काठमाडौं- नेपाल राष्ट्र बैंकले ब्याजदरमा लगाएको अंकुससँगै हौसिएका लगानीकर्ताको खुसी एक दिन पनि टिकेन। राष्ट्र बैंकले सर्कुलर जारी गर्दै एक पटकमा १० प्रतिशतका दरले मात्रै ब्याजदर बढाउन पाउने निर्देशनले बुधबार नेप्से सूचक ७० अंक भन्दा धेरैले सुधार भएको थियो। तर राष्ट्र बैंकको उक्त कदमले बिहीबार भने काम गर्न सकेन।
बुधबार नेप्से परिसूचक ६०.५६ अंकले बढेर २५ सय ७१.६६ अंकमा पुगेकाे थियो। गत भदौ २ गते हालसम्मकै उच्च अंकमा पुगेर फर्किएको सेयर बजार अहिले माथि उठ्न सकेको छैन।
बिहीबार नेप्से परिसूचक १४.७० ले घटेर २५५६.९६ अंकमा झरेको छ। बिहीबार १५१ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ३० कम्पनीको भने बढेको छ। बिहीबार ६१ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ।
पछिल्लो समय तरलता अभाव हुँदा निक्षेप बढाउन बैंकहरूले निक्षेपको ब्याजदर बढाइरहेका छन्। राष्ट्र बैंकले बढ्दो ब्याजदरलाई नियन्त्रण गर्दैमा तरलता सिर्जना हुँदैन। अहिलेको सबैभन्दा ठूलो समस्या भनेको ऋणयोग्य पुँजीको अभाव नै हो। बैंकिङ प्रणालीमा कर्जाको माग बढिरहेको छ तर माग अनुसार निक्षेप भने बढ्न सकेको छैन।
राष्ट्र बैंकले ऋणीहरूलाई पेनिक नबनाउन ब्याजदरमा अंकुश लगाए पनि यो समाधान होइन। नेपालको सेयर बजारमा बैंक ब्याजदर तथा तरलता र सेयर बजारको सम्बन्ध धेरै नै हुने गरेको छ। ब्याजदर घट्दा सेयर बजार बढ्ने र ब्याजदर बढ्दा सेयर बजार तल झर्ने नियमित प्रकृया नै हो।
यहि सम्बन्ध बुझेका लगानीकर्ताहरू गत साउन-भदौ महिनामै सेयर बिक्री गरेर बाहिरिसकेका छन्। गत साउन भदौमै बैंकहरूमा अत्याधिक कर्जाको माग हुँदा सिसिडी रेसियो कसिलो हुँदै आइरहेको छ। यसै क्रममा राष्ट्र बैंकले साउन अन्तिममा जारी गरेको मौद्रिक नीतिमार्फत सिसिडी रेसियो खारेज गरी सिडी रेसियोलाई मान्यता दियो। यहि नीतिगत व्यवस्थाले बैंकिङ प्रणालीमा थप तरलता अभावको अवस्था सिर्जना भयो। आउने दिनमा अझै बैंकिङ तरलता अभाव थप चुलिने देखिन्छ।
यहि परिदृश्यलाई नजिकबाट हेरिरहेका लगानीकर्ताले सेयर खरिद गरिरहेका छन्। परिणाम कारोबार रकम १९ अर्बबाट २/३ अर्ब रुपैयाँमा खुम्चिएको छ।
कारोबार रकम नबढेसम्म बजार सुधार हुने संकेत देखिँदैन। यदि कारोबार रकम बढ्यो भने बजारमा ठुला लगानीकर्ताहरूको प्रवेश भयो भन्ने थाहा हुन्छ। ठूला लगानीकर्ताको बजारमा प्रवेश भयो भन्ने थाहा पाउने वित्तिकै साना तथा मझौला किसिमका लगानीकर्ताहरू पनि अन्धाधुन्ध सेयर खरिद गर्न थाल्छन्। अन्तमा यिनै लगानीकर्ताहरूले ठुलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ।