गलेश्वर- लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ। यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन्। फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन।
बेनी नगरपालिका-२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताए। ‘खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमिनमा मकै रोप्नसमेत ढिलाइ भएको छ’, उनले भने।
गहुँबाली सुकेपछि यहाँका किसान चिन्तित छन्। सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन्। सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताए। उनले भने, ‘खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ। अझै पानी पर्ने छाँटकाँट छैन। यो वर्ष भोकमरी हुने सम्भावना बढेको छ।’
खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका-५ का किसान डेकबहादुर बूढा बताउँछन्। खडेरीका कारण जनजीवन प्रभावित भएको उनको भनाइ छ। सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको उनले बताए। हिमपात हुने समयमा पानी नपरेपछि बालीनाली हुर्कन नपाइ सक्दै गएको किसानको भनाइ छ।
बर्खेबालीमध्येको मकैमा जंगली जनावरले क्षति पुर्याउँदा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ। हिउँदमा खडेरीका कारण उत्पादनमा कमी आउने तथा वर्षामा जंगली जनावरले क्षति पुर्याउने गरेको किसानहरु बताउँछन्। यसरी उत्पादन घट्दै गएपछि खाद्यान्न आयातमा वृद्धि हुने उनीहरुको भनाइ छ।
म्याग्दीमा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय ९८ हेक्टर जमिनमा खेती हुँदै आएको छ। खेती गरिएकोमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ। एक हजार छ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ।
खेतबारीमै सुक्न थाल्यो बाली
यसवर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीन पटक हिमपात भएको थियो। यसवर्ष फागुन अन्तिमसातासम्म पनि हिमपात र वर्षा हुन सकेको छैन। हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्।
सिँचाइको अभावले गहुँ, जौलगायत हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका-२ लमसुङका पलु पुनले बताए। ‘यो समयमा गत वर्ष तीन पटक हिमपात भएको थियो, तर यस वर्ष अहिलेसम्म हिमपात भएको छैन, गत असोजयता वर्षा समेत भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्’, उनले भने।
खेतमा लगाएको गहुँ, जौंँसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका-७ ताकमका स्थानीय दीपक सुवेदीले बताए।
हिमपातको प्रतिक्षामा किसान
यहाँका किसान सिँचाइका लागि हिमपात र वर्षाको पर्खाइमा छन्। हिमपात नहुँदा हिउँदे बालीमा सिँचाइको अभाव भएपछि अन्नबालीको उब्जनी घट्ने सम्भावना बढेको मुनाका किसान थमबहादुर घर्तीको भनाइ छ। समयमै हिउँ नपर्दा पानीका मूल सुक्ने, असिनापर्ने र त्यसले बालीनालीमा क्षति पुर्याउने भएकाले यहाँका किसान हिमपातको पर्खाइमा छन्।
हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन्। हिउँले सेताम्मे ढाकिनुपर्ने हिमालमा हिउँ पग्लिन थालेको छ। पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यसवर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन्।
जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ। हिउँ पग्लिएपछि हिमाल नागिँदै गएका छन्। पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ। मौसम फेरिएर पुस-माघमा हिउँ नपर्ने र फागुन-चैतमा हिउँ पर्ने गरेको स्थानीय बताउँछन्।
हिउँ नपरेपछि धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रङ उडेझैँ फिक्का देखिन थालेका छन्। मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।
समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जंगली फूलहरूमासमेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले जानकारी दिए। रासस