काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले यही फागुन १५ गते सोमबार तीनवटा जहाज आकाशमै होल्ड भएको समयमा कतार एयरको जहाज डिसेन्ट भएको विषयमा टावरका कर्मचारीमाथि पनि छानबीन गर्ने भएको छ।
कतार एयरको जहाज कमाण्ड गरिरहेका पाइलटले किन र कस्तो अवस्थामा जहाज डिसेन्ट गरेकोलगायतका विषयमा छानबीन गर्न कमिटीसमेत बनाएको प्राधिकरण प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए। कर्मचारीसँगै उडानका रहेका पाइलटहरूको विषयमा छानबीन हुने उनले बताए।
उनका अनुसार एउटै समयमा अवतरण अनुमति मागेका तर तोकिएकोभन्दा न्यून उचाइमा जहाजलाई झारेर जोखिमपूर्ण अवस्था सिर्जना गरेको विषयमा छानबीन हुने भएको छ।
फागुन १५ गते सोमबार बिहानको साढे आठ बजे विमानस्थल व्यस्त भएको समयमा मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज, कतारको दोहाबाट आएको कतारको जहाज र बुद्ध एयरको जहाजले अवतरण अनुमति मागेका थिए। तर तत्काल अवतरणको समय दिन नसक्ने भएकाले काठमाडौं टावरले निश्चित बिन्दु र उचाइमा होल्डको अनुमति दिएको थियो।
विमानस्थल टावरले गुराँस डाँडामाथिको पोइन्टमा होल्ड गर्ने गरी ११ हजार ५ सय फिटमा बुद्ध एयर, १२ हजार ५ सय फिटमा नेपाल वायुसेवा निगम र १३ हजार ५ सय फिटमा कतार एयरवेजको जहाजलाई अनुमति दिएको थियो। तर कतार एयरको जहाज कमाण्ड गरिरहेका पाइलटले एक्कासी जहाज ७ सय फिट तल झारेका थिए। तर टावरले कतारको जहाजलाई तल झर्न अनुमति दिएको थिएन।
एक्कासी कतारको जहाज तल झरेपछि नेपाल एयरलाइन्सको जहाजमा 'आरए' (रेडियो अल्टिमिटर अलर्ट) आएपछि जहाज कमाण्ड गरिरहेका पाइलटले जहाज ५ सय फिट तल झारेका थिए। पछि टावरले कतार एयरको जहाजलाई अलर्ट गराएपछि जहाज पुन: १३ हजार ५ सयको फिटमा गएको थियो।
टावरले तीनवटै जहाजलाई १/१ हजार फिटको दुरीमा होल्डको अनुमति दिएपनि कतार एयरवेजको जहाज उडाइरहेका पाइलटले सात सय फिट तल झारिदिएको नेपाल एयरलाइन्सका पाइलटले पेश गरेको सुरक्षा प्रतिवेदनमा उल्लेख भएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
नेपाल एयरलाइन्सका पाइलटले उक्त विषय सुरक्षा प्रतिवेदनमा उल्लेख गरेपछि निगमले सीभीआर (ककपिट भ्वाइस रेकर्ड) समेत निकालेर प्राधिकरणमा बुझाउने भएको छ।
अनुमतिबिना जहाज तल झार्ने कतार एयरवेजका पाइलटमाथि छानबीन हुँदै, आरए सिस्टमले जोगाएको थियो दुर्घटना