काठमाडौं- सेयर बजारमा गत भदौ २ गते नेप्से परिसूचक ३१ सय ९९ बिन्दुमा पुगेर नयाँ कीर्तीमान कायम भएको थियो। त्यसपछि निरन्तर ओरालो लागेको सेयर बजार कात्तिक ४ गतेसम्म आइपुग्दा नेप्से परिसूचक २५ सय ५७ बिन्दुमा रोकिएको छ।
बजार निरन्तर रुपमा ओरालो लाग्ने क्रम नरोकिएपछि सेयर विश्लेषकहरूले सरकारी नीतिका कारण समस्या आएको बताउन थालेका छन्। कोभिडपछि सेयर बजारमा बुलिस ट्रेन्ड सुरु भएको थियो। बुलिस ट्रेन्ड सामान्यता ४ देखि साढे ४ वर्षको हुने भए पनि सरकारी नीतिका कारण सेयर बजारमा नकारात्मक असर परेको विज्ञदेखि निजी क्षेत्रसम्मको भनाइ छ।
सेयर बजारमा नकारात्मक असर पर्नुको पछाडि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको सेयर धितो कर्जामा कडाइ र निक्षेपमा बैंकले ब्याजदर बढाउनु नै हो।
सेयर कारोबारमा कृतिम, अस्वभाविक भन्ने हुँदैन। यी सबै भ्रम र हल्ला मात्रै हुन्। तर हाम्रो कारोबार प्रणालीको कमजोरीका कारण फेक माग र आपूर्ति भने देखाउने गरेको सेयर विश्लेषक रवीन्द्र भट्टराई बताउँछन्।
बैंकहरूले गरे जस्तो किसिमको फन्डा सेयर बजारमा देखिँदैन। सेयर भनेको खरिद र बिक्री अर्डर देखिने गरेर कारोबार हुने विषय हो। सेयरको मूल्य बिक्रीको चाप बढेपछि घट्छ। खरिदको चाप बढेपछि बढ्छ। यो त सर्वमान्य र स्वभाविक विषय भएको उनको भनाइ छ।
सूचकहरू कसरी प्रभावित हुन्छन्, वास्तविकता नबुझेपछि कसैले सुनेको भरमा धेरै भो भन्दिने, अप्राकृतिक भनेर भन्दिने चलन रहेको भट्टराईले बताए। यसका आधारमा सेयर परिसूचक यति हुनु पर्छ योभन्दा तल भए कमै छ वा योभन्दा माथि गए धेरै भयो भनेर नाप्ने वा मूल्यांकन गर्ने आधार अहिलेसम्म भेटेको छैन।
तर कुनै कम्पनी विशेषको मूल्यको विश्लेषण गर्न भने धेरै टुल्सहरू विकास भएका उनले बताए। लगानीकर्ताले सेयर कर्जामा लगाइएको ४/१२ करोडको सिलिङ खारेज गर्न माग गर्दै आइरहेका छन्। राष्ट्र बैंकले साना लगानीकर्ताको पहुँचमा सेयर धितो कर्जा पुगोस् भनेर यो सिलिङ लगाएको बताउँदै आएको छ।
यो सिलिङ हटाइदिन लगानीकर्ताले अर्थमन्त्री लगायतका शक्तिकेन्द्रमा गएर अनुरोध गर्दै आइरहेका छन्। अर्थमन्त्रीले निर्देशन दिए पनि यो विषयमा गभर्नर महाप्रसाद अधिकारीले वास्ता गरेका छैनन्।
सेयर बजारमा बुलिस ट्रेन्ड सकिएको छैन, अझै बढन सक्छ : पूर्वअर्थसचिव शंकरप्रसाद अधिकारी
सेयर बजार घट्ने र बढ्ने स्वभाविक प्रक्रिया नै हो। अहिले अलि धेरै नै बढेको थियो। करेक्सन हुन पर्ने त थियो नै। तर, बढी नै घटेको हो। यसमा राष्ट्र बैंकको मौद्रिक नीतिको असर बढी देखिन्छ।घट्छ भनेर आकलन भइसकेको थियो। तर यति नै धेरै घट्छ भनेर आकलन थिएन्। अलि कम घट्थ्यो होला बढी नै घट्यो।
यी सबै असरको प्रमुख कारण आर्थिक वर्ष २०७८/०७९ का लागि राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा गरेको केही व्यवस्थाले नै हो। मौद्रिक नीतिले मार्जिङ ल्याण्डिङमा राष्ट्र बैंकले सीमा तोक्यो जसका कारण सेयर बजार घट्न थाल्यो। जुन अहिलेसम्म पनि निरन्तर नै रहेको छ।
सेयर धितो राखेर लिन कर्जामा एउटा परिवारले १२ करोड र सिंगल व्यक्तिले ४ करोड रुपैयाँभन्दा बढी लिन नपाउने सीमा तोकेको थियो। जसको प्रभाव प्रत्यक्ष रुपमा सेयर बजारमा देखियो। अर्को सीसीडी रेसियो हटाएर सीडी रेसियो जाने नयाँ व्यवस्था गर्यो। यसको असर पनि सेयर बजारमा देखिएको हो।
डिपोजिट र कोर क्यापिटल जोडेर आउने रकममा निश्चित प्रतिशत सम्म ऋण लगानी गर्न पाउने व्यवस्था थियो। अर्को माइक्रोफाइनान्सले २० प्रतिशत भन्दा बढि लाभांश बाड्ने हो भने जति बढि बाड्ने हो त्यसको ५० प्रतिशत रिजर्भमा राख्नु पर्ने व्यवस्था गर्यो। यसको प्रत्यक्ष असर पनि सेयर बजारमा देखिएको छ।
अर्को कारण बैंकको ब्याजदर हो। बैंकको ब्याजदर बढेपछि सेयर बजारमा असर देखिएको हो। निक्षेपमा ब्याज बढेपछि सेयर बजारमा लगानी गर्ने रकम बैंकमा राख्नको संख्या र रकम बढ्यो। कतिपयले त सेयर बेचेर रकम बैंकमा डिपोजिट गरे। अर्को ब्याजदर बढेपछि लोन लिन निरुत्साहित भए। सेयर धितो राखेर लोन लिनहरू निरुत्साहित भए।
जसको असर सेयर बजारमा देखियो। बैंकले ब्याजदर घटाउए पछि एक दिन मात्रै सेयर बजारमा केही सकारात्मक प्रभाव देखिएको थियो। तर अर्को दिन त्यो उत्साह रहेन। फेरि पनि राष्ट्र बैंकको निर्देशन पछि बैंकहरूले अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतभन्दा बढी नहुने गरी घटाएका हुन्।
राष्ट्र बैंकले दिएकै निर्देशन अनुसार बैंकहरूले मंसिरमा फेरि कात्तिक महिनाको ब्याजमा १० प्रतिशत भन्दा बढि नहुने गरी ब्याजदर बढाउन सकछन्। यसले गर्दा पनि सेयर बजारमा तत्काल नै सुधार आउला भनेर भन्न सक्ने अवस्था छैन। यसले धेरै असर गरेको छैन र नगर्न पनि सक्छ।
आगामी दिनको कुरा गर्दा सेयर बजारमा साइकल हुन्छ। सेयर बजारमा बुलिस र बेयरिस साइलक हुन्छ। सामान्यत बुलिस साइकल ४ देखि साढे ४ वर्षसम्मको हुन्छ। बेयरिस साइकल साढे ३ देखि ४ वर्षसम्मको हुन्छ भने प्रचलन छ। अहिले पनि बुलिस साइकल सिद्धिएको भन्ने नै छ।
अहिले केही समय घटे पनि अझै बढ्छ भन्ने नै छ। फेरि कसैले बेयरिस ट्रेन्डमा गयो अब सेयर बजार बढ्दैन पनि भनिरहेका छन्। तर बुलिस साइकल नसकिएको हुँदा अझै सेयर बढ्छ भन्ने धारणा नै छ।
के भन्छ निजी क्षेत्र
नेपालको पुँजी बजार गतिशील भएको अवस्थामा ब्रेक लाग्नुको कारण सरकारकै कमजोरी रहेको निजी क्षेत्रको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघले त पुँजी बजारको इतिहासमा सर्वाधिक राजस्वसमेत प्रदान गर्न सफल रहेको अवस्थामा सरकारकै कमजोरीका कारण समस्या आएकोसमेत बताइसकेको छ।
डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख पुगिसकेको छ। आकर्षण बढ्दै गएको अवस्थामा भविष्यको समेत चिन्ता दिनुपर्ने बेला आएको महासंघले भनाइ छ।
मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरूको हस्तक्षेप हुनु, बैंक तथा वित्तिय र बीमा कम्पनीहरूको लगानी सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्नुले पनि सेयर बजारमा ब्रेक लागेको ठहर महासंघले छ।
सूचीकृत कम्पनीले आफ्नो आवश्कताअनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरिद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण सेयरबजारमा असर परेको देखिने हो।
पुँजी बजारसम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरूसँग पनि छलफल र विमर्श गर्नु पर्ने महासंघको भनाइ छ।
सम्रगमा बजार घट्नुका प्रमुख कारण
पछिल्लो डेढ वर्षको अवधिमा नेप्से परिसूचक १९० प्रतिशत बढ्यो। त्यसैले बजार घट्नुको पहिलो कारण करेक्सन हो। १९० प्रतिशतले सुधारिएको बजारमा १६ प्रतिशतको करेक्सन भइसकेको छ। बजार विश्लेषकहरूले यो करेक्सन २५०० सम्म आउन सक्ने आँकलन गरिरहेका छन्। जसले गर्दा पनि बजार लगातार तल झरिरहेको छ।
दोस्रो कारण, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारलाई निरुत्साहित पार्ने आँकलनसहित सेयर बिक्री गरेर बसेकाहरू सक्दो बजार घटाएर खरिद गर्न खोजिरहेका छन्। मौद्रिक नीति पछिको सेयर कारोबार हेर्यो भने ५ देखि १० अर्ब बीचमा कारोबार भइरहेको छ। जब कि असार साउनमा दैनिक १८/२० अर्बको कारोबार हुने गर्थ्यो।
तेस्रो कारण, ब्रोकरहरूले आफू निकट लगानीकर्तालाई सेयर खरिद नगर्न सुझाव दिँदै आएका छन्। भौद्रिक नीति अगाडि सेयर बिक्री गरेर बस्नेमा ब्रोकर पनि थिए। उनीहरूले आफ्नो सर्कल वरपरका लगानीकर्तालाई बजार २९०० हुँदा नै सेयर खरिद नगर्न सुझाव दिँदै आएका थिए।
अझै पनि उनिहरूले सेयर खरिद नगर्न सुझाव दिँदै आएका छन्। अझै पनि ब्रोकरहरूले बजारलाई तलमाथि पार्ने ताकत राख्छन्। यस अवधिमा कतिपय ब्रोकरहरूले लगानीकर्ताको लिमिट नै हटाइदिएका थिए। जसले गर्दा बजार घट्ने माहोल क्रियट भयो।
चौथो कारण, लामो समयदेखि सेयर होल्ड गरेकाहरूलाई अहिलेको मूल्यमा पनि प्रयाप्त मुनाफा छ। यसरी होल्ड गर्ने लगानीकर्ताहरू बजार अलिकति बढ्ने वित्तिकै बिक्री गरेर बाहिरिन खोजिरहेका छन्। सस्तो मूल्यमा सेयर खरिद गर्ने हाबी हुँदा हुँदै पनि नाफा बुक गर्नेका कारण बजार माथि जान सकिरहेको छैन।
पाँचौ कारण, लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएको बखतमा बजार झिरेका लगानीकर्ताले सेयर बिक्री गरेर आफ्नै व्यापार व्यवसायमा फर्किएका छन्। उनीहरूले सेयर बजारबाट कमाएको पैसा लिएर व्यापारका लागि दसैँ तिहारको सामान खरिद गर्न प्रयोग गरिसकेका छन्। जसले गर्दा सेयर बजारमा स्वत तलरता अभाव भयो।
छैठौँ कारण, बैंक व्याजदर हो। असोज महिनाका लागि बैंकहरूले निक्षेपको व्याजदर ह्वातै बढाएका छन्। निक्षेपको व्याजदर बढ्नु भनेको अर्को महिनामा कर्जाको व्याजदर पनि बढ्नु हो। सेयर बजारमा व्याजदरले सबैभन्दा धेरै प्रभावित पार्ने गरेको पाइन्छ । ब्याजदर बढ्दा सेयर बजार घट्छ भने व्यादर घट्दा सेयर बजार बढ्छ।
सातौँ कारण, घट्दो बजारमा बैंकहरूले लगानीकर्तालाई मार्जीन कल गर्न थालिसकेका छन्। बजार बढ्छ अनि बेचेर तिरौला भन्दा भन्दै ५०० अंकले तल झरिसक्यो हरेक दिन बजार घट्न थाले पनि बैंकको सेयर धितो कर्जा तिर्नका लागि पनि पेनिक सेल भइरहेको छ। अहिलेको पेनिक सेल सेयर धितोकर्जा लिनेका कारण भइरहेको छ।
आठौँ कारणऽ रानजीतिक अस्थिरता हो। अर्थसम्बन्धी विनियोजन विधेयक समयमा पारित नहुँदा बजेट होलिडे सुरु भयो। सरकारले खर्च गर्न नसक्ने किसिमका समाचारले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्यो।
बजारलाई घटाउन महत्वपूर्ण भूमिका खेलेका माथिका ८ कारण सधैँ यथावत रहँदैन। बजार जति धेरै तल झर्छ त्यति नै माथि जाने सम्भावना पनि उत्तीकै हुन्छ। बजारमा जति धेरै करेक्सन हुन्छ त्यति नै दिगो हुन्छ। तर एकोहोरो बढ्नु भनेको दुर्घटनाको संकेत हो। सेयर बजार २८ देखि ३२ सयको बीचमा खरिद गर्नेहरू अहिले सबैभन्दा धेरै पेनिक छन्। त्यसैले बजारमा हौसिएर लगानी गर्नु भन्दा आफ्नो क्षमताले भ्याउने जति लगानी गरेर नाफा बुक गर्दै जानु बुद्धिमानी हुन्छ।
के भन्छन् गभर्नर
यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताएका छन्। वाणिज्य बैंकहरूले निक्षेपमा ब्याजदर बढाइरहेको सन्दर्भ तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा गभर्नर अधिकारीले अब ब्याजदर नबढ्ने जिकिर गरेका हुन्। गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर वाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैँ चनाखो रहेको बताएका हुन्।