बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

९८ करोड खर्चिएको भरत तालमा थप एक अर्ब लगानी गर्दै बागमती नगर

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ९ २०७९
९८ करोड खर्चिएको भरत तालमा थप एक अर्ब लगानी गर्दै बागमती नगर

सर्लाहीको बागमती नगरपालिका-४ र १२ मा निर्माणाधीन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ।

सर्लाही- सर्लाहीको बागमती नगरपालिका-४ र १२ मा निर्माणाधीन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ।

मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब ९८ करोड रूपैयाँ खर्च भएको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए। बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिन अझै एक अर्ब लगानी गरिने र उक्त ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ।

बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जंगल सफारी, शिव पार्वतीको मन्दिरसहितको सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनोसहितको होटल निर्माण भइरहेको बागमती-१२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए। ‘भरत ताललाई बागमती नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा अघि बढाउँदै छौँ, ताललाई मधेस प्रदेशकै ‘हब’ बनाउने योजना छ’, उनले भने। 

नगरको बजेट, संघ र प्रदेशबाट आएको अनुदानका साथै बजेट थपेर तालको काम पूरा गर्ने नगरप्रमुख थापाले बताए। ‘तालको काम २० देखि २५ प्रतिशतसम्म मात्र  भएको छ, तीन वर्षभित्र बहुउद्देश्यीय परियोजनाको सम्पूर्ण काम सक्ने रणनीति बनाएका छौँ’, उनले भने। तालमा माछा र हाँसपालन थालिएको छ। यसबाट आम्दानी बढाउन मद्दत पुग्ने नगरपालिकाले जनाएको छ।
 
ताल रहेको एक सय २१ बिघामा बहुउद्देश्यीय परियोजना सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले बताए। ‘बागमती नदीको बगरलाई प्रयोग गरेका छौँ, यो नगरपालिकाभित्र र नगरकै विकास तथा समृद्धिका लागि प्रयोग गरिँदैछ’, उनले बताए। 

यहाँ विशेषगरी आन्तरिक र भारतीय पर्यटक आउने गरेका छन्। वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्ने गरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ। तालमा अहिले दैनिक पाँच सयजनाले रोजगारी पाएका छन्। तालमा अहिले साना ठूला गरेर करिब ४० डुंगा सञ्चालनमा छन्। रासस


प्रकाशित : मंगलबार, फागुन ९ २०७९१०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend