मंगलबार, मंसिर ११ गते २०८१    
images
images

अन्योलमै मेलम्ची : बाँधस्थलको पुनर्निर्माण अझै सुरु भएन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ५ २०७८
images
images
अन्योलमै मेलम्ची : बाँधस्थलको पुनर्निर्माण अझै सुरु भएन

असोजमा सडक खुलाउने योजना बनाएको भए पनि वर्षाको कारणले सकिएको छैन। पूरानो ट्र्याक खोला नजिकैबाट भएकाले अहिले त्यहीँबाट खोल्नुपर्ने छ।

images
images

काठमाडौं- पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनः काठमाडौं उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ।  राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन। यही कात्तिक महिनासम्म वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुल थप क्षति भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। 

images
images
images

आयोजनाले केही समय पहिले नै मर्मत सुरु गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। 'अझैसम्म पनि आयोजनास्थलमा यति नै क्षति पुग्यो भनी यकीन गर्न सकिएको छैन' उनले भने। 

images

सडक नै खुल्न नसकेकाले अझै आयोजनास्थलमा उपकरण लैजान सकिएको छैन। पुलबजार-अम्बाथान सडक ठाउँठाउँमा भासिएकाले वैकल्पिक सडक खुलाउने योजना बनाइएको थियो। वैकल्पिक सडक खुलाउन अझै समय लाग्ने देखिएकाले खोलाको किनारबाट नै सडक खुलाइरहेको समितिले जनाएको छ। हेलम्बु गाउँपालिकाले सडक खुलाइरहेको किम्बुसम्म खोलाबाट नै खोलिएको उनले बताए। उनले भने, 'त्यस माथि सडक बनाउन गाउँपालिकाले समितिसँग थप बजेट माग गरिरहेको छ।' 

images

उपकरण पुग्नका लागि बाटो चाहिने भए पनि त्यो नहुँदा अझैसम्म लैजान सकिएको छैन। गाउँपालिकाले सडक खुलाइरहेकाले ऊसँगको छलफलले कहिलेसम्म खुल्छ भनेर थाहा हुने उनले बताए। यही समयमा वैकल्पिक सडक खुलाउने काम सुरु भएको छ। सूचना अधिकारी पन्तले भने, 'अहिले भइरहेको सडकभन्दा नयाँ ट्याक खोल्नुपर्दा बढी  समय लाग्नसक्छ।' 

समितिले असोजमा सडक खुलाउने योजना बनाएको भए पनि वर्षाको कारणले सकिएको छैन। पूरानो ट्र्याक खोला नजिकैबाट भएकाले अहिले त्यहीँबाट खोल्नुपर्ने छ। खोलामा पानीको बहाव कम भएपछि मात्रै सकिने भए पनि वर्षा नरोकिएकाले तत्काल काम गर्न नसकिएको हो। जुनजुन ठाउँमा क्षति पुगेको छ त्यहाँ बनाउनुपर्ने उनले बताए। उनले भने, 'चनौटेको रातो पुलभन्दा माथि ठाउँठाउँमा सडकमा क्षति पुगेको छ।' 

हेलम्बु गाउँपालिकाले सडक खुलाउन काम गरिरहेको छ। चनौटेमा हिमपाइप राखेर क्रसिङ बनाएको छ। ठाउँठाउँमा काम गरिरहे पनि वर्षा पूरै नरोकिएकाले पुनःक्षति पुगेको आयोजनाले जनाएको छ। 

वर्षाले आयोजनाको सुरुङबाहेक अरु संरचनामा क्षति पुगेको अनुमान गरिएको छ। ‘हेडवर्क’ लगायतका संरचनामा क्षति पुगेको अनुमान गरिए पनि त्यसको यकीन हुन नसकेको उनले बताए । यहाँ रहेका संरचना पुरिएकाले त्यहाँ पुगेका प्राविधिकले अझै क्षति यकीन गर्न नसकेका हुन्। उनले भने, 'उपकरणले पुरिएका संरचना बाहिर ल्याएपछि मात्रै क्षतिको अनुमान गर्न सकिनेछ।' 

आयोजनास्थलमा कैयौँ फिट माथिसम्म पनि नदीजन्य पदार्थ थुप्रिएको छ। एकैपटक त्यसलाई सफा गर्न सकिने अवस्था नरहेको सूचना अधिकारी पन्तले बताए। साँघुरो ठाउँ भएकाले एकैपटक धेरै उपकरण लैजान नसकिने उनले बताए। 

दीर्घकालीनरुपमा थुप्रिएका सबै पदार्थ सफा गर्नुपर्ने भएकाले त्यसका लागि लामो समय लाग्नसक्छ। अहिलेका लागि अस्थायीरुपमा सानो क्षेत्रबाट पानी निकाल्न सकिन्छ कि भन्ने अनुमान गरिएको छ। उपकरण लगेपछि मात्र कसरी त्यहाँ पानी निकालेर र सुरुङमा पठाउन सकिन्छ भनी थाहा हुने उनले बताए। उनले भने, 'अहिले त्यहाँ धेरै नदीजन्य पदार्थ थुपारिएकाले त्यसको व्यवस्थापनको चुनौती छ।' 

खानेपानी मन्त्रालयले यो वर्षभित्र (आगामी चैतसम्ममा) उपत्यकामा पुनः पानी ल्याउन सकिने बताउँदै आएको छ। सडक र यहाँको नदीजन्य पदार्थ सफा गर्न कति समय लाग्छ भनी अनुमान गरेर त्यसैका आधारमा पानी पुनःल्याउने लक्ष्य तोकिएको हो। 

निर्माण सुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो। त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गरिएको भए पनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो। पछिल्लो पटक काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो। काठमाडौँ उपत्यकाको खानेपानीको समस्या हट्न थालेको भए पनि अहिले पुनःसमस्या देखिन थालेको छ। हिउँद लागेसँगै उपत्यकामा खानेपानीको समस्या बढ्ने गरेको छ। 

कार्यतालिकाका आधारमा गत असार १ देखि सुरुङको निरीक्षण थालिएको थियो। तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौँमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन।

आयोजनाको मुख्य संरचनाका रुपमा रहेको सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेर ‘हेडवर्क’ को अन्तिम काम भइरहँदा बाढीले संरचनामा क्षति पुर्‍याएको थियो। अहिले सुरुङ र पानी प्रशोधन केन्द्रमा क्षति नपुगेको भए पनि ‘हेडवर्क’ मा क्षति पुगेको अनुमान गरिएको छ। निर्माण कम्पनीले कामदार बस्न बनाइएका सबै संरचना पनि पुरिएका छन्। 

गत असारभन्दा पहिलेसम्म पहिलो आयोजना सकिएपछि दोस्रो चरणको आयोजनाको निर्माणअघि बढाउन तयारीको काम भइरहेको थियो। दोस्रो आयोजना निर्माणका लागि सडकलगायतका पूर्वाधार निर्माण अघि बढाइएको भए पनि अहिले त्यो ठप्प छ। सरकारले त्यस क्षेत्रमा आगामी वर्षमा पनि पहिराको जोखिम रहेकाले त्यसको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गरिरहेको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ५ २०७८०९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend