बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

तीनअर्बको लागतमा नेपालगञ्ज विमानस्थलमा सुरू भयो टर्मिनल भवन निर्माणको काम

बुधबार, फागुन २४ २०७९
तीनअर्बको लागतमा नेपालगञ्ज विमानस्थलमा सुरू भयो टर्मिनल भवन निर्माणको काम

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका आन्तरिक विमानस्थल स्तरोन्नतिको काम तीव्रताका साथ अगाडि बढाएको छ। प्राधिकरणले विशेषगरी देशभरका आन्तरिक विमानस्थलमा रहेको पुरानो भवनको विकल्पमा आधुनिक सुविधा सम्पन्न टर्मिनल भवन निर्माणको काम सुरु गरेको छ।

प्राधिकरणले विराटनगर, नेपालगञ्ज, महेन्द्रनगर, रामेछाप विमानस्थलमा पनि भवन बनाउने उद्घोष गरिसकेको छ। यसैगरी प्राधिकरणले चितवनको भरतपुर विमानस्थलमा नेपाली सेनाको घोडा प्रजनन केन्द्र लिएर विमानस्थल विस्तार तथा भवन बनाउने उद्घोष गरेको छ।

सोही क्रममा प्राधिकरणअन्तर्गतको नेपालगञ्ज विमानस्थलमा तीन अर्ब रूपैयाँको लागतमा नयाँ भवन निर्माणको काम सुरु भएको छ। नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख सुरेश खनालका अनुसार अहिले निर्माण कम्पनीले टर्मिनल भवन निर्माणको फाउन्डेसनको काम थालेको छ।

IMG-20aff403bc7c81215e9777d5995a747a-V.jpg

टर्मिनल भवन निर्माणको जिम्मा शर्मा एण्ड कम्पनीले पाएको छ। कम्पनीले अहिले टर्मिनल भवन निर्माणका काम थालनी गरिसकेको छ। विमानस्थल कार्यालयका अनुसार निर्माण कम्पनीले एउटा भवनको फाउन्डेसन निर्माणको काम ८० प्रतिशत गरिसकेको र २ वटाको भने फाउन्डेसनको काम सम्पन्न गरिसकेको छ।

फाउन्डेसन निर्माणको काम सकिएको भवनमध्ये एउटामा डण्डी कस्ने काम भइरहेको छ। निर्माण कम्पनीले तीन वर्षमा भवन निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने छ।

नयाँ बन्ने भवनको क्षमतामा पिक आवरमा प्रतिघण्टा १६ सय यात्रु क्षमताको हुने छ। भवनमा बालबालिकाका लागि खेल्ने ठाउँसमेत निर्माण हुनेछ। भवन कुल १३ हजार १ सय ४४ वर्गमिटरमा निर्माण हुनेछ।

साथै पार्किङ, पहुँच मार्ग र ल्यान्ड स्केपिङ आदिको संरचना निर्माण हुने छ। आयोजनाको कुल लागत करसहित ३ अर्ब १ करोड रहेको छ। भवनमा व्यवसायिक प्रयोजनका लागि धेरै स्पेस गरिएको छ।

भवन मूलतः आन्तरिक हवाई यात्रुका लागि डिजाइन गरिए तापनि क्रस बोर्डर उडान अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर आन्तरिक तथा अन्तराष्ट्रिय हवाइ यात्रुलाई समेत सोही भवनबाट सुविधा दिन सकिने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

नेपालगञ्ज विमानस्थल खजुराबाट सन् १९६१ देखि सञ्चालनमा आएको थियो। सन् १९८० मा राँझामा सारी हाल कर्णाली तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा तथा पोखरा विमानस्थलमा समेत हवाई सेवा दिँदै आएको छ।

हाल विमानस्थलको धावनमार्ग १५०० मिट बाट २०० मिटर थप गरि १७०० मिटर बनाइएको छ। रन-वे लाइट र ओभर-ले समेत सम्पन्न भएको छ भने ६ वटा एटीआर वा सोसरहको जहाज पार्क गर्नको निमित्त रिजिट एप्रोनको निर्माणसमेत सम्पन्न भइसकेको छ। 


प्रकाशित : बुधबार, फागुन २४ २०७९०१:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend