शनिबार, साउन १२ गते २०८१    
images
images
images

बैंकहरूले लगानी बढाउँदासमेत फागुनमा घरजग्गा कारोबार झन घट्यो

images
बुधबार, चैत १ २०७९
images
images
बैंकहरूले लगानी बढाउँदासमेत फागुनमा घरजग्गा कारोबार झन घट्यो
images

काठमाडौं- बैंकहरूले घरजग्गामा लगानी बढाउँदा पनि फागुनमा घरजग्गा कारोबार घटेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा देशभरका मालपोत कार्यालयहरूबाट ४० हजार ७ सय ३४ लिखत पास भएको छ। जुन माघको भन्दा घटेको हो। माघ महिनामा घरजग्गा कारोबार बढेको थियो। 

images
images

गत माघमा ४१ हजार ८६ कित्ता किनबेच भएको थियो। मंसिरमा भन्दा पुस महिनामा पनि बढेर ३८ हजार ८ सय ७१ पुगेको थियो। गत मंसिरमा २९ हजार १ सय ८४ रहेको लिखत पास भएको थियो। मंसिर र पुसमा भन्दा माघमा कारोबार बढेपछि फागुनमा पनि बढ्ने अनुमान गरिएको थियो। तर फागुनमा कारोबार घटेको हो। कात्तिकमा २७ हजार ९ सय ३९ घरजग्गा किनबेच भएको थियो।   

images

फागुनमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागको तथ्यांक छ। 

पुसमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। मंसिरमा सरकारले घरजग्गा खरिद बिक्रीबाट २ अर्ब ६५ करोड रुपैयाँमात्रै संकलन गरेको थियो। माघ महिनाको घरजग्गाको कारोबार पछिल्लो ४ महिनायताकै सर्वाधिक किनबेच भएको थियो। 

images

बैंकले लगानी बढाउँदा कारोबार घट्यो

घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी बढाउन थालेका छन्। योसँगै कारोबारसमेत बढ्ने अनुमान गरिएको थियो। तर फागुनमा कारोबार घटेको छ।  

बैंकहरूमा निक्षेप बढेसँगै कमर्सियल क्षेत्रको घरजग्गामा बैंकहरूको लगानी वृद्धि गरेका हुन्। बैंकले पनि लगानी बढाउने र कित्ताकाट समेत देशभर खुल्दै गएकोले आगामी दिनमा घरजग्गा कारोबार बढ्ने अनुमान गरिएको छ। विभिन्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले पनि कित्ताकाट खुलाउन थालेका छन्। 

उपत्यकामा पनि जग्गा कित्ताकाट खुलेको छ। उपत्यकामा कित्ताकाट खुलेसँगै घरजग्गा कारोबारमा पुनः लगानीकर्ता फर्किने अनुमान गरिएको छ। जग्गा वर्गीकरण नहुँदा गतवर्षदेखि नै कित्ताकाट खुलेको थिएन। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा व्यक्तिगत आवास र रियल इस्टेटगरी १३ अर्ब ३५ करोड रुपैयाँ प्रवाह भएको छ। जसमध्ये ९ अर्ब २० करोड व्यक्तिगत आवासीय कर्जा र ४ अर्ब १५ करोड रियल इस्टेट कर्जा रहेको छ। 


प्रकाशित : बुधबार, चैत १ २०७९०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend