शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

गड्यौलाको मल उत्पादन गरेर राम्रो आम्दानी गर्दैछिन् माया, बजारको माग धान्नै मुस्किल

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २६ २०७९
images
गड्यौलाको मल उत्पादन गरेर राम्रो आम्दानी गर्दैछिन् माया, बजारको माग धान्नै मुस्किल

'अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन, तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन्।'

images
images

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छिन्। गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लागेकी हुन्।

images
images
images

'दुई वर्षअघि बैंकबाट पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ', उनले भनिन्, 'अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ।'

images
images

जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताइन्। मल उत्पादनका लागि उनले बाख्रापालनसमेत गरेकी छिन्। रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन्। 'रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ' उनले भनिन्, 'केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे।' 

images
images

पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशी बताउँछिन्। 'अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन', उनले भनिन्, 'तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन्।' उनले मल र बाख्राबाट वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन्।

गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताइन्। 'कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ', उनले भनिन्, 'बेला-बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन।'

गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ। यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ। गड्यौला मल प्रतिकिलो ३५ रुपैयाँका दरले बिक्री हुने गरेको जोशीले बताइन्।

उनले भनिन्, 'गड्यौला प्रतिकिलो तीन हजार रुपैयाँका दरले बिक्री हुन्छ।' जोशीले गड्यौला र मल दुवै बिक्री गर्दैआएकी छिन्। पछिल्लो समय यहाँका अन्य किसानले पनि गड्यौला मलको उत्पादन गर्न थालेका छन्। 'यसमा धेरै मेहनत लाग्दैन, एकपटक गड्यौला ल्याएर राखे पुग्छ', जोशीले भनिन्। रासस


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९०४:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend