काठमाडौं- सरकारले देशभरका विभिन्न सातवटा सडक निर्माण तथा स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गरेको छ। कतिपय सडकको भने निर्माण प्रक्रियासमेत सुरू भइसकेको छ।
जसमा सबैभन्दा बढी लागतको काँकडभिट्टा-लौकही १ सय २० किलोमिटर सडक ४ लेनमा स्तरोन्नति हुने भएको छ। यो सडक स्तरोनन्नतिको लगानीकर्ता एसियाली विकास बैंक रहेको छ। सडको कुल लागत ५० अर्ब ७७ करोड रूपैयाँ अनुमान गरिएको छ।
यसैगरी सवा ५ अर्बको लागतमा गैरिटाड-कमद बजार- तुर्माखांद-जंगलेघाट-बबियाचौर-चिसापानी १ सय २ किलोमिटर सडकको स्तरोन्नतिका लागि समेत वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ।
कोसी करिडोर अन्तर्गतको चतरा-लेगुवाघाट सडक निर्माणमा ४ अर्ब १७ करोड खर्च हुने गरी वातावरणीय प्रभाव मूल्यांकन भएको छ।
यो सडकको लागत प्रतिकिलोमिटर ६ करोड ६८ लाख रुपैयाँ अनुमान गरिएको छ। साथै सडक विभागले प्रतिकिलोमिटर ४ करोड ४१ लाख रुपैयाँको खर्चमा भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा ३५ किलोमिटर सडक निर्माण हुने गर्ने गरी वातावरणीय प्रभाव मूल्यांकन गरेको छ।
यसैगरी ३० किलोमिटर लम्बाईको कोसी करिडोर अन्तर्गत पर्ने चतरा-मुलघाट सडकसमेत २ अर्ब ६३ करोड २३ लाख ९४ हजार २ सय ५८ रुपैयाँ निर्माण गरिने भएको छ। सडक विभागले सुर्खेत-जुम्ला सडकको बांगेसिमल-सैन खण्ड ६ अर्ब लागतमा २ लेनमा स्तरोन्नति र च्याङथापु-फालोट सडक निर्माणमा प्रतिकिलोमिटर ८ करोड ३२ लाख खर्च गर्ने गरी सडक विभागले वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराएको छ।
सवा ५ अर्बको लागतमा गैरिटाड-कमद बजार- तुर्माखांद-जंगलेघाट-बबियाचौर-चिसापानी १ सय २ किलोमिटर सडकको स्तरोन्नति हुने
सरकारले गैरिटाड-कमद बजार-तुर्माखांद-जंगलेघाट-बबियाचौर-चिसापानी १०२ किलोमिटर सडकको स्तरोन्नति गर्ने भएको छ। करिब सवा ५ अर्बको लागतमा सडक स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरिएको छ। यो सडक खण्ड सुदूरपश्चिम प्रदेशको अछाम र कैलाली जिल्लामा पर्ने छ।
सडक विभागको प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सडक स्तरोन्नतिका लागि वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन पेस गरेको हो। रिपोर्टमा सडक स्तरोन्नतिमा लागि कर सहित ५ अर्ब २३ करोड रुपैयाँ लागने अनुमान गरिएको छ।
सडक सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ र लम्किचुहा नगरपालिका वडा नम्बर ३ र अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर १, २, ५, ६,८,९,१०, ढकारी गाउँपालिका वडा नम्बर ८ र तुर्माखांद गाउँपालिका वडा नम्बर ४,५,७ तथा कर्णाली प्रदेश अन्तर्गत पन्चपुरी नगरपालिका वडा नम्बर ५,६,७,८,१०,११ अन्तर्गतका पर्दछ। प्रस्तावित सडकको कुल लम्बाई १०२ किलोमिटर र विद्यमान चौडाई ५.८ मिटर रहेको छ।
सडक क्षेत्रको क्षेत्राधिकार सडकको बीच रेखाबाट दायाँ बायाँ दुवै तिर १५/१५ मिटर रहने गरी ३० मिटर र फर्मेसन चौडाई ९.५ मिटर रहने रिपोर्टमा उल्लेख छ। यस सडक खण्ड समुद्री सतहबाट २१० मिटर देखि २१२० मिटर को उचाईसम्म रहेको छ। कुल १०२ किमी लम्बाइ रहेको यस सडक खण्डलाई हालको ग्रावेल माटे सडकबाट स्तरोन्नति गरी दोहोरो बिटुमिनस सतह बनाउन प्रस्ताव रिपोर्टमा गरिएको छ। सडक स्तरोन्नतिमा क्रममा ३ हजार ९ सय ७८ वटा रख कटानी हुने छ। रिपोर्टमा सडक स्तरोन्नतिका कामका लागि १ हजार १ सय ७० जना अदक्ष र १ सय ८२ जना दक्ष जनशक्ति आवश्यक पर्ने उल्लेख छ।
कोसी करिडोर अन्तर्गतको चतरा-लेगुवाघाट सडक निर्माणमा ४ अर्ब १७ करोड खर्च हुने, प्रतिकिलोमिटर खर्च ६ करोड ६८ लाख रुपैयाँ
कोसी करिडोर अन्तर्गत पर्ने चतरा-लेगुवाघाट सडक निर्माणमा ४ अर्ब १७ करोड ६ लाख ९९ हजार रुपैयाँ लागत अनुमान भएको छ। वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा ६२.४२६ किलोमिटर सडक निर्माणका लागि उक्त रकम लाग्ने उल्लेख छ।
सडक विभाग भू-वातावरण तथा सामााजिक सुरक्षा शाखाको प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातवरण मन्त्रालयममा पेस भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा सडक निर्माणमा प्रतिकिलोमिटर ६ करोड ६८ लाख १० हजार ३ सय ३ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। यो सकड धनकुटा जिल्लाको तीनवटा गाउँपालिकामा पर्नेछ।
सडकखण्ड साँगुरीगढी गाउपालिकाको वडा नम्बर १०, शहीदभूमी गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ र पाख्रीवास गाउँपालिकाको वडा नम्बर ५, ६ र ८ भएर सडक जाने छ। ६२.४२६ किलोमिटर लम्बाई हुने सडकको ९ मिटर चौडाइ रहने छ। ७ मिटर कालोपत्र र सडकको दायाँ वायाँ १-१ मिटर सोल्जर रहने रिपोर्टमा उल्लेख छ। यो सडकखण्ड सबै नयाँ निर्माण हुने छ। यो सडकले चतरा-धरान र कोसी रार्जमागलाई जोड्छ।
यो सडक खण्ड समुन्द्री सतहबाट १४७ मिटरदेखि ५९४ मिटरसम्म रहेको छ। यो सडक सप्तकोसी नदी र अरुण नदीको किनारा हुँदै जाने छ। सडक सिमाको ५० मिटर भू-उपभोगमा कृषि जमिन १९ हेक्टर, वन क्षेत्र २९२ हेक्टर, झाडी ११.९ हेक्टर, घाँसे मैदान ३.५ हेक्टर र बालुवा जमिन ६.५१ हेक्टर पर्ने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।
आयोजनाबाट निर्माण अवस्थामा तीन वर्षको लागि (८ लाख ३८ हजार ७ सय ३५ मानव दिन दक्ष र २१ लाख १० हजार १३० मानव दिन अदक्ष) स्थानीय जनतालाई रोजगारीको सृजना हुने रिपोर्टमा उल्लेख छ। आयोजना प्रभावित क्षेत्रका गरिब र पिछडिएका जनतालाई पहिला प्राथमिकताका साथ आयोजनाको निर्माण कार्यमा लगाइने हुँदा उनीहरूको सीप विकास हुनेछ।
आयोजनाको निर्माणबाट स्थानीय जनतालाई बाह्रै महिना यातायातको सुविधा हुने विषय पनि उल्लेख छ। उक्त आयोजनाले यातायात सहज हुने तथा यातायातको समय र खर्च घटाउने छ।
आयोजनाले उक्त क्षेत्रमा गरिबी कम गर्न तथा ग्रामीण समुदायमा आर्थिक विकासमा सहयोग गर्ने लक्ष्य लिइएको छ। सडक निर्माण हुँदा बजार, जिल्ला सदरमुकाम तथा अन्य ठाउँमा सहज पहुँच पुग्दछ जसले आर्थिक विकासमा सहयोग मिल्नुको साथै सडक सञ्चालन हुँदा कोशी राजमार्गको धरानधनकुटा सडक खण्डमा यातायातको चाप घट्ने रिपोर्टमा उल्लेख छ। बढ्दो पहुँच र यातायात अवसरले गर्दा अझ आर्थिक, सामाजिक विकास जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, बजार र बैंकिङ सेवाको विकास र विस्तार हुनेछ।
प्रतिकिलोमिटर ४ करोड ४१ लाखमा भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा ३५ किलोमिटर सडक निर्माण हुने
सरकारले भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा ३५ किलोमिटर सडक निर्माण गर्ने भएको छ।सडक निर्माणका लागि हुलाकी राजमार्ग आयोजना निर्देशनालय प्रस्तावक रहँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पेस भएको छ रिपोर्टमा सडक आयोजनका कुल लागत १ अर्ब ५४ करोड ३९ लाख ८५ हजार ४ सय ७० रुपैयाँ रहेको छ।
रिपोर्टमा प्रतिकिलोमिटर निर्माण लागत ४ करोड ४१ लाख १३ हजार रुपैयाँ रहने उल्लेख छ। भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा सडक हुलाकी राजमार्ग आयोजना अन्तर्गत लुम्बिनी प्रदेश, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका वडा नम्बर ९ र विजयनगर गाउपालिका वडा नम्बर १ तथा दाङ जिल्ला, गढवा गाउँपालिकावडा नम्बर १ र २ मा पर्ने छ।
प्रस्तावित सडक खण्ड सुरु विन्दु शिवराज नगरपालिका वडा नम्बर ९ बिचगौरी र अन्तिम विन्दु गढवा गाँउपालिका वडा नम्बर २ कोठारी रहेको छ। यस सडक खण्डको लम्बाइ ३५ किलोमिटर र सडकको क्षेत्राधिकार बीच रेखा बाट दायाँ/बायाँ दुवैतिर १५/१५ मिटर गरी ३० मिटर रहने रिपोर्टमा छ। सडक खण्डको फर्मेशन विथ ११ मिटर छ भने क्यारिज वे ७ मिटर रहेको छ।
चतरा-मुलघाट - कोसी करिडोर अन्तर्गत पर्ने चतरा-मुलघाट सडकको लागत २ अर्ब ६३ करोड २३ लाख ९४ हजार २ सय ५८ रुपैयाँ उल्लेख गरिएको छ। यही आधारमा सडक निर्माणमा प्रतिकिलोमिटर ७ करोड ५२ लाख ११ हजार २ सय ६४ रुपैयाँ लाग्छ। सडक विभाग भू-वातावरण तथा सामाजिक सुरक्षा शाखाको प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातवरण मन्त्रालयममा पेस भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा सडक निर्माणमा प्रतिकिलोमिटर ६ करोड ६८ लाख १० हजार ३ सय ३ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। जुन कुल लम्बाईसँग मेल खाँदैन।
यो सडक सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका र धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पर्नेछ। वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र साँगुरीगढी गाउपालिकाको वडा नम्बर ७, ८, ९ र १० भएर सडक जाने छ। ३० किलोमिटर लम्बाई हुने सडकको ९ मिटर चौडाइ रहने छ। ७ मिटर कालोपत्र र सडकको दायाँ वायाँ १-१ मिटर सोल्जर रहने रिपोर्टमा उल्लेख छ। यो सडकखण्ड सबै नयाँ निर्माण हुने छ। यो सडक सप्तकोसी नदी र तमोर नदीको किनारा हुँदै जाने छ।
सडक सिमाको ५० मिटर भू-उपभोगमा कृषि जमिन ७.५४ हेक्टर, वन क्षेत्र १५२.८२ हेक्टर, झाडी ९.४ हेक्टर र घाँसे मैदान ५.३३ हेक्टर पर्ने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।आयोजनाबाट निर्माण अवस्थामा तीन वर्षको लागि (४ लाख १७ हजार २० मानव दिन दक्ष र १० लाख ५० हजार मानव दिन अदक्ष) स्थानीय जनतालाई रोजगारीको सृजना हुने रिपोर्टमा उल्लेख छ।
आयोजना प्रभावित क्षेत्रका गरिब र पिछडिएका जनतालाई पहिला प्राथमिकताका साथ आयोजनाको निर्माण कार्यमा लगाइने हुँदा उनीहरूको सीप विकास हुने रिपोर्टमा उल्लेख छ। आयोजनाको निर्माणबाट स्थानीय जनतालाई बाह्रै महिना यातायातको सुविधा हुने विषय पनि उल्लेख छ। उक्त आयोजनाले यातायात सहज हुने तथा यातायातको समय र खर्च घटाउने छ।
आयोजनाले उक्त क्षेत्रमा गरिबी कम गर्न तथा ग्रामीण समुदायमा आर्थिक विकासमा सहयोग गर्ने लक्ष्य लिइएको छ। सडक निर्माण हुँदा बजार, जिल्ला सदरमुकाम तथा अन्य ठाउँमा सहज पहुँच पुग्दछ जसले आर्थिक विकासमा सहयोग मिल्नुको साथै सडक सञ्चालन हुँदा कोशी राजमार्गको धरानधनकुटा सडक खण्डमा यातायातको चाप घट्ने रिपोर्टमा उल्लेख छ। बढ्दो पहुँच र यातायात अवसरले गर्दा अझ आर्थिक, सामाजिक विकास जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, बजार र बैंकिङ सेवाको विकास र विस्तार हुने रिपोर्टमा उल्लेख छ।
सुर्खेत-जुम्ला सडकको बांगेसिमल-सैन खण्ड ६ अर्ब लागतमा २ लेनमा स्तरोन्नति हुँदै
लकर्णाली राजमार्गको स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। त्यहीअनुसार कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला सडक खण्डको बांगेसिमल-सैन सडक खण्डको स्तारोन्नतीका लागि वातारणीय प्रभाव मूल्यांकन गराएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले वातावरण मन्त्रालयले उक्त अध्ययन गरेको हो। यो सडक खण्डको स्तरोन्नतिका लागि ६ अर्ब १३ करोड ६ लाख ८४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ।
यो सडकमा हाल ६ मिटरदेखि ५० मिटरसम्मका पुल छन् र निर्माण हुने छन्। अहिले यो सडक खण्डमा १५ वटा पुल सञ्चालनमा छन् भने ५ वटा नयाँ पुल बनाउन प्रस्ताव गरिएको छ। १ सय १२ किलोमिटर सडक खण्डमा हाल कालो पत्रे गरिएको छ भने अब स्तरोन्नति गर्दा अस्फाल्ट कंक्रिट बनाउने भनिएको छ। यो सडकमा बेरिंग कोर्स अस्फाल्ट कंक्रिट ५० मिलिमिटर हुनेछ। सडकको क्षेत्राधिकार ३० मिटरको हुने छ भने ९ मिटरको फर्मेसन चौडाई हुने यो सडक डबल लेनको हुनेछ।
यो आयोजना कर्णाली प्रदेश सञ्चालन हुनेछ। सुर्खेत र दैलेख जिल्लामा बन्ने यो सडकको सुरु बिन्दु सुर्खेतको बांगेसिमल र अन्तिम बिन्दु दैलेकको साईगाउँ रहेको छ। यो सडकको प्रभावित क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ र बराहताल गाउँपालिका वडा नं ५, ७ र ७ तथा दैलेखको गुराँस गाउँपालिका वडा नं १ र २, दुल्लु नगरपालिका वडा नं १, २ र ३, चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं ७ र आठबीस नगरपालिका वडा नं १, २ र ३ रहेका छन्।
यो सडक खण्डको डिजाइन गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ। सडक निर्माणका लागि १३ हजार ५९ मेट्रिक टन सिमेन्ट, ५१ हजार ४ सय ८६ घनमिटर बालुवा, ५ लाख ३१ हजार ८ सय ४५ घनमिटर ढुंगा, १६ लाख ७९ हजार ३ सय ७३ घनमिटर गिट्टी, १५२.८८ टन फलाम र ३२ हजार ५ सय ८६ लिटर बिटुमिन लाग्ने अनुमान गरिएको छ। करिब २ लाख घण्टा विभिन्न मेसिनरी उपकरण चलाउन पर्ने छ। सो समय मेसिन तथा गाडी चलाउनका लागि १४ लाख ५ हजार ५ सय २७ लिटर डिजेल र बिटुमिनमा मिसाउन ८ हजार १ सय ४७.५ लिटर मट्टितेल खपत हुनेछ।
च्याङथापु-फालोट सडक निर्माणमा प्रतिकिलोमिटर ८ करोड ३२ लाख लागत
सडक विभागले पाँचथरमा नयाँ सडक निर्माण गर्ने भएको छ। विभागले च्याङथापु-फालोट सडक निर्माण गर्ने भएको हो। यो सडक पाँचथरको याङवरक गाउँपालिका वडा १ मा बन्ने छ। उक्त सडक निर्माणका लागि सडक विभागले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गराएको छ। वातावरण मन्त्रालयले १८ किलोमिटर सडकको ईआईए गरेको हो।
यो सडकको प्रारम्भबिन्दु याङवरक गाउँपालिकाको च्याङथापु बजार र अन्तिमबिन्दु साही गाउँपालिकाको फालोट रहेको छ। सहायक राजमार्ग स्तरको यो सडक चौडाइ ७.५ मिटर रहेको छ भने पिच हुने भाग ७ मिटर हो। यो आयोजनाको कुल लागत १४ अर्ब ९८ करोड ३५ लाख ५ हजार ३ सय ९७ (मूल्य अभिवृद्धि कर सहित) रुपैयाँ रहेको छ।
यो सडकको प्रतिकिलोमिटर लागत ८ करोड ३२ लाख ४१ हजार ९ सय ६६ रुपैयाँ रहेको ईआईए प्रतिवेदनमा उल्लेख छ। स्ट्यान्डर्ड दुई लेनको यो सडकमा ५० किलोमिटर प्रगिघण्टाको गतिका गाडी कुदाउन सकिने छ। यो सडक ३ वर्षमा निर्माण सकिने अनुमान गरिएको छ।आयोजनाबाट निर्माण अवधिाम ३ वर्षका लागि ९६ हजार ६ सय ९३ जना दक्ष र ३ लाख ३५ हजार २ सय ५४ श्रमिक दिन अदक्ष स्थानीय जवशक्तिलाई सीप र दक्षताको आधारमा रोजकारी सृजना हुनेछ।
यो सडक निर्माणका क्रममा ३ हजार ४ सय ७१ वटा रुख काटिएका छन्। त्यसबापत आयोजनाले डिभिजन वन कार्यालय पाँचथरको समन्वयमा १ को १० को अनुपातमा रुख रोप्ने र ५ वर्षसम्म हेरबिचार गर्ने छ।
काँकडभिट्टा-लौकही १ सय २० किलोमिटर सडक ४ लेनमा स्तरोन्नति गर्न पौने ५१ अर्ब लाग्ने
सरकारले काँकडभिट्टा-लौकही १ सय २० किलोमिटर सडक विस्तार तथा स्तरोन्नति गर्ने भएको छ। सडक स्तरोन्नतिका झण्डै ५१ अर्ब रुपैयाँ लागत लाग्ने सरकारको अनुमान छ। सडक स्तरोन्नतिका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ।
सडक निर्माण रिपोर्टको प्रस्तावक एसियाली विकास बैंक आयोजना निर्देशनालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ। यो सडक खण्डमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नेपालको प्रमुख आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारिक राजमार्ग हुनुका साथै एसियाली राजमार्गको खण्ड पनि रहेको छ।
दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोगमा राजमार्ग सुधार आयोजनाले काँकडभिट्टा-लौकही १ सय २० किलोमिटर सडक र पुलहरूलाई २ लेनबाट ४ लेनमा स्तरोन्नति गर्ने योजना रहेको रिपोर्टमा उल्लेख छ। आयोजनाले पूर्व-पश्चिम राजमार्गको क्षमता, गुणस्तर र सुरक्षा सुधारमा सहयोग गर्ने रिपोर्टमा उल्लेख छ।
काँकडभिट्टा-लौकही सडकखण्ड प्रदेश नं १ को झापा, मोरङ र सुनसरी जिल्लामा अवस्थित छ। प्रदेश नं १ र देशका अन्य भागलाई सडक सञ्जालमा आबद्ध गर्न यो सडकखण्डको ठूलो महत्व रहेको वातावरणीय प्रभाव रिपोर्टमा उल्लेख छ।
यो सडक खण्ड कुनै पनि संरक्षित क्षेत्र भएर गएको छैन्। यो आयोजनाको लगानी कर्ता एसियाली विकास बैंक रहेको छ। पूर्वपश्चिम राजमार्गको १२० किलोमिटर लम्बाई भएको काँकडभिट्टा-लौकही सडकखण्ड मेची पुलबाट सुरु भएर लौकही कोशी टप्पु वन्यजन्तु आरक्षसम्म पुग्ने चोकमा पुगेर टुङ्गिन्छ। यो सडकको कुल लगात ५० अर्ब ७७ करोड रुपैयाँ भन्दा बढी अनुमान गरिएको छ।
यो सडक प्रदेश नं १ को झापा, मोरङ र सुनसरी जिल्लामा पर्दछ। यो सडक १ उपमहानगरपालिका, १२ नगरपालिका र ४ गाउँपालिका भएर जान्छ। मुख्यतय दुई लेनको रहेको विद्यमान सडकको औसत क्यारिजवे चौडाइ लगभग ७ मिटर छ र दुबै तर्फ १ मिटर चौडा पेटी छ। बिर्तामोड, दमक, इटहरी जस्ता सहरी क्षेत्रमा ४ लेन सम्म विस्तार भएको पनि देखिन्छ। यो सडक मानव बस्ती, खेतीयोग्य जमिन, वन क्षेत्र र खोलानाला भएर जान्छ।
सो सडकमा ७१ वटा पुलहरू पर्दछ। जसमा २१ वटा ५० मिटरभन्दा लामो छन्। हाल सञ्चालनमा रहेका पुलमध्ये ६ वटा ३ सय मिटरभन्दा लामा पुलहरु रहेका छन् जुन निन्दा पुल (५+४६०), बिरिङ पुल (२२+९५९), कनकाई पुल (२९+५३०), रतुवा पुल (४७+९९०), बत्रा पुल (५७+५५०) र लोहेन्द्र पुल (७८+ २५०) हुन्। विद्यमान सडकलाई एसियाली राजमार्गको मापदण्डमा स्तरोन्नति रिपोर्टमा उल्लखे छ। सहरी क्षेत्रमा ५० मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर चौडाइको सडक डिजाइन तय गरिएको छ।
सडक स्तरोन्नतीका अवयवहरु अन्तर्गत १२० किलोमिटर सडक २ लेनबाट ४ लेनमा स्तरोन्नति गर्ने, पेभमेन्ट स्तरोन्नति, ज्यामितिय सुधार, चोक सुधार, शहरी क्षेत्रमा सडकको दुवै किनारमा साइकल लेन, फुटपाथ, पैदल यात्री क्रसिङ (ओभरहेड ब्रिज/अन्डरपास), वन्यजन्तु क्रसिंग, नयाँ पुलहरूको निर्माण, नाला सुधार, टेवा पर्खालहरु; भू-क्षय नियन्त्रण र स्थिरीकरण, बस स्टपहरु साथै अन्य सडक सुरक्षाको उपायहरु आदिको निर्माण हुने वातावरणीय रिपोर्टमा उल्लेख छ।
आयोजना क्षेत्रको प्रमुख भू-उपयोगमा मानव बस्ती, कृषि योग्य जमिन, वन क्षेत्र र जलाधार/ नदीनाला रहेको छ। सडकको क्षेत्राधिकारको ८४ कृषि भूमि (मुख्यतया सहर, राजमार्गको छेउमा अवस्थित गाउँहरू), १५% बन र बाँकी नदीनाला र अन्य रहेको छ। ५० मिटर क्षेत्राधिकार (केन्द्रबाट दुवैतर्फ २५ मिटर सडक विभागको सडक सीमाभित्र रहेको रिपोर्टमा उल्लखे छ। सडकको औसत विद्यमान फोर्मेसन चौडाइ ९ मिटर छ। प्रमुख नदीहरूमा निन्दा, कनकाई, बिरिङ, रतुवा, मावा, बक्रा, चिसाङ, लोहेन्द्रा र गछिया छन्। आयोजना क्षेत्रका अधिकांश प्रमुख नदीहरू सदाबहार छन्।
तराईका कमसल फ्लुभियल सेडिमेन्ट (बालुवा र गेग्रान मिसिएको बालुवा) र सिवालिक समूहका सेडिमेन्टरी चट्टानहरू जस्तै मडस्टोन, स्याण्डस्टोन, पैब्ली स्यान्डस्टोन र कॉग्लोमेरेटहरू आयोजना क्षेत्रमा पाइन्छन्। आयोजनको कारण ३ हजार ९ सय ७७ रुख कटानी हुने रिपोर्टमा उल्ल्ख छ। वन क्षेत्रको सुरक्षाका लागि सडकको १:१० को अनुपातमा १ लाख ३९ हजार ७ सय ७० रुखहरु रोप्ने र ५ वर्ष हेरचाहको लागि आयोजनाले डीएफओसँग समन्वयमा गर्नेछ। वातावरणीय अनुगमनका लागि ९२ लाख रुपैयाँ र वातावरणीय क्षति न्यूनीकरणका लागि ३० करोड ५९ लाख रुपैयाँ खर्च हुनेछ। सडक निर्माणको अवधि ३ वर्ष हुनेछ।