शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

घाँस भण्डारणका लागि किसानले मागे ‘साइलेज मेसिन’

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २२ २०७९
images
घाँस भण्डारणका लागि किसानले मागे ‘साइलेज मेसिन’

व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानले जग्गा भाडामा लिएर घाँसखेती गरेपनि सिँचाइको सुविधा नहुँदा १२ महिना घाँस उत्पादनमा समस्या हुने गरेको दाङ सिर्जनशील पशुपक्षी सहकारी संस्थाका उपाध्यक्षसमेत रहेका व्यवसायी बुढाथोकी बताउँछन्।

images
images

घोराही- घोराही उपमहानगरपालिका-२ का गोविन्दहरि भण्डारीले विगत दुई वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका छन्। बीस लाख लागनीमा राप्ती बोयर ब्राखा फार्म दर्ता गरेर ५० भन्दा बढी बोयर जातका बाख्रापालन गर्दै आएका उनलाई अहिले घाँसको समस्या भएको छ। 

images
images
images

परम्परागत रूपमा थोरै बाख्रापालन गर्ने किसानका लागि खासै समस्या नभए पनि व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानलाई बाख्रालाई खुवाउन आहारको अभाव रहेको  जनाइएको छ। ‘सिजनमा घाँसको समस्या हुँदैन तर अफ-सिजनमा घाँस नै पाइँदैन’, उनले भने, ‘यसले गर्दा व्यावसायीलाई महँगो दाना किन्नुपर्ने हुन्छ र दानाले मात्रै बाख्रापालन गरेर नाफा कमाउन सक्ने अवस्था हुँदैन।’ 

images
images

व्यावसायिक बाख्रापालनका लागि किसानलाई ‘साइलेज मेसिन’ आवश्यक रहेको उनी बताउँछन्। सिजनमा धेरै उत्पादन हुने घाँसलाई साइलेज मेसिनका माध्यमबाट जम्मा गरेर पछिसम्म राख्न सकिने वातावरण बन्यो भने बाख्रापालन गर्ने किसानलाई घाँसको समस्या नहुने उनको भनाइ छ।  

images
images

व्यवसायी भण्डारीका अनुसार उक्त मेसिन २८/२९ लाखमा किन्न सकिने भएकाले स्थानीय सरकारको सहयोग आवश्यक छ । दाना मात्रै खुवाउने, जंगलमा चराएर मात्रै बाख्रापालन गर्नसक्ने अवस्था नरहेकाले व्यावसायिक रुपमा अघि बढ्ने किसानले घाँसलाई स्टोर गरेर राख्न अत्यन्त आवश्यक रहेको उनको भनाइ छ। 

‘नजिकमा वन हुने र वन समूहले चराउन दिँदा चराउने हो तर कतिपय वनजंगलमा बाख्रा चराउन पनि पाइँदैन। त्यस्तो अवस्थामा व्यवसायीलाई साइलेज मेसिन आवश्यक छ’, उनले भने, ‘परम्परागत रूपमा घाँसलाई पछिसम्म खुवाउनका लागि बनाएर राख्ने गरे पनि व्यावसायिक बाख्रापालनका लागि त्यो भरपर्दो छैन।’  

यसैगरी अर्का व्यवसायी प्रशान्त बुढाथोकीले जिल्लामा व्यावसायिक रूपमा लागेका किसानलाई घाँसकै समस्या भएको बताउँछन्। विगत दुई वर्षदेखि घोराही उपमहानगरपालिका-८ दुन्द्रामा जयन्ती पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिक बाख्रापालनमा लागेका उनी उत्पादन भएका बाख्रा बिक्री गर्नुभन्दा पनि पालनका लागि घाँस तथा दाना जुटाउन समस्या हुने गरेको बताउँछन्।

‘जिल्लामा बाख्रापालक किसानलाई घाँसको ठूलो समस्या छ। उत्पादन भएका खसी बिक्रीमा छैन’, उनले भने, ‘सिजनमा खेतबारीमा उत्पादन भएको घाँसले धान्ने गरेपनि सधैँभरिलाई पुग्दैन।’ उनी सिजनको घाँसलाई भण्डारण गरेर राख्नका लागि साइलेज मेसिन भइदिए जिल्लाभरका व्यवसायीलाई पशुपालनका लागि सहज हुने बताउँछन्।

दाङ सिर्जनशील पशुपक्षी सहकारी संस्थाका उपाध्यक्षसमेत रहेका बुढाथोकीले मेसिन उपलब्धका लागि आर्थिक स्रोत जुटे व्यावसायिक घाँस खेतीका लागि करिब १२ बिघा जमिनसमेत खोजिसकेको बताउँछन्। ‘सहकारीले घाँस उत्पादनका लागि जग्गा समेत खोज्ने काम गरिरहेको छ तर मेसिन किन्ने पैसा छैन’, उनले भने, ‘स्थानीय सरकारले सहयोग गरे व्यवसायीलाई ठूलो सहयोग मिल्ने थियो।’ जिल्लामा व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसान बढेपनि घाँसको समस्याका कारण धेरै किसान समस्यामा पर्ने गरेको उनको भनाइ छ। 

व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानले जग्गा भाडामा लिएर घाँसखेती गरेपनि सिँचाइको सुविधा नहुँदा १२ महिना घाँस उत्पादनमा समस्या हुने गरेको व्यवसायी बुढाथोकी बताउँछन्। उनका अनुसार जिल्लामा सहकारीमा आवद्ध ९६ व्यावसायिक किसान जिल्लामा रहेका छन्। बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने भएपछि धेरै युवा वैदेशिक रोजगारी छोडेर यस पेसामा आवद्ध भएका छन्। रासस 


प्रकाशित : सोमबार, फागुन २२ २०७९०८:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend