सोमबार, पुस ८ गते २०८१    
images
images

खडेरीले चैते धानखेतीमा कमी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २२ २०७९
images
images
खडेरीले चैते धानखेतीमा कमी

हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो।

images
images

उदयपुर- उदयपुरको पूर्वी मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक खडेरीले कमी आउने भएको छ। हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो।

images
images
images

रौतामाई गाउँपालिकाको भुटार, पोखरी, आपटार, मुर्कुची, पुवाँरे क्षेत्रका खोलानालामा पानी सुकेकाले चैते धान रोपाइँमा प्रभाव परेको मुर्कुचीका कृषक दिलबहादुर रिखाम मगर बताउँछन्।
             
कटारी नगरपालिकाको रिस्कु, सोमबारे तथा मरुवा क्षेत्रमा पनि चैते धानखेती घटेको कटारी रिस्कुका दमन दनुवारले बताए। रिस्कु क्षेत्रका साना खोलानालामा खडेरीले पानीको स्रोत नै सुक्दै जान थालेकाले धान रोप्ने काम नै गर्न नसकेको दनुवारले बताए। उदयपुरगढी गाउँपालिकाको दनुवार बेँसी, बर्रे, भलायाडाँडा कालीखोला क्षेत्रमा भने मुश्किलले यसपटक चैते धानखेती गरेको बर्रेका हीराबहादुर अधिकारीले बताए। 
         
लिम्चुङबुङ गाउँपालिकाको जाँते, बासबोटे, ताम्लीछा र छताङ क्षेत्रका खेतमा पनि सिमसार क्षेत्र र खोलाका पानी सुक्दै जान थालेपछि थोरै कृषकले मात्र चैते धानखेती गरेको जाँतेका बृध्वज बुढाथोकीले बताए। 

images

जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र चिलाउने क्षेत्रमा पनि गत वर्षजस्तो अधिकांश खेतमा चैते धानखेती गर्न नसकिएको खाँबुका कृषक देवराज तिमसिना बताउँछन्।

images

जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार उदयपुर जिल्लामा बर्सेनी एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुँदै आएको छ। खडेरीले पानीको स्रोत घट्दा चैते धानखेती गर्न समस्या भएको हुनसक्ने कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले बताए। 

ज्ञानकेन्द्रका अनुसार २०६० सालभन्दा पहिला उदयपुरमा दुई हजार हेक्टर क्षेत्रफलमा उक्त धानखेती हुन्थ्यो। गाउँघरका युवाहरुले गाउँ छाड्ने, विदेश पलायन हुने, गाउँमा जनशक्ति अभाव तथा खडेरीले विगतको तुलनामा धानखेती कम हुँदै गएको जनाइएको छ। रासस 


प्रकाशित : सोमबार, फागुन २२ २०७९१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend