बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

विदेशी पर्यटकको खर्चबारे पर्यटन बोर्डले थाल्यो अध्ययन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १४ २०७९
विदेशी पर्यटकको खर्चबारे पर्यटन बोर्डले थाल्यो अध्ययन

बोर्डका निर्देशक मणिराज लामिछानेले विदेशी पर्यटकले नेपालमा कति खर्च गर्छन् भनेर यकिन तथ्यांक निकाल्ने लक्ष्यका साथ अध्ययन सुरू गरिएको जानकारी दिए।

काठमाडौं- नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्यांक लिन अध्ययन सुरू गरेको छ। 

बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले आजदेखि सर्भेक्षण सुरू गरेको हो। बोर्डका निर्देशक मणिराज लामिछानेले विदेशी पर्यटकले नेपालमा कति खर्च गर्छन् भनेर यकिन तथ्यांक निकाल्ने लक्ष्यका साथ अध्ययन सुरू गरिएको जानकारी दिए। उनले भने, ‘दुई हजार नमुना संकलन गरिनेछ। बोर्डबाट खटिने पाँच कर्मचारीले हरेक दिन १० वटा प्रश्नको फाराम भरेर ४० दिनभित्र यो काम सक्नेछन्।’ 

बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का विद्यार्थी यो अध्ययनमा संलग्न छन्। नेपालमा विदेशी पर्यटकले कति खर्च गर्छन् भन्ने यकिन तथ्यांक निकाल्न यो अध्ययनले सहयोग पुग्ने निर्देशक लामिछानेले उल्लेख गरे।

उनका अनुसार सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको छ। सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गर्ने गरेका छन्। सन् २०२३ मा यो दर बढेर ७० देखि ७५ डलर पुग्ने निर्देशक लामिछानेको भनाइ थियो।

उनले ‘टुरिज्म स्याटेलाइट अकाउन्ट’ को प्रमुख टुलका रूपमा आजदेखि अध्ययन सुरू गरिएको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय तथ्यांक कार्यालय र नाथमको सहकार्यमा पर्यटकको खर्चसम्बन्धी अध्ययन सुरू गरिएको हो।

पछिल्ला दिनमा विदेशी पर्यटक आउनेक्रम बढेको छ। बोर्डको तथ्यांकअनुसार अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने गएको वर्ष  छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका थिए। 

कोभिड-१९ महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ विदेशी पर्यटक आएकामा सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जनामा खुम्चिएको थियो। त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए। रासस


प्रकाशित : आइतबार, फागुन १४ २०७९०७:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend