बुधबार, जेठ २ गते २०८१    
images
images

पर्यटकले नदेखेको अल्पेश्वर गुफा

images
शनिबार, फागुन १३ २०७९
images
images
पर्यटकले नदेखेको अल्पेश्वर गुफा

स्थानीय गुफाको संरक्षणमा जुटे। सुरुको दिनमा केही बाह्य पर्यटक गुफामा पुगे पनि उचित संरक्षण र प्रचारको अभावमा हिजोआज अल्पेश्वर गुफा पर्यटकविहीन बनेको छ। 

images
images

कुश्मा- डेढ दशक अघि कटुवाचौपारीको जंगल छेउमा एउटा ओडार भेटियो। धेरैले जंगली जनावर लुक्ने स्थल भएको अनुमान गरे। केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे। उनीहरूले त्यो ठाउँ जंगली जनावरको वासस्थान नभएर महादेव शिवको तपस्यास्थल भएको कुरा गाउँभर सुनाए। रातारात पूजाअर्चना र गुफा हेर्न चाहनेको घुइँचो बढ्न सुरु भयो। 

images
images
images

स्थानीय गुफाको संरक्षणमा जुटे। सुरुको दिनमा केही बाह्य पर्यटक गुफामा पुगे पनि उचित संरक्षण र प्रचारको अभावमा हिजोआज अल्पेश्वर गुफा पर्यटकविहीन बनेको छ। 

images

एकान्त र साहसिक गतिविधि मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ। तीन तलाको गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदी खोलामा निस्कन सकिन्छ। गुफामा रहेका ताल तलैया र स-साना झरनाले मन रोमाञ्चित तुल्याउने गर्छ।

images
images

जाडोमा न्यानो र गर्मीमा चिसो हावा बहनु गुफाको फरक विशेषता रहेको अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका पूर्वअध्यक्ष नारायण अधिकारीले बताए। उनका अनुसार गुफाभित्र बनेका आकृतिमा मनले सोचे अनुसार महादेव, पार्वती, शिवलिंग, पाँच पाण्डव, शङ्ख, चक्र, हात्तीको सुँड, आदि प्राकृतिक आकृति आँखाले देख्न सकिने छ। 

images
images

सदरमुकाम कुश्मादेखि १५ मिनेटको पदयात्रामा अल्पेश्वर गुफा पुग्न सकिन्छ। दुई वटा अग्ला तथा लामा झोलुंगे पुल कुश्मा-ज्ञादी र खरेहा-अधिकारीचौर पुल तरेपछि सजिलै गुफामा पुग्न सकिने भए पनि पर्यटक आकर्षित गर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन।

'बाहिर जिल्लादेखि शैक्षिक तथा संस्थागत भ्रमण, पारिवारिक घुमघाम र प्रेमिल जोडी अग्लो पुलको अवलोकन र मज्जा लिन आउने गर्छन् तर उनीहरूलाई छेउमै रहेको गुफासम्म लान सकिएको छैन', स्थानीय राजबाबु पिसीले भने, 'स्थानीय सरकारको पर्यटनलाई हेर्ने दृष्टिकोण साँघुरो छ, पर्यटनसम्बन्धी कुनै चेत नै छैन, उनीहरूले बाटो र भवन बनाउने कुरालाई मात्र विकास सम्झन्छन्।'

समथर र रमणीय ज्ञादीको फाँट हुँदै पुग्न सकिने गुफाको बाहिरी भागबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पञ्चासे र डहरेदेउरालीको लेक देख्न सकिन्छ। अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका पूर्वअध्यक्ष सुरेश पिसीका अनुसार त्यहाँबाट मोदी खोला, कालिमाटीको रमणीय डाँडा र बागलुङको भैरवथान मन्दिरसमेत देख्न सकिने छ। गुफामा विभिन्न प्रजातिका २० हजार बढी चमेरा बस्ने गरेको अध्यक्ष पिसीले बताए।  

साउनको प्रत्येक सोमबार, शिवरात्रि, बालाचदतुदर्शी मेलालगायत हिन्दू धर्मसँग जोडिएको दिनमाबाहेक अन्य समय गुफा सुनसान हुने गरेको छ। 'प्रकृतिले दिएको अथाह सम्पत्तिलाई राज्यले प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो, त्यो भएन। हामीले स्थानीयरूपमा धेरथोर गरेकै छाैँ, त्यो पर्याप्त नहुने रहेछ', अध्यक्ष पिसीले भने, 'जेठदेखि असोजसम्म पानीको बहाव गुफाभित्रै छिर्ने हुँदा पाँच महिना जति गुफामा प्रवेश गर्न सकिँदैन। रेलिङ हालेर पुलजस्तो बनाउन सक्ने हो भने बाह्रै महिना गुफा प्रवेश गराउन सकिन्थ्यो।'

गुफामा हिँड्न सहज होस् भनेर फलामका भर्‍याङ राखिए पनि पूरै जोखिमपूर्ण अवस्थामा छन्। बिजुलीको तार टाँगिएको देख्न सकिन्छ तर बत्तीको सुविधा भने छैन। 'यस क्षेत्र सहरको कोलाहलदेखि वाक्क भएकाका लागि केही छिन भए पनि प्राकृतिक आनन्दको मज्जा लिन सक्ने उचित गन्तव्य हो', घुम्न मन पराउने कुश्माका दिनेश तिवारीले भने, 'गुफाको संरक्षण राम्रोसँग भएको देखिँदैन। साँच्चीकै पर्यटकीय गन्तव्य बनाउने हो भने प्रचारले मात्र पुग्दैन गुफा र त्यस वरिपरिका क्षेत्रमा आकर्षण थप्न सक्नुपर्छ।'

गुफाको ढाँचा हेरेर उत्तरतर्फ बगिरहेको गंगादेखि महादेव शिव प्रकट भई यस गुफामा आएर अल्प भएको किम्वन्दन्तीबाट यस गुफाको नाम अल्पेश्वर राखिएको भनाइ रहेको अध्यक्ष पिसीले बताए। रासस

images

प्रकाशित : शनिबार, फागुन १३ २०७९०८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend