बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

४८ घण्टाभित्र अमेरिकामा दुईवटा बैंक 'कोल्याप्स'

शनिबार, फागुन २७ २०७९
४८ घण्टाभित्र अमेरिकामा दुईवटा बैंक 'कोल्याप्स'

अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको यो समस्या अझै बढ्नसक्ने अर्थशास्त्रीहरूले अनुमान गरेका छन्। अधिक जोखिममा आधारित बैंकिङ र गिर्दो सम्पत्तिको प्रभाव बैंकहरुमा देखिनसक्ने उनीहरूको चेतावनी छ।

काठमाडौं- सयुक्त राज्य अमेरिकामा सनु २००८ को वित्तीय संकटपछिकै ठूलो बैंकिङ कोल्याप्स भएको छ। अमेरिकाको २० औँ ठूलो बैंक एसभीबी फाइनान्सियल ग्रुप एकाएक कोल्याप्स भएको छ। 

गत वर्षको अन्तिमसम्म २०९ अर्ब अमेरिकी डलर कूल सम्मपत्ति र १७५ अर्ब डलर निक्षेप रहेको यो बैंक सन् २००८ पछिको सबैभन्दा ठूलो आकारको कोल्याप्स हो। 

प्रविधि क्षेत्रका कम्पनीमाथि लगानी गर्दै आएको सिलिकन भ्याली केन्द्रित यो बैंकलाई त्यहाँको नियामकले नियन्त्रणमा लिइसकेको छ। 

अमेरिकी बैंकिङ प्रणालीको केन्द्रीय निक्षेप सुरक्षण निकायले यसलाई नियन्त्रणमा लिइसकेको छ। यो निकायले बैंकमा रहेको सुरक्षित निक्षेप रिलिज गर्नेछ। 

सिलिकन भ्याली बैंक स्टार्टपहरूमा लगानी गर्ने मुख्य बैंक थियो। सिलिकन भ्यालीको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको यो बैंक कंगाल भएसँगै अरु थप बैंकमाथि चुनौति थपिएको छ। 

पछिल्लो समय मूल्यवृद्धिसँग जुध्नका लागि भन्दै अमेरिकी केन्द्रीय बैंकले निरन्तर रुपमा ब्याजदर बढाएपछि यो बैंक समस्यामा परेको विश्लेषण गरिएको छ। विभिन्न विज्ञ तथा जानकारहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारहरूमा सिलिकन भ्याली बैंकले यस्तो ठाउँमा लगानी गरेको थियो ब्याजदर बढ्नेवित्तिकै त्यस्ता कम्पनीको सम्पत्ति घट्यो।

विशेषगरि बन्डसहरूमा यस्तो प्रभाव परेको थियो। सम्पत्ति घट्दै गएपछि बैंकले वित्तीय सन्तुलनका लागि विभिन्न स्टार्टप तथा भेन्चर क्यापिटलहरूबाट पैसा जुटाएको थियो। तर पछिल्लो समय त्यस्ता संस्थाहरूले आफ्नो निक्षेप झिक्नेवित्तिकै बैंक समस्या परेको थियो। 

पाँच घण्टामै बैंक समस्यामा परेको थियो। अन्तिम समयमा २ अर्ब २५ करोड डलर रकम जुटाउन नसक्दा बैंक समस्यामा परेको थियो। बैंकले बुधबार उक्त रकम जुटाउने घोषणा गर्नेवित्तिकै निक्षेपकर्ताहरू आत्तिएर रकम निकाल्न सुरु गरेका थिए। यो गति यति तीब्र भयो कि बैंकले समाधान गर्ने समय नै पाएन। 

दीर्घकालीन बन्डमा लगानी गरेर यसै पनि घाटामा परेको बैंकका निक्षेपकर्ताहरू पनि टेक कम्पनी थिए। पछिल्लो समय त्यस्ता कम्पनीको आम्दानी घट्ने र सम्पत्ति गिर्न सुरु भएपछि निक्षेप यसै पनि झिक्न थालेका थिए। यस्तो समस्याका मारमा यो बैंक परेको छ। 

अमेरिकामा पछिल्लो ४८ घण्टामै २ वटा बैंक कोल्याप्स भएका छन्। सिलिकन भ्याली बैंकसँगै सिल्भरगेट क्लिप्टो बैंक पनि कोल्याप्स भएको छ। परम्पारगत बैंकहरूले यो बैंकसँग कारोबारको रुची नदेखाएपछि यसको वित्तीय अवस्था बिग्रिएको थियो। क्रिप्टोमा लगानी गर्ने यो बैंकसँग अरु सबै तर्सिएका थिए। क्रिप्टोमा जोखिम बढेकोभन्दै यो बैंकले सबैतिरबाट सहकार्य पाउन छाडेको थियो। 

अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको यो समस्या अझै बढ्नसक्ने अर्थशास्त्रीहरूले अनुमान गरेका छन्। अधिक जोखिममा आधारित बैंकिङ र गिर्दो सम्पत्तिको प्रभाव बैंकहरुमा देखिनसक्ने उनीहरूको चेतावनी छ। कतिपयले सन् २००८ को वित्तीय संकटको पूर्वाभास पनि भनेका छन्। यद्यपि अहिलेको समस्या कसरी विकसित हुन्छ र समाधान कसरी गरिन्छ भन्नेमा भर पर्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : शनिबार, फागुन २७ २०७९००:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend