बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नियमविपरित थाई एयरवेजलाई ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने पूर्वमहानिर्देशक क्षेत्री अख्तियारको छानबीनमा

अख्तियारले लियो सबै कागजपत्र 

बुधबार, फागुन १० २०७९
नियमविपरित थाई एयरवेजलाई ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने पूर्वमहानिर्देशक क्षेत्री अख्तियारको छानबीनमा

थाई एयरवेजको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’ अनुमतिपत्रलाई निरन्तरता दिनका लागि थाइको बक्यौता थाइ स्माइलले तिर्ने शर्तमा  १२ पुस २०७८ क्षेत्रीले स्वीकृति दिएका थिए। 

काठमाडौं- थाई एयरवेजका प्रतिनिधिसँग 'घुस' मागेको अडियो सार्वजनिक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परिसकेका छन्। मन्त्रालयले निलम्बन गरेपछि अहिले उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको छ। 

अख्तियारले ठाकुरको अडियोमाथि छानबीन अघि बढाउँदै जाँदा यसमा पूर्वमहाप्रबन्धक तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसमेत भइसकेका राजकुमार क्षेत्री पनि तानिने भएका छन्। 

क्षेत्री महानिर्देशक हुँदा गरिएका निर्णय गैरकानूनी रहेको तथा त्यही कारणले प्राधिकरण तथा विमानस्थललाई क्षति पुगेको पाइएपछि अख्तियारको अनुसन्धानमा क्षेत्री पनि तानिने भएका हुन्। 

नेपालमा उडान बन्द भएको अवस्थामा पनि थाई एयरवेजको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमतिपत्रलाई क्षेत्रीले निरन्तरता दिएको पाइएको छ। कुनै पनि सक्रीय उडानमा रहेको एयरलाइन्सले मात्र सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति पाउने स्पष्ट व्यवस्था हुँदाहुँदै क्षेत्रीले थाईको अनुमतिलाई निरन्तरता दिएका थिए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले २० साउन २०७१ मा पहिलोपटक थाई एयरवेजलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’ गर्न अनुमति दिएको थियो। ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निर्देशिका २०६९ को खण्ड २ को उपखण्ड (४) बमोजिम प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमनले थाई एयरवेजलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’को लागि अनुमति दिएका थिए। 

उक्त उपखण्डमा स्पष्ट भनिएको छ, ‘नियमित उडान गर्ने वायुसेवा वा वायुयान सञ्चालक’ले मात्रै यो अनुमति प्राप्त गर्छ। सन् २०१९ मा ३७ करोड ४३ लाख, सन् २०१८ मा ३६ करोड १९ लाख तथा सन् २०१७ मा ६ करोड ५८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेका थाई एयरवेजले कोरोना महामारीसँगै नेपालमा हवाई सेवा बन्द गरेको थियो। 

कानूनी हिसाबले उडान बन्द गरेसँगै थाई एयरवेजलाई दिइएको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’ अनुमति पनि स्वत: खारेज हुनुपर्ने थियो। तर तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीले थाई एयरवेजको भगिनी संस्था थाई स्माइल भएको भन्दै ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’को अनुमतिलाई निरन्तरता दिएका थिए। 

थाई एयरवेजको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग’ अनुमतिपत्रलाई निरन्तरता दिनका लागि थाईको बक्यौता थाई स्माइलले तिर्ने सर्तमा १२ पुस २०७८ मा क्षेत्रीले स्वीकृति दिएका थिए। 

थाई एयरवेजले अनुमतिपत्रको दुरुपयोग पनि गर्दै आएको थियो। आफ्नै जहाजलाई मात्र सेवा दिने अनुमति भएपनि उसले अरु एयरलाइन्सलाई पनि यस्तो सेवा दिइरहेको थियो। यस्तो सेवा दिनुका पछाडि पनि तत्कालीन महानिर्देशक क्षेत्रीकै ढाडस रहेको थियो। क्षेत्रीसँगको मिलोमतोमा ५ वटा एयरलाइन्सलाई थाई एयरवेजले इन्जिनियरिङ सेवा दिइरहेका थियो।

नेपालमा उडान गर्ने ५ एयरलाइन्सहरू कोरिएन एयरलाइन्स, सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक, सिचुवान एयरलाइन्स, भुटान एयरलाइन्सलाई करोडौँ लिएर इन्जिनियरिङ सेवा दिइएको थियो। नेपालमा सेवा दिए पनि त्यसको भुक्तानीको भ्याट बिल भने बैंककबाट जारी गराइएको समेत पाइएको छ। यसले गर्दा नेपाललाई ५ अर्बभन्दा बढी नोक्सान भएको अनुमान गरिएको छ। 

अनुमति तथा प्रमाणपत्र प्राप्त गर्ने वायुसेवा वा संस्थाको अवधि प्रत्येक वर्षको असार मसान्तमा समाप्त हुनेछ। कसैले सेवाको अवधि नवीकरण गर्न चाहेमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा, बिमानस्थल सेवा शुल्क नियमावली, २०६७ मा उल्लेखित नवीकरण दस्तुर तिरी अवधि समाप्त भएको एक हप्ताभित्र नवीकरण गर्न आवेदन दिनु पर्नेछ। सो अवधिभित्र नवीकरण गर्न नआएमा तोकिए बमोजिमको विलम्व शुल्क बापत थप रकम तिरी १२० दिनभित्र प्राधिकरणबाट नवीकरण गराउन सक्नेछ। सो अवधिभित्र पनि नवीकरण नगरेमा अनुमति तथा प्रमाणपत्र स्वतः रद्द हुनेछ।

यस्तोमा अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरवेजले गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ रद्द गरेको छ। ९ फागुन २०७९ मितिदेखि थाई एयरवेजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको काम बन्द गरिएको हो। थाई एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एन्ड ओभरहल सेवा पनि बन्द गर्ने प्राधिकरणले निर्णय गरेको छ। 

तत्कालीन महानिर्देशक क्षेत्रीले गैरकानूनी सेवा दिएको भन्दै अख्तियारले छानबीन सुरु गरेको छ। यसअघि विमानस्थल बुटिक बनाउने भन्दै करौडौँ अनियमिततामा समेत छानबीन भइरहेको छ।


प्रकाशित : बुधबार, फागुन १० २०७९०५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend