सोमबार, मंसिर १० गते २०८१    
images
images

अर्थमन्त्री पौडेललाई ९९ अंकको बिदाइ, सेयर बजारमा परिरहेको हो राजनीतिक प्रभाव?

नयाँ सरकार आएयता कुन दिन कस्तो रह्यो बजार?

images
सोमबार, फागुन १५ २०७९
images
images
अर्थमन्त्री पौडेललाई ९९ अंकको बिदाइ, सेयर बजारमा परिरहेको हो राजनीतिक प्रभाव?
images
images

काठमाडौं- नयाँ सरकार बनेसँगै सुधारतर्फ बढ्ने आश गरिएको सेयर बजारमा राजनीतिक स्‍थिरता नदेखिँदा निरन्तर उतारचढावमा रहँदै आएको छ। सीमितको चलखेलमा रहने, नीतिगत साथ नपाउने आरोप खेप्ने गरेको बजारलाई राजनीतिक घटनाक्रमले यसअघिदेखि नै प्रभावित पार्दै आएको छ। 

images
images
images

जुन कारणले सेयर बजार बढेको भनिएका हुन्छन् या जुन कारणले घटेको भनिएका हुन्छन् त्यसमा ठोस आधारहरू देखिँदैन। केही सीमितको स्वार्थमा बजार चलिरहेको आरोपलाई पुष्टी हुनेगरी बजारको गतिविधि देखिन्छ। 

images

अहिले पुन: नेकपा एमाले सरकारबाट हटेर नयाँ अर्थमन्त्री आउने निश्चित भएका बेला बजार स्थिरजस्तो देखिएको छ। सोमबार ३.६५ अंकले घटेर बजार २०२३.५४ बिन्दुमा झरेको छ। 

images

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको बजारमा केही समय लगातार वृद्धि देखिएको थियो। तर वृद्धिपछि चलखेलले बजार पुन: उतारचढावमा पुग्यो। 

अर्थमन्त्री विष्णु पौडेल आउने निश्चित भएको गएको पुस ११ गते १९२४.०९ मा रहेको बजार उनी अर्थमन्त्री नहरने निश्चित भएको दिन सोमबार २०२३.५४ बिन्दुमा पुगेको छ। समग्रमा उनको समयमा बजारमा ९९.४५ अंकको सुधार देखियो। 

अर्थमन्त्री विष्णु पौडेल हुँदा कस्तो रह्यो सेयर बजार?

पुस ११ -

नयाँ गठबन्‍धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिनुअघि गएको पुस ११ गते सोमबार सेयर बजारमा उल्लास देखिएको थियो। अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चाले बजारमा सुधार देखिएको टिप्पणी भइरहँदा ५६.८६ अंकले बढेर बजार १९२४.०९ बिन्दुमा पुगेको थियो। 

पुस १२ - 

पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा सुधार देखिएको थियो। 

पुस १२ गते मंगलबार ५९.८७ अंकले बढेर बजार १९८३.९५ बिन्दुमा पुगेको थियो। 

अर्थमन्त्री विष्णु पौडेलले पनि वर्तमान आर्थिक समस्या समाधानका लागि सबैसँग छलफल गरेर अघि बढ्ने र पुँजी बजारको समस्या समाधानमा ध्यान दिने बताएका थिए। 

पुस १३ -

नयाँ सरकार आएसँगै लगातार दुई दिन उच्च अंकले बढेको सेयर बजारमा तेस्रो दिनको कारोबारमा सामान्य गिरावट देखिएको थियो।

पुस १३ गते बुधबार ११.८१ अंकको गिरावटसँगै बजार १९७२.१५ बिन्दुमा झरेको थियो। जसपछि ठूला लगानीकर्ताको चलखेल कायमै रहेको र बजारले मौसमी सुधारमात्र देखेको बताइएको थियो। 

पुस १४ -

सरकारी आश्वासनसँगै सेयर बजारमा लगानीकर्ताहरू विश्वस्त भइरहेको विश्लेषणबीच पुस १४ गते बिहीबार बजारमा ५६.८८ अंकको वृद्धि देखिएको थियो। 

पुस १७ -

नयाँ सरकार गठन भएको पहिलो साता १६१.१८ अंकले बढेको सेयर बजारमा दोस्रो साता पनि सुधारको बाटो देखिएको थियो। पुस १७ गते आइतबार १७.२६ अंकको वृद्धिसँगै बजार २०४६.२९ बिन्दुमा पुगेको थियो। 

पुस १८ -

पुस १८ गते सोमबार १७.५६ अंकको वृद्धिसहित बजार २०६३.८३ बिन्दुमा पुगेको थियो। सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषण भइरहँदा लगानीकर्ता हौसिएका थिए।

पुस १९ - 

पुस १९ गते मंगलबार बजार ३.०३ अंकले घटेर २०६१.०६ बिन्दुमा रोकिएको थियो।

पुस २० -

पुस २० गते बुधबार ६४.८७ अंकको वृद्धिसँगै बजार २१२५.९४ बिन्दुमा पुगेको थियो।  प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग अर्थतन्त्र सुधारका विषयमा कुराकानी गरेर दिएको निर्देशनको प्रभावका रुपमा वृद्धिलाई हेरिएको थियो। 

पुस २१ - 

पुस २१ गते बिहीबार १७.९२ अंकले बढेर बजार २१४३.७६ बिन्दुमा पुगेको थियो। विश्लेषकहरूले बजारमा केही करेक्सन देखिन सके पनि बजार अब धेरै तल नझर्ने बताएका थिए।

पुस २४ -

पुस २४ गते आइतबार २०.५५ अंकको वृद्धिसहित बजार २१६४.४८ बिन्दुमा पुगेको थियो। वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अघि बढ्ने सरकारो घोषणाको साथ बजारले पाएको थियो। 

पुस २५ -

नयाँ सरकार आएसँगै समग्रमा बजारमा ३०० अंकभन्दा माथिको वृद्धि देखिएको थियो। पुस २५ गते सोमबार सोमबार ४७.१५ अंकको वृद्धिसँगै बजार २२११.७६ बिन्दुमा पुगेको थियो। जतिबेला कारोबार रकममा पनि सुधार देखिन थालेको थियो। 

पुस २६ -

निरन्तर उकालोमा देखिएको सेयर बजारमा पुस २६ गते मंगलबार भने ओरालो देखियो। बजार २१.३५ अंकको गिरावटसँगै २१९०.४२ बिन्दुमा झरेको थियो। त्यसको अघिल्लो दिनमात्रै प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत माग्दै सरकार गठन भएयता सेयर बजारमा देखिएको सुधार सरकारप्रति जनताको विश्वास भएको प्रमाण रहेको बताएका थिए। 

पुस २८ - 

पुस २८ गते बिहीबार ४१.०२ अंकले घटेर बजार २१४९.४१ बिन्दुमा झरेको थियो। लामो समय गिरावट आएको बजारमा केही दिन उचालिएर पुन: उही उतारचढावको अवस्था देखिएको थियो। 

माघ ३ -

माघ महिनामा पहिलो कारोबार हुँदा ३ गते मंगलबार बजार ३२.७२ अंकले बढेर २१८२.११ बिन्दुमा पुगेको थियो। जसले बजारमा विश्वासयोग्य वातावरण बनेको हो या उतारचढावमै रहेको हो भन्ने यकिन नदेखिएको विश्लेषकहरूले बताएका थिए। 

माघ ४ -

माघ ४ गते बुधबार ९.०१ अंकले घटेर बजार २१७३.१० बिन्दुमा झरेको थियो। जतिबेला बजारको उतारचढावको स्थिति देखिएको थियो। 

माघ ५ -

माघ ५ गते बिहीबार भने ५.७१ झिनो अंकले बढेर बजार २१७८.८१ मा पुगेको थियो। कारोबार रकम भने विस्तारै घट्दै गएको देखिएको थियो। 

माघ ९ -

उचाइतर्फ बढेको सेयर बजारमा पुन: उतारचढाव देखिएको थियो। माघ ९ गते सोमबार १३.७१ अंकले घटेर बजार २१६५.१० बिन्दुमा झरेको थियो। 

माघ १० -

उतारचढावमा देखिएको सेयर बजारमा सामान्य सुधार देखिएको थियो। माघ १० गते मंगलबार ८.१४ अं‌कले बढेर बजार २१७३.२४ बिन्दुमा पुगेको थियो।

माघ ११ -

बजारमा लगातार दुई कारोबारमा सामान्य सुधार आउँदा आशा थपिएको थियो। माघ ११ गते बुधबार १०.३७ अंकले बढेर बजार २१८३.६२ बिन्दुमा पुगेको थियो। 

माघ १५ -

सुधारको आश गरिएको सेयर बजारमा निरन्तर उतारचढाव देखियो। माघ १५ गते आइतबार १४.६८ अंकको गिरावटसँगै बजार २१६८.५३ बिन्दुमा झरेको थियो। 

माघ १६ -

बजारमा लगातार गिरावट देखियो। माघ १६ गते सोमबार ४१.०१ अंकले घटेर बजार २१२७.५२ बिन्दुमा झरेको थियो। 

माघ १७ -

बजार ओरालो लाग्ने शिलशिला कायमै रह्यो। माघ १७ गते मंगलबार १५.७४ अंकले घटेर बजार २१११.६३ बिन्दुमा झरेको थियो। 

माघ १८ -

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरेसँगै सेयर बजार पनि थामिएको थियो। माघ १८ गते बुधबार नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ अंकमा पुगेको थियो। 

माघ १९ -

माघ १९ गते बिहीबार २२.१२ अंकले घटेर बजार २०९४.५४ बिन्दुमा झरेको थियो। केही ठूला लगानीकर्ताको वरपर रहने बजारमा पुन: चलखेल देखिन थालेको विश्लेषकहरूले बताएका थिए। 

माघ २२ -

माघ २२ गते आइतबार १.५४ अंकले बढेर बजार २०९६.०८ बिन्दुमा पुगेको थियो। जतिबेला लगानीकर्ता पर्ख र हेरकै अवस्थामा देखिका थिए।

माघ २३ -

माघ २३ गते सोमबार ४.५७ अंकले बढेर बजार २१००.६५ बिन्दुमा पुगेको थियो। 

माघ २४ -

निरन्तर उही बिन्दु वरपर रहेको सेयर बजारमा उछाल देखिएको थियो। माघ २४ गते मंगलबार ७६.६४ अंकले बढेर बजार २१७७.३४ बिन्दुमा पुगेको थियो।

माघ २५ -

एक कारोबारमा उचालिएर सेयर बजार पुन: ओरालो लाग्यो। माघ २५ गते बुधबार ७.१३ अंकले घटेर बजार २१७०.२१ बिन्दुमा झरेको थियो। 

माघ २६ -

माघ २६ गते बिहीबार १२.४३ अंकले बढेर बजार २१८२.६८ बिन्दुमा पुगेको थियो। 

माघ २९ - 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बेवास्तामा परेको सेयर बजार राताम्य भएको थियो। माघ २९ गते आइतबार  ६०.८८ अंकले घटेर बजार २१२१.७५ बिन्दुमा झरेको थियो। 

फागुन २ -

बजारमा केही समयको उछालपछि निरन्तर उतारचढाव देखियो। फागुन २ गते मंगलबार १६.४० अंकले घटेर बजार २१०५.४६ बिन्दुमा झरेको थियो। 

फागुन ३ - 

वृद्धितर्फ बढ्ने आश गरिएको सेयर बजार पुन: निरन्तर ओरालोतर्फ लागेको देखियो। फागुन ३ गते बुधबार १३.९० अंकले घटेर बजार २०९१.५६ बिन्दुमा झरेको थियो। 

फागुन ४ -

राजनीतिक जोडघटाउ बिग्रिरहेको र एमाले सरकारबाट बाहिरिँदा अर्थमन्त्रीबाट विष्णु पौडेल हट्ने हल्लाको प्रभाव बजारमा देखिएको विश्लेषण हुन थालेको थियो। जसले फागुन ४ गते बिहीबार २१.१५ अंकले घटेर बजार २०७०.४१ बिन्दुमा झरेको थियो। 

फागुन ८ -

सुधारतर्फ बढेको भनिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसकेको देखियो। फागुन ८ गते सोमबार २३.६० अंकले घटेर बजार २०४६.८१ बिन्दुमा झरेको थियो। 

फागुन १० -

केही साता लगातार उतारचढावमा रहेको सेयर बजारमा हरियाली देखिएको थियो। फागुन १० गते बुधबार ३३.५७ अंकले बढेर बजार २०८०.३८ बिन्दुमा पुगेको थियो। 

फागुन ११ -

अर्थमन्त्रीबाट विष्णु पौडेल हट्ने हल्लाको प्रभावकै रुपमा बजारलाई लिन थालियो। फागुन ११ गते बिहीबार बजार ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा झरेको थियो। 

फागुन १४ -

फागुन १४ गते आइतबार ४‍.५५ अंकले बढेर बजार २०२७.१९ बिन्दुमा पुगेको थियो। 

फागुन १५ -

एमाले सरकारबाट हटेर नयाँ अर्थमन्त्री आउने निश्चित भएका बेला बजार स्थिरजस्तो देखियो। फागुन १५ गते सोमबार ३.६५ अंकले घटेर बजार २०२३.५४ बिन्दुमा झरेको छ। 


प्रकाशित : सोमबार, फागुन १५ २०७९०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend