शनिबार, साउन १२ गते २०८१    
images
images
images

मौसमी तरकारीको उत्पादन घट्दा आयातित तरकारीको मूल्य बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १ २०७९
images
images
मौसमी तरकारीको उत्पादन घट्दा आयातित तरकारीको मूल्य बढ्यो

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले हिउँदे तरकारी पाँचसय ६८ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ भने बर्खे तरकारी सातसय ४६ हेक्टर जमिनमा उत्पादन हुने गरेको छ।

images

उदयपुर- हरियो तथा मौसमी तरकारीको उत्पादनका लागि उदयपुर उर्वर भूमि मानिए पनि उत्पादन घट्दा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ प्रयोग भएको तरकारीको आयात बढ्न थालेको छ।

images
images

फागुनको पहिलो सातासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको उपभोक्ताहरु बताउँछन्।

images

केही समयदेखि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा उत्पादन भएको मौसमी तरकारी सकिएकाले अहिले जिल्ला गाईघाटका उपभोक्ताले आयात गरिएका महँगा सब्जी किनेर खान बाध्य हुन परेको गाईघाट शान्तिनगर टोलकी रमा भट्टराईको गुनासो छ। उनी भन्छिन्, ‘स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारी सकियो, सब्जी व्यापारीहरुले बाहिरबाट विभिन्न रासायनिक पदार्थ हालिएका सब्जीहरु खरिद गरेर ल्याउँछन्, त्यो पनि दोब्बर महँगो मूल्यमा किनेर खान बाध्य भएका छौँ।’ 

भट्टराईका अनुसार फागुन दोस्रो हप्तासम्म स्थानीयस्तरमा उत्पादन गरिएका हरियो तरकारीहरु सस्तो मूल्यमा नै उपलब्ध हुने गरेको थियो तर अहिले दोब्बर महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ। दश दिनअघिसम्म काउली प्रतिकिलो ४० देखि ५० रूपैयाँमा खरिद गरिन्थ्यो, तर अहिले आयातित काउलीको मूल्य प्रतिकिलो एक सयदेखि एकसय २५ रूपैयाँ पुगेको गाईघाट सङ्गमटोल निवासी देवकी थापा बताउँछिन्। 

images

प्रतिकिलो मूला ५० देखि ६० रूपैयाँ रहेकामा एक हप्तापछि एकसय रूपैयाँ प्रतिकेजी पुगेको छ भने अन्य हरियो सब्जीको मूल्य पनि दोब्बरभन्दा बढीले वृद्धि हुनाका साथै बासी, सडेगलेको सब्जी पनि किन्नुपर्ने अवस्था आएको उपभोक्ताले गुनासो गर्न थालेका छन्। 

‘फागुनको पहिलो हप्तासम्म जिल्लाभित्र नै उत्पादन भएका  ताजा सब्जीहरु खरिद गरेर सस्तो मूल्यमा बिक्री गरियो अब जिल्लाभित्र उत्पादन भएको तरकारीहरु सकियो,' गाईघाटका एक सब्जी व्यापारी सुकदेव साह भन्छन्, 'जिल्ला बाहिरबाट सब्जी खरिद गरेर ल्याउँदा बढी मूल्य तिनुपरेकाले बिक्री गर्दा बढी मूल्य लिन बाध्य भएका छौँ।’  

आफूहरुले सब्जी तरकारी खरिद गर्न जिल्लाबाहिर सुनसरी झुम्का, फारवेसगन्ज, भीमनगरसम्म पुगेर ल्याउन पर्दा र खरिद गरिएका स्थानहरुमा नै बासी सब्जीहरु पाइने गरेकाले ताजा सब्जी बिक्री गर्न नसकिएको सब्जी व्यापारीहरु बताउँछन्।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले हिउँदे तरकारी पाँचसय ६८ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ भने बर्खे तरकारी सातसय ४६ हेक्टर जमिनमा उत्पादन हुने गरेको छ। जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका बेलका र कटारी नगरपालिकाका विभिन्न क्षेत्रमा तरकारी खेती हुँदै आएको र त्यहाँका क्षेत्रलाई हरियो तरकारी पकेट क्षेत्र घोषणा गरिए पनि अझै पनि यो जिल्ला तरकारीमा आत्मनिर्भर बन्न सकेको छैन।

कृषि ज्ञान केन्द्रका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले यो जिल्ला अहिलेसम्म पनि मौसमी तरकारी खेतीमा आत्मनिर्भर बन्न नकेका कारण चैत, वैशाख र जेठ महिना बाहिरी तरकारीमा भर पर्नु परेको बताउँछन्। अहिले जिल्लाभित्र काउली, बन्दा, टमाटर गाजर, मूला तथा भिन्डी जिल्ला बाहिरबाट आयात हुने गरेको एक सब्जी व्यापारी राजेश चौधरीको भनाइ छ। रासस 


प्रकाशित : बुधबार, चैत १ २०७९०८:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend