खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका सुमन राई सात वर्षअघिसम्म राजधानी काठमाडौंमा होटल व्यवसाय गर्थे। काठमाडौंको सिनामंगलमा ‘होटल कल्पबृक्ष’ सञ्चालन गरेका उनको मासिक आम्दानी दुई लाख रूपैयाँसम्म थियो।
छोराछोरीलाई सुविधासम्पन्न ठाउँमा राखेर पढाउने उद्देश्यले २०६३ सालमा श्रीमती सवितासँगै काठमाडौंमा छिरेका सुमन २०७२ वैशाखमा गएको भूकम्पपछि गाउँ फर्किए। नौ वर्ष काठमाडौं बसेर गाउँ फर्किएका राई दम्पती अहिले बुइपास्थित छिप्तीमा कृषि व्यवसायमा जमेका छन्।
यलम्बर नमूना कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेसा अपनाएका सुमनलाई श्रीमती सविताको साथ छ। पहिलो चरणमा २० लाख रूपैयाँ लगानी गरेर ७२ रोपनी जमिनमा कागती खेती सुरू गरेका राई दम्पतीले अहिले बिक्री गर्न थालेका छन्। छिप्तीस्थित आफ्नै खाली जमिनमा राई दम्पतीले उन्नत जातका एक हजार एकसय कागतीको बिरुवा रोपेका छन्। गोडमेल गर्न मासिक १५ हजार रूपैयाँ तलब दिएर उनीहरुले दुईजनालाई जागिरसमेत दिएका छन्।
बहुउद्देश्यीय फार्म सञ्चालन गरेका राई दम्पतीले आवश्यक पर्दा अन्य कामदारसमेत लगाउँदै आएका छन्। दिक्तेल बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह अध्ययन गरेका राई दम्पतीले उत्पादन गरेका कागती दिक्तेल बजार र काठमाडौंमा बिक्री गर्दै आएका छन्। कागती प्रतिकिलो एकसय ५० देखि दुईसय रूपैयाँसम्ममा बिक्री हुने गरेको सुमनले बताए। ‘उत्पादन दिन थालेको पहिलो वर्ष एक हजार दुईसय किलो कागती बिक्री भयो। यस वर्ष टिप्न बाँकी छ’, उनले भने, ‘विगत वर्षमा भन्दा यसवर्ष बढी उत्पादन भएको छ।’
राई दम्पतीको फार्मबाटै पनि कागती बिक्री हुने गरेको छ। फार्ममा हाल सबै बोट सेताम्मे भएर फुल्न थालेका छन्। केहीमा लटरम्म फलेका फल अझै टिप्न बाँकी छ। टिप्न ढिला भएका कारण केही फल भुइँमा झर्न थालेका छन्। कामदारलाई फल टिप्न, गोडमेल गर्न, पानी तथा मल हाल्न भ्याइनभ्याइ छ। हावापानीको हिसाबले सहरभन्दा गाउँ राम्रो भएकाले पुनः गाउँ फर्किएर कृषि व्यवसाय सुरु गरेको सुमनको भनाइ छ।
‘सहरमा गरिने दुःख आफ्नै गाउँमा गर्दा आनन्द आउँदो रहेछ’, उनले भने, ‘गाउँमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो राखेर अर्काको ठाउँमा परिश्रम गर्नुभन्दा आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले फर्किएको हुँँ। अबको केही वर्षमा कागती नै पर्याप्त आम्दानीको माध्यम बन्छ।’
जग्गाजमिन पर्याप्त भएका राई दम्पतीले व्यावसायिक खेतीसँगै राँगा, सुँगुर र बाख्रासमेत पालेका छन्। विसं २०७३ देखि व्यावसायिक खेती सुरू गरेका उनीहरुले यस वर्ष थप २५ रोपनी जग्गामा कागतीको नयाँ बिरुवा रोप्ने तयारी गरेका छन्। अहिलेसम्म करिब एक करोड रूपैयाँ लगानी गरिसकेका राई दम्पतीले कागतीसँगै लिची र कफीको समेत व्यावसायिक खेती थालेका छन्। तीन वर्षअघि २२ रोपनीमा क्षेत्रफलमा लगाएको लिचीसमेत फल्न थालेको छ। यस वर्ष कफीको चार हजार बिरुवा रोप्ने तयारी छ।
छिप्तीका सबै घरमा कफी उत्पादन गर्ने उद्देश्यले यस वर्ष २५ हजारभन्दा बढी कफीको बिरुवासमेत उत्पादन गरिएको हिमाली कफी उत्पादक कृषक समूहका अध्यक्षसमेत रहेका सुमनले बताए। ‘एकजनाले मात्र उत्पादन गरेर आम्दानी लिन सम्भव छैन। समूहमा १५ परिवार आबद्ध छौँ। सबैले उत्पादन थाले भने कम्तीमा एउटा सानो उद्योग सञ्चालन गर्न सकिन्छ’, उनले भने, ‘प्रशोधन नगरी बेच्दा बजार अभाव हुन्छ। थोरै उत्पादन बाहिर पुर्याउन सकिन्नँ। त्यसैले सबैले मिलेर उत्पादन गर्ने उद्देश्यका साथ यस पटक निःशुल्क बिरुवा वितरण गर्न लागेका छौँ।’
कृषिका लागि उर्वरभूमि बुइपाका प्राय हरेक घर स्थानीय बासिन्दा केही न केही व्यावसायिक कृषि पेसामा जोडिएका छन्। एक हजार एक सय ३७ परिवारको बसोबास रहेको बुइपाका बासिन्दा लिची, कागती, चिया खेती तथा बङ्गुर, कुखुरा, बाख्रा एवं भैँसीपालन व्यवसायमा जोडिएका हुन्।
कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बुइपाका सबै सामुदायिक वनमा व्यावसायिकरुपमा कफी र एभोकाडो खेती गर्ने तयारी गरिएको वडाध्यक्ष दिनेश राईले बताए। ‘सार्कीडाँडामा यसअघि नै ‘चम्पावती फुड्सफरेस्ट एण्ड रिसोर्ट’ निर्माणको काम सुरु गरिएको थियो’, उनले भने, ‘यो आर्थिक वर्षबाट बुइपाका सबै सामुदायिक वनमा कफी र एभोकाडोको व्यावसायिक खेती सञ्चालन गर्ने योजना बनाएका छौँ।’
कृषिलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले समेत व्यावसायिक कृषि पेसा अपनाउने कृषकलाई अनुदान दिने व्यवस्था गरेको छ। पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेट क्षेत्र निर्धारण गरेर कृषिमा लगानी गर्ने नगरसभाबाटै नीति तथा कार्यक्रम पारित गरेको छ। रासस