बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

रसुवाको हिमाली भेगमा बढे पर्यटक, ७ महिनामा एक करोड ८० लाख बढी राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २६ २०७९
रसुवाको हिमाली भेगमा बढे पर्यटक, ७ महिनामा एक करोड ८० लाख बढी राजस्व संकलन

रसुवास्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकअनुसार गत साउनदेखि हालसम्म १२ हजार छसय ८० आन्तरिक पर्यटकको आगमन भइसकेको र पछिल्लो समय दैनिक २० भन्दाबढी पर्यटकको आगमन भइरहेको छ।

रसुवा- रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ।

हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र आगमन हुने धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डका साथै लाङटाङ्स्थित क्याङ्जेन, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ र नाकथलीलगायत क्षेत्रमा पछिल्लो समय बाक्लो संख्यामा आन्तरिक पर्यटकको पनि आगमन हुन थालेको हो।

रसुवास्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकअनुसार गत साउनदेखि हालसम्म १२ हजार छसय ८० आन्तरिक पर्यटकको आगमन भइसकेको र पछिल्लो समय दैनिक २० भन्दाबढी पर्यटकको आगमन भइरहेको छ।

हिमाली क्षेत्रमा पुगेका विदेशी पर्यटकका लागि खान र बस्न सुविधा पुर्‍याउने उद्देश्यका साथ विसं २०३५ देखि लाङ्टाङको क्याङ्जेनबाट सुरू गरिएको  होटल व्यवसाय अहिले पैदलमार्गका विभिन्न स्थानमा सञ्चालनमा छन्। पहिलो पर्यटन व्यवसायी स्व रेञ्जेन दोर्जे तामाङ ज्याङ्वाले चौँरी गोठबाट होटल तथा लज सुरू गरेका स्थानीय लाङ्टाङवासीले बताए। 

गत साउनदेखि माघ मसान्तसम्म सार्क राष्ट्रका दुईसय ४५ एवं अन्य देशका चार हजार सातसय पाँच जनासमेत गरी चार हजार नौसय ५० जनाले निकुञ्जको हिमाली क्षेत्रमा भ्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए। उनका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकको प्रवेश शुल्कका साथै अन्य गतिविधिबाट कुल एक करोड ८० लाख २० हजार छसय ६४ रूपैयाँ आय भएको छ।

गत आवमा एक करोड ७५ लाख २३ हजार छसय रूपैयाँ १४ संकलन गरेको निकुञ्जले यस वर्षको सात महिनाकै अवधिमा उल्लेखनीय राजस्व वृद्धि गर्न सफल भएको निकुञ्जका वन प्राविधिक सुनिल राउतले जानकारी दिए।

विसं २०७२ को भूकम्पपछि फाट्टफुट्ट आगमन सुरू भएको आन्तरिक पर्यटकको संख्या हिजोआज निकै वृद्धि भएको र यो हिसाबले बढ्ने हो भने आगामी दिनमा वार्षिक २० हजार भन्दाबढीको आगमन हुने पर्यटन व्यवसायीले अपेक्षा गरेका छन्।  

पर्यटकका लागि गुणस्तरीय बासस्थान मिलाउन उत्तरी रसुवाका विभिन्न स्थानमा साना ठूला तीन सयभन्दा बढी पर्यटकीय होटल सञ्चालन भइरहेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान) ले बताए।

यस्तै आकाश मार्गबाट हिमाली सम्पदाको अवलोकन र पवित्र तीर्थ गोसाइँकुण्डको स्नानका लागि हेलिकोप्टर प्रयोग गर्ने यात्रुको सङ्ख्यासमेत क्रमशः बढ्न थालेको छ। हेलिकोप्टरको उडान भर्ने प्रायः सबै एयरलाइन्सले सेवा दिने गरेका कारण पवित्र तीर्थमा ज्येष्ठ नागरिकलाई लगेर स्नान र पूजाआजा गराउन सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

हेलिकोप्टर कम्पनीले उडान भरेबापत कम्पनीको आयवृद्धि हुनाका साथै राज्यकोषमा अवतरण शुल्कबापत राजस्वसमेत दाखिला हुँदै आएको छ। विभिन्न नौवटा यात्रुवाहक हेलिकोप्टर कम्पनीले काठमाडौं-गोसाइँकुण्डको उडान-अवतरण शुल्कबापत नौ लाख ६७ हजार छसय ५० रूपैयाँ गत वर्ष राज्यकोषमा दाखिला गरिसकेको निकुञ्ज कार्यालयले जनाएको छ।

गत साउनदेखि पुस मसान्तसम्मको अवतरण शुल्कबापत पाँच वटा कम्पनीबाट दुई लाख ५२ हजार रूपैयाँ राजस्व दाखिला भइसकेको र राजस्व दाखिला नगर्ने कम्पनीलाई भने ताकेता गरिहेको जनाइएको छ। रासस 


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend