काठमाडौं- चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा राष्ट्रिय बीमा संस्थान संस्थानले ६ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ। भने १ अर्ब ५८ करोड दाबी भुक्तानी गरेको छ। यस अवधिमा संस्थानको जीवन बीमा कोष ४५ अर्ब ९१ करोड पुगेको छ।
संस्थानको हाल कुल सक्रिय बीमालेख संख्या ५ लाख ६० हजार रहेको छ। पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५६ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो।
सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरुमा आफ्नो श्रोतको उपयोग गर्ने सिलसिलामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख शेयर पुँजी लगानी रहेको छ। भने ऋण लगानी २ अर्व ८० करोड गरेकोमा ब्याज पुँजीकरण सहित हाल ४ अर्ब ८८ करोड रहेको छ।
हाल यो लगानीको व्याज तथा सावाँको किस्ता प्राप्त भइरहेको छ। जलविद्यूत लगानी तथा विकास कम्पनी लि.मा १ अर्व सेयर लगानी गरिएको छ। विद्यूत उत्पादन कम्पनी लि.मा ६ करोड ६० लाखको संस्थापक सेयर लगानी गरिएको छ। नागरिक लगानी कोषमा कुल सेयर पुँजी मध्ये संस्थानको ३१.५ प्रतिशत स्वामित्व रहेको छ।
यसको अतिरिक्त सनराइज बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., लक्ष्मी बैंक लि., ग्लोबल आईएमइ बैंक लि., एन आई सी एशिया बैंक लि. तथा नेपाल पुनर्बीमा कम्पनी लि. जस्ता देशका महत्वपूर्ण वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण सेयर रहेको छ।
विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ३० अर्ब २० करोड तथा डिबेञ्चरमा ५ अर्ब १० करोड लगानी रहेको छ। यस अवधिमा लगानीबाट संस्थानले १ अर्ब ८६ करोड आम्दानी गरेको जनाएको छ।
संस्थान ५६ औं वर्ष प्रवेश गरेको अवसरमा बिहीबार संस्थान परिसरमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले संस्थान लामो धरोहर बोकेको संस्था भएको बताए। स्थापनाको कालमा संस्थान एक्लै थियो सिधै हिँडे पुगेता पनि अव सामय फेरीएको बताए।
चालु आर्थिक वर्षको अन्तसम्ममा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कन सम्पन्न भइसकेको अवधिको साधारण सभा सम्पन्न गर्ने साथै बाँकी अवधिका लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कनको कार्य सम्पन्न गर्ने संस्थानको भावी कार्य योजना रहेको संस्थानले जनाएको छ।
संस्थानको दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने, नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पुँजी बृद्घि गर्ने, तोकिएको समयावधि भित्र संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने पनि संस्थानको भावी कार्य योजना रहेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए। राष्ट्रिय बीमा संस्थान पेशागत अभिकर्ता संघका अध्यक्ष शम्भू ढुंगानाले अभिकर्ताहरुले बीमा संकलन गरेर नै बीमा क्षेत्र फष्टाउने भन्दै अभिकर्ता बीमा क्षेत्रका महत्वपूर्ण स्टेकहोल्डर भएको बताए।
वि.सं २०२४ साल पौष १ गते स्थापना भई फागुन ११ गतेदेखि व्यवसायिक कारोवार शुरु गरी राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुरुप सञ्चालन हुदै आएको संस्थान आज स्थापनाको ५५औं वर्ष पारगरी ५६ औं वर्ष प्रवेश गरेको छ। देशमा बीमा भन्ने बित्तिकै राष्ट्रिय बीमा संस्थान सम्झने स्थितिको निर्माण तथा बीमालाई मेची देखि महाकालीका गाउँ/गाउँसम्म पुर्याउने ऐतिहासिक अभिभारा बहन गर्दै आइरहेको छ।