठगी : नियमविपरित बिरामीसँग चर्को मूल्य असुल्छन् अस्पतालका फार्मेसी

मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पताल, नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघर, भक्तपुर इन्टरनेसल अस्पताल कौशलटार र समिट अस्पताल लोकन्थलीमा अनुगमन गर्ने क्रममा अस्पतालका औषधि बिक्री कक्षले नियमविपरीत औषधि बिक्री गर्ने गरेको पाइएको हो।

images

भक्तपुर- भक्तपुरका निजी अस्पतालले बिरामीको उपचारदेखि औषधिमा समेत बढी मूल्य लिने गरेको पाइएको छ। 

images
images

अरनिको राजमार्गसँगै जोडिएका यहाँका ठूला निजी अस्पतालले औषधिमा समेत बिरामीलाई कानूनविपरीत एकसय १० प्रतिशतसम्म बढी मूल्य लिएर औषधि र उपचारका सामग्री बिक्री गर्ने गरेको पाइएको हो।

images

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा यहाँका अस्पतालका औषधि पसलमा गरिएको आकस्मिक अनुगमनमा औषधिमा समेत बिरामीलाई ठगी गर्ने गरेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। उनले भने, ‘अनुगमनका क्रममा यहाँका निजी अस्पतालले सञ्चालन गरेका फार्मेसीले नियमविपरित चर्को मूल्यमा बिक्री गरेको र नार्कोटेकजस्ता आषधि पनि सँगै राखेर बिक्री गरेको पाइएको छ।’

अनुगमन समितिले मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पताल, नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघर, भक्तपुर इन्टरनेसल अस्पताल कौशलटार र समिट अस्पताल लोकन्थलीमा अनुगमन गर्ने क्रममा अस्पतालका औषधि बिक्री कक्षले नियमविपरीत औषधि बिक्री गर्ने गरेको पाइएको हो। अनुगमनका क्रममा भक्तपुर इन्टरनेसल अस्पतालको फार्मेसीले नियमभित्र रहेर औषधि बिक्री गरेको तर मध्यपुर, नागरिक कम्युनिटी र समिट अस्पतालका फार्मेसीले भने चर्को मूल्य लिएर औषधि तथा औषधिजन्य पदार्थ बिक्री गरेको पाइएको उनले जानकारी दिए।

images

यहाँका अस्पतालका फार्मेसी सञ्चालकले ३२ देखि एकसय १० प्रतिशतसम्म बढी मूल्य लिएको अनुगमनका क्रममा पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले जानकारी दिए। उनका अनुसार सर्जिकल सामग्रीमा अत्यधिक मूल्य वृद्धि गरेर बिक्री गरेको पाइएको छ।

नागरिक अस्पताल फार्मेसीले लागूऔषधका रुपमा प्रयोग हुने नार्कोटेक लगायतका औषधि पनि एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको बताइएको छ। नियमानुसार यस्ता औषधि छुट्टै राख्नुपर्ने र चिकित्सकको अनुमतिबिना बिक्री गर्न नपाइने भए पनि एकै ठाउँमा राखेर जथाभावी बिक्री गरेको पाइएको उनले बताए।

अनुगमनमा समिट अस्पतालले म्याद नाघेका औषधि पनि सँगै बिक्री गर्ने गरेको पाइएको छ। यस अस्पतालले औषधि राखेको फ्रिजमा तरकारीसमेत राखेको बताइएको छ। स्वास्थ्य कार्यालय भक्तपुरले औषधिमा तरकारी मिसाएर राख्नु गम्भीर लापरबाही भएको अनुगमनकै क्रममा बताएको छ।

अनुगमन समितिका संयोजक एवं सहायक प्रजिअ शर्माले अरनिको राजमार्ग नजिक सञ्चालनमा रहेका अस्पतालका फार्मेसीमा बढी मूल्य लिएर बिरामीलाई औषधि बिक्री गरेको र प्राविधिक कमजोरी गरेको देखिएकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको बताए। नियम विपरीत सञ्चालन भएका अस्पतालका फार्मेसीलाई प्रचलित कानूनअनुसार कारबाही गरिने उनले बताए।

फार्मेसी सञ्चालकले भने अहिलेसम्म अनुगमन नगरेको र फार्मेसीको नाफा अस्पतालका सञ्चालक समितिका सदस्यलाई समेत वितरण गर्नुपर्ने भएकाले महँगो लिनुपरेको बताएका छन्।

भक्तपुरमा अनुगमन हुन बाँकी रहेका निजी अस्पताल अभ्युदय अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, सिद्धिस्मृति बाल अस्पतालका साथै यहाँका क्लिनिक तथा औषधि पसलले औषधि र सर्जिकल सामग्रीमा बिरामी ठगेर मनोमानी रुपमा रकम असुल्ने गरेको बिरामीका आफन्तहरुले लामो समयदेखि गुनासो गर्दै आएका छन्। रासस 


प्रकाशित : बुधबार, चैत १ २०७९०९:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend