बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आन्तरिक उडान गर्ने १६ वायुसेवा कम्पनीको बक्यौता साढे ८ करोडभन्दा बढी, ग्राउन्डेड भएको गुणको ३ करोड २८ लाख

बुद्ध, अल्टिच्युट र कैलाशको बक्यौता शून्य

सोमबार, फागुन १५ २०७९
आन्तरिक उडान गर्ने १६ वायुसेवा कम्पनीको बक्यौता साढे ८ करोडभन्दा बढी, ग्राउन्डेड भएको गुणको ३ करोड २८ लाख

काठमाडौं- आन्तरिक हवाई सेवा प्रदान गर्दै आएका वायुसेवा कम्पनीहरूमा वित्तीय संकट देखिन थालेको छ। वित्तीय संकटकै कारण वायुसेवा कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयलाई विमानस्थलको सेवा लिएबापतको रकम समयमै भुक्तानी गर्न सकेका छैनन्।

विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिक उडानमा रहेका १६ वटा एयर कम्पनीले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता रकम भुक्तानी गरेका छैनन्। विमानस्थल कार्यालय स्रोतका अनुसार बुद्ध, अल्टिच्युट र कैलाश हेलिकप्टरबाहेक १६ वटा वायुसेवा कम्पनीले विमानस्थललाई समयमा तिर्नुपर्ने रकम तिरेका छैनन्। बुद्ध, अल्टिच्युट र कैलाश हेलिकप्टर कम्पनीको बक्यौता रकम शून्य छ। 

डिसेम्बरसम्मको हिसाबमा १६ वटा वायुसेवा कम्पनीहरूले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने रकम ८ करोड ६९ लाख ५० हजार ४ सय १ रूपैयाँ रहेको स्रोतले जनाएको छ। 

जसमा सबैभन्दा बढी २ साता अघिदेखि वित्तीय संकटकै कारण उडान बन्द भएको गुण एयरलाइन्सको रहेको छ। गुण एयरको मात्रै ३ करोड २८ लाख ५६ हजार १ सय ३२ रुपैयाँ बक्यौता रहेको छ।

यसैगरी दोस्रो बढी बक्यौता यती एयरको छ। यती एयरको बक्यौता २ करोड ९४ लाख २१ हजार ७ सय ६४ रुपैयाँ रहेको छ।

३ वटा जहाज भएपनि एउटा मात्रै जहाजबाट उडान गरिरहेको र संकटोन्मुख सौर्य एयरको बक्यौता रकम १ करोड ३२ लाख ६२ हजार २ सय ६१ रुपैयाँ रहेको छ।

यसबाहेक तारा एयरले १ लाख ७६ हजार १ सय ४१, समिट हेलिकोप्टरले १८ लाख ८९ हजार ४ सय २२, समिट एयरले १५ लाख ३५ हजार ७ सय ८१ र सीता एयरले १० लाख १४ हजार ७ सय ७९ रुपैयाँ विमानस्थल कार्यालयलाई तिर्नुपर्ने छ। 

वायुसेवा सञ्चालक संघका अध्यक्षसमेत रहेका क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयरको १ लाख ४२ हजार ६ सय १२, श्री एयरलाइन्सको २२ लाख ३४ हजार ५ सय ४३, प्रभु हेलिकोप्टरको २ लाख ६९ हजार ७ सय १६ र मुस्ताङ हेलिकोप्टरको ११ लाख ८१ हजार १ सय ४५ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ।

यसैगरी माउन्टेन हेलिकोप्टरको ४ लाख ४६ हजार ८ सय ५२, मनाङ एयरको २ लाख ८५ हजार ३ सय ८९,  हेलिएभरेष्टको १९ लाख ६९ हजार ६ सय ७६, अन्नपूर्ण हेलिकोप्टरको २ लाख ३१ हजार ७ सय ८८ र एयर डाइनेष्ट्रिकको ३२ हजार ३ सय ९४ रूपैयाँ बक्यौता रहेको विमानस्थल कार्यालयले जनाएको छ।

एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती 


प्रकाशित : सोमबार, फागुन १५ २०७९०९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend