महोत्तरी- महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा नदी, खोलाखोल्सी र सिमसारक्षेत्र खुम्चने र आवासक्षेत्र बढ्दो क्रममा देखिएको छ। बर्दिबास नगरपालिकाको स्थानीय भू-उपयोग परिषदबाट हालै सार्वजनिक जग्गा वर्गीकरण अभिलेखले यस्तो तथ्यांक देखाएको हो।
पछिल्लो सात वर्षमा नदी, खोल्साखोल्सी र सिमसार क्षेत्रको क्षेत्रफल सातसय ३५ हेक्टरले घटेको छ। विक्रम सम्वत् २०७२ साल (सन् २०१७) मा तीन हजार छ सय ६१ हेक्टर रहेको यस्तो क्षेत्र अहिले नक्सांकन गर्दा दुई हजार नौसय २६ मा सीमित भएको हो। यसअघिको नदी, खोल्साखोल्सीमा बाँध, तटबन्ध बाँधिएर उकास भएको यो क्षेत्र अन्य उपयोगमा गएपछि घटेको नयाँ नक्सांकन गर्ने संस्था स्मार्ट सिटी विल्डर्स प्रालि निजगढ बाराका भू-विज्ञ मोहन राउतले बताए।
नगरको यसपालिको भू-प्रकृतिका १० मापदण्डका आधारमा वर्गीकरण गर्नेगरी नगर कार्यपालिकाको कार्यालयले यो संस्थालाई जिम्मेवारी दिएको थियो। अहिले यसै संस्थाका विज्ञबाट गरिएको नक्सांकन अनुसारको वर्गीकरण नै नगरपालिकाले पारित गर्दै सार्वजनिक गरेको हो।
जिल्ला भएर बग्ने सबैजसो नदीको उद्गमस्थल बर्दिबास नगरक्षेत्रमै पर्छ। चुरे पर्वत श्रेणीबाट नदी, खोल्साखोल्सी निस्कने र सिन्धुली जिल्लासँग महोत्तरीको सीमा छुट्टिने सम्पूर्ण चुरे पहाड र यसका शृङ्खला यसै नगरक्षेत्रमा पर्छन्।
यसै अवधिमा नगरको आवास क्षेत्रभने ह्वात्तै बढेको छ। सात वर्षअघि करिब चारसय ७१ (४७० दशमलव ८२) हेक्टर मात्र आवास क्षेत्र रहेको यस नगरमा अहिले यो बढेर दुई हजार सातसय सात हेक्टर पुगेको छ।
बढ्दो सहरीकरणले आवास क्षेत्र बढाएको वर्गीकरण नक्सांकनमा संलग्न अर्का विज्ञ (भू-विज्ञ, इञ्जिनियर) विष्णु महर्जनको भनाइ छ। विक्रम सम्वत् २०७१ साल मंसिर १६ गते तत्कालीन बर्दिबास, किसाननगर, माइस्थान र गौरीबास गाविस समेटेर नगरपालिका घोषणा गरिएको बर्दिबास नगरपालिकामा २०७४ सालको निर्वाचनअघि पहिलेका हाथीलेट, विजलपुरा, पशुपतिनगर र खयरमारा गाविस पनि समेटिएका छन्। नगरमा १४ वडा छन्।
भू-उपयोगको आधारमा वर्गीकृत नक्सा जारी गर्ने पनि बर्दिबास जिल्लाकै पहिलो स्थानीय तह बनेको जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लालकर्णले जानकारी दिए। जिल्लामा सबैभन्दा बढी वन पनि बर्दिबास नगरक्षेत्रमै छ। यस नगरक्षेत्रमा अहिले १८ हजार आठसय ७३ हेक्टर रहेको वर्गीकृत अभिलेखमा उल्लेख छ। सात वर्ष पहिलेको भन्दा वनक्षेत्र चार हेक्टर घटेको नयाँ जारी वर्गीकृत नक्साको तथ्यांक देखाउँदै नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए।
त्यसैगरी कृषि उपयोगमा पाँच हजार चारसय ८३, व्यावसायिक क्षेत्रमा आठसय ८४, सार्वजनिक उपयोगको क्षेत्रमा छसय ४९ खानी तथा खनिज क्षेत्रमा ११ हेक्टर (लगभग), सांस्कृतिक पुरातात्विक क्षेत्रमा ०५ दशमलव ४९ हेक्टर र औद्योगिक क्षेत्रमा सबैभन्दा कम शुन्य दशमलव १७ हेक्टर जग्गा वर्गीकरण गरिएको छ। अत्याधुनिक प्रविधिको प्रयोगबाट गरिएको वर्गीकरण वैज्ञानिक र वस्तुनिष्ठ रहेको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ।
नगरपालिकाले जग्गाको उपयोगका आधारमा नौ प्रकृति छुट्याएर वर्गीकरण गरेको छ। यो वर्गीकरणसँगै अब जग्गा किनबेच गर्दा, अंशवण्डा गर्दा स्थानीय नापी कार्यालयमा कित्ताकाट गर्ने बाटो खुलेको छ। यद्यपि कित्ताकाट गर्दा आवास क्षेत्रमा कम्तीमा ०७ दशमलव ७५ (पौने आठ धुर) र कृषि क्षेत्रमा दुई कठ्ठाभन्दा कम नकाटिने वर्गीकरण अभिलेखमा स्पष्ट गरिएको छ।
स्थानीय तहले जग्गा वर्गीकरण नगर्दारगर्न नभ्याउँदा लामो समयदेखि सर्वसाधारणको पारिवारिक अंशबण्डा र किनबेचमा कित्ताकाट रोकिएको थियो। यसले गर्दा कित्ताकाटबापतको संकलन हुने राजस्व पनि प्रभावित थियो। रासस