काठमाडौं- गएको साता संसारकै ठूलो अर्थतन्त्र अमेरिकामा धमाधम बैंकहरू बन्द भए। नियामकीय अनिवार्य पुँजी जुटाउन नसक्दा पछिल्लो साता तीनवटा बैंक बन्द भएका छन्।
यसरी बन्द हुनेमा अमेरिकाकै ठूलो बैंक पनि रहेको छ। बैंकहरू बन्द हुन थालेपछि संन् २००८ कै जस्तै वित्तीय संकटको पूर्वाभास भएको कतिपयको तर्क छ। बैंकहरू डुबेपछि सन् २००८ कै जस्तो सरकारले बैंकलाई उकास्न सरकारले उद्धार गर्छ कि भन्ने आशंकाकै बीचमा सरकारले त्यस्तो नगर्ने भएको छ।
अमेरिकी संघीय सरकारले सन् २००८ को जस्तो काम नगर्ने घोषणा गरिसकेको छ। तर बैंकिङ प्रणाली जोगाउन र प्रणालीप्रतिको विश्वास कायमै राख्नका लागि भने सरकारले काम गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले बैंकिङ संटक समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर छलफल भइरहेको बताएका छन्।
बाइडेनले निक्षेपकर्ताको सुरक्षा र बैंक डुब्नुमा कमजोरी गर्नेहरूलाई कारबाहीको रणनीति लिएका छन्। यसको अर्थ अमेरिकी सरकारले डुबेको बैंकमा सुरक्षण नभएको निक्षेप पनि निक्षेपकर्ताले फिर्ता पाउनेछन्। तर यसका लागि राज्यको ढुकुटी अर्थात् करको पैसा खर्च नहुनेगरि व्यवस्था मिलाउने सरकारले घोषणा गरेको छ।
अमेरिकी निक्षेप सुरक्षण निकायकै कोषबाट यस्तो व्यवस्था मिलाउने विषयमा अमेरिकी केन्द्रीय बैंक, अर्थ मन्त्रालय र सुरक्षण निगमबीचमा छलफल भइरहेको छ।
बन्द भएको बैंक सिलिकन भ्याली बैंक (एसभीबी)लाई अमेरिकी सरकारले उद्धार नगर्ने अमेरिकी अर्थमन्त्री जानेट येलेनले बताइसकेकी छन्। यसअघि सन् २००८ मा अमेरिकी सरकारले वित्तीय सहयोग नै प्रदान गरेर केही डुबेका बैंकहरूको उद्धार गरेको थियो। एसभीबी कोल्याप्स हुँदाको संक्रमण वित्तीय प्रणालीमा फैलन नदिने तर २००८-९ को जस्तो सरकारी स्रोतको प्रयोग गरेर डुबेका बैंकको उद्धार नगर्ने उनको भनाइ छ ।
‘हामी फेरि पनि त्यही गर्दैनौँ जुन सन् २००८ मा गरिएको थियो’ टेलिभिजन च्यानल सीबीएससँगको अन्तर्वार्तामा अमेरिकाको केन्द्रीय बैंककी पूर्वअध्यक्षसमेत रहेकी येलेनले भनेकी छन्। सरकारले एउटा बैंकमा भएको समस्या अर्को राम्रो गरिरहेको बैंकमा नफैलियोस् भन्ने कुराको सुनिश्चितता गर्न चाहेको पनि उनले बताइन्। सन् २००८-९ को वित्तीय संकटको समयमा अमेरिकी सरकारले बैंकहरूको उद्धार गर्ने योजना ल्याएको थियो। उद्योग तथा रोजगारी जोगाउनका लागि डुबेका बैंकलाई उकास्ने स्कीम सरकारले त्यतिबेला गरेको थियो।
अमेरिकी निक्षेप सुरक्षाण निगमले जम्मा २ लाख ५० हजार डलरसम्मको निक्षेपको मात्र बीमा गर्छ। त्यसभन्दा माथि निक्षेप भएकाहरूको के हुन्छ भनेर अहिले चासोका साथ हेरिएको छ। यो बैंकमा रहेको निक्षेपमध्ये ९६ प्रतिशत निक्षेप बीमाले नसमेटेको मिडियाहरूले उल्लेख गरेका छन् ।
ठूलामध्येको २० बैंकमा पर्ने यो बैंकमा प्रविधि कम्पनी तथा सम्बन्ध भएका धनाढ्यहरूको पनि निक्षेप रहेको छ। गत वर्षको अन्तिमसम्म २०९ अर्ब अमेरिकी डलर कूल सम्पत्ति र १७५ अर्ब डलर निक्षेप रहेको यो बैंकको कोल्याप्स सन् २००८ पछिको सबैभन्दा ठूलो आकारको हो। प्रविधि क्षेत्रका कम्पनीमाथि लगानी गर्दै आएको सिलिकन भ्याली केन्द्रित यो बैंकलाई त्यहाँको नियामकले नियन्त्रणमा लिइसकेको छ। सिलिकन भ्याली बैंक स्टार्टअपहरूमा लगानी गर्ने मुख्य बैंक थियो।
सिलिकन भ्यालीको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको यो बैंक कंगाल भएसँगै अरु थप बैंकमाथि चुनौती थपिएको छ। पछिल्लो समय मूल्यवृद्धिसँग जुध्नका लागि भन्दै अमेरिकी केन्द्रीय बैंकले निरन्तर रुपमा ब्याजदर बढाएपछि यो बैंक समस्यामा परेको विश्लेषण गरिएको छ। विभिन्न विज्ञ तथा जानकारहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारहरूमा सिलिकन भ्याली बैंकले यस्तो ठाउँमा लगानी गरेको थियो। ब्याजदर बढ्नेबित्तिकै त्यस्ता कम्पनीको सम्पत्ति घट्यो।
विशेषगरी बन्ड्सहरूमा यस्तो प्रभाव परेको थियो। सम्पत्ति घट्दै गएपछि बैंकले वित्तीय सन्तुलनका लागि विभिन्न स्टार्टअप तथा भेन्चर क्यापिटलहरूबाट पैसा जुटाएको थियो। तर पछिल्लो समय त्यस्ता संस्थाहरूले आफ्नो निक्षेप झिक्नेबित्तिकै बैंक समस्या परेको थियो।
सिलिकन भ्यालीसँगै सिग्नेचर बैंक पनि समस्याग्रस्त भएपछि नियामकले नियन्त्रणमा लिइसकेको छ। पछिल्लो सात दिनमा योसँगै तीन बैंक बन्द भइसकेका छन्। सस्तो ब्याजदर हुँदा सुरक्षाका लागि बन्डमा लगानी गरेका बैंकहरूले पछिल्लो समय ६ सय अर्ब डलर नोक्सानी बेहोरिसकेका छन्। केन्द्रीय बैंकले ब्याजदर बढाउँदा एकातिर बैंकहरूले लगानी गरेको बन्डको लगानी सम्पत्ति घट्यो भने अर्कोतिर निक्षेपकर्ताको खर्च बढ्यो यसको चक्रिय प्रभावमा परेर अमेरिकी बैंकहरू समस्यामा परेका छन्।