काठमाडौं- केही महिनाअघि चीनमा आयोजना भएको चियाको विश्वव्यापी प्रतिस्पर्धामा 'नेपाली ब्ल्याक टी' उत्कृष्ट भयो। विभिन्न स्वादका लागि पठाइएका नेपाली चियाका नमुनाले गोल्ड मेडल जिते।
चिया तथा कफी विकास बोर्डका अनुसार पर्ल गोल्डेन ब्ल्याक टीले ग्राण्ड गोल्ड मेडल जितेको थियो। त्यस्तै अन्य पाँच चियाले स्वर्ण जितेका थिए भने चारवटाले रजत पदक जितेका थिए।
यसरी पदक जित्न सफल चिया उत्पादन गर्ने कम्पनी तथा संस्थालाई बोर्डले गएको साता सम्मान पनि गरिसकेको छ।
चाइना टी मार्केटिङ एसोसिएसनको आयोजनामा भएको दोस्रो वर्ल्ड ब्ल्याक टी क्वालिटी इभ्यालुयसन कम्पिटिसिनमा नेपाली चिया उत्कृष्ट भएका थिए। भारत तथा चिनियाँ चियालाई पछि पार्दै नेपाली चिया उत्कृष्ट भएका थिए।
सो प्रतिस्पर्धामा बोर्डले नेपाल भरका ४० वटा चियाका नमूनाहरू संकलन गरि बोर्डमै भएको टेस्टिङका आधारमा १६ वटा चियाका नमूनाहरू प्रतिस्पर्धाका लागि चीन पठाएको थियो।
प्रतिस्पर्धामा नेपाली चियाले उत्कृष्टता हासिल गरे पनि निर्यातका लागि नेपालमा उत्पादित चियाले प्रत्येक पटक भारतबाट गुणस्तरको परीक्षा पास गर्नुपर्छ। यस्तो परीक्षा पास गर्न उत्तिकै सास्ती पनि छ।
नेपाली चिया उत्पादक तथा निर्यातकर्ताका लागि यो प्रक्रिया निकै झन्झटिलो छ।
नेपाली चियाको गुणस्तर परीक्षण गर्ने अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परिरहेका छन्। चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि आधारभूत मानिने प्रयोगशाला पूर्वाधारसमेत स्वदेशमा उपलब्ध छैन। पूर्वाधार र पहल नहुँदा वार्षिक १० वर्षको चिया निर्यात गर्न सकिने सम्भावना भएपनि अहिलेसम्म वर्षनी चार अर्बभन्दा बढीको निर्यात भएको छैन।
नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन। तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ। उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौँ काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन्। परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताए।
नेपाली चिया उत्पादकहरूले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त ल्याब खोल्न सरकारसँग पटक-पटक माग गरेका छन्। मुलुकमित्र चियाको गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको व्यवसायीहरूको भनाइ छ।
भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यको आधारमा ५० वर्षदेखि एउटै मूल्यमा नेपाली उद्योगी, व्यवसायी चिया बिक्री गर्न बाध्य भएको व्यवसायीहरूको गुनासो छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड विर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकातास्थित सेन्टर फुड ल्याबमा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउँदै आएको बताए। उनले नेपालको कूल चिया उत्पादनको ९९ प्रतिशत प्रदेश नं १ मै उत्पादन हुने हुँदा चिया परीक्षणको ल्याब स्थापना गर्ने तयारी भइरहेको बताए।
उनले मुलुकमै गुणस्तर परीक्षण गर्ने ल्याब सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्यसमेत पाउने बताए। नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ। त्यसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ।
हाल वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ। कूल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी सबै भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ। बोर्डका अनुसार चिया निर्यातबाट बर्सेनि ३ अर्ब ८० करोड विदेशी मुद्राआर्जन हुने गरेको छ। चिया क्षेत्रमा ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्।
नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ वटा सिटिसी गरी ६८ ठूला चिया उद्योग सञ्चालनमा छन्। एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन्। नेपालमा एक सय ६० भन्दा बढी चिया बगान रहेका छन्। चिया खेतीमा १५ हजार भन्दा बढी साना किसान आवद्ध छन्।