म्याग्दी- म्याग्दीस्थित धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गलाई नयाँ गन्तव्यका रुपमा विकास गरिने भएको छ। संसारको सातौँ अग्लो सो हिमाल धवलागिरि गाउँपालिका-४ मा अवस्थित छ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकिङ व्यवसायी एजेन्सीज एशोसियशन (टान)का पदाधिकारीको छलफलबाट धौलागिरि चक्रीय पदमार्गलाई नयाँ गन्तव्य बनाउने विषयमा पोखरामा छलफल भएको हो।
टान गण्डकी प्रदेशका अध्यक्ष धर्म पन्थीले धौलागिरि चक्रीय पदमार्गलाई नयाँ गन्तव्य बनाउन छलफल गरिएको बताए। 'गण्डकीको पुरानो अन्नपूर्ण चक्रीय पदमार्ग छोटिएपछि धौलागिरिलाई वैकल्पिक नयाँ गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवश्यकता महसुस गरेर पालिका र प्रदेश सरकारसँग छलफल गरेका हौँ,' उनले भने 'पालिका, प्रदेश र सङ्घीय सरकारले पूर्वाधार बनाउने, हामी निजी क्षेत्रले प्रर्वद्धनको काम गर्ने योजना बनाएका छौँ।'
पर्यटनमन्त्री जुग्जालीले पर्यटकको चाहना र आवश्यकता अनुसार धौलागिरि, ढोरपाटन शिकार आधार, अन्नपूर्ण आधार शिविरलगायत नयाँ गन्तव्यमा पर्यटक भित्र्याउन पूर्वाधार विकासमा पालिका र सङ्घीय सरकारसँग मिलेर काम गर्नुपर्ने बताए।
सडकले छोटिएका पुराना पदमार्गको विकल्पमा नयाँ गन्तव्यको खोजी, विकास र प्रर्वद्धन गर्ने नीति प्रदेश सरकारले लिने उनको भनाइ थियो। धवलागिरि गाउँपालिकाका अध्यक्ष पुनले पालिकाको सीमित स्रोतले नभ्याउने भएको हुँदा धौलागिरि चक्रीयमा पूर्वाधार बनाउन प्रदेश र सङ्घीय सरकारको साथ चाहिएको बताए। म्याग्दीको दरवाङ, मुदी, बगर, दोभान हुँदै धवलागिरि आधारशिविर भएर मुस्ताङ निस्कने धौलागिरि चक्रीय पदमार्गको भ्रमण र धौलागिरि हिमाल आरोहणका लागि आउने पर्यटकको सङ्ख्या न्यून छ।
आरोहीहरु हेलिकप्टरबाट सिधैँ आधारशिविर पुग्ने र फर्कने हुँदा पदमार्गमा पर्ने गाउँलेले लाभ लिन पाएका छैनन्। पदमार्ग, पुल, आवास, खानेपानी र सञ्चार सुविधा विस्तारका लागि गाउँपालिकाले पहिलो चरणमा डिपिआर तयार पार्न लागेको उपाध्यक्ष रेशम पुनमगरले बताए। साइनबोर्ड, सूचना पाटी राख्ने काम तत्कालै गर्नुपर्ने पर्यटन व्यवसायीले सुझाएका छन्। अत्याधुनिक प्रविधिको सञ्चार सुविधा विस्तार गर्ने विषयमा पनि छलफल भएको उपाध्यक्ष पुनले बताए।
बगर, नाउरामा घरबास तथा सल्लाघारी, दोभान र इटली आधार शिविरमा चिया पसल सञ्चालन गरेका छन्। आवास सुविधाका लागि होटेल सञ्चालन नहुँदासम्म यस पदमार्ग क्याम्पिङ ट्रेकिङ गर्नुपर्ने हुन्छ। वर्षमा करिब दुई सय पर्यटक हिमाल आरोहण र पदयात्राका लागि धौलागिरि आधार शिविर पुग्ने गर्छन्।
मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्लको एकान्त वातावरण, नजिकै देखिने झारल, प्राकृतिक तातोपानी कुण्ड, भिरमह शिकार, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य धौलागिरि चक्रीय पदमार्गको मुख्य आकर्षण हो। भीर र जङ्गलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिँढीसहितको पदमार्ग बनाउन पछिल्लो पाँच वर्षमा प्रदेश र सङ्घीय पर्यटन मन्त्रालयले दुई/दुई करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन्। गाउँपालिकाले पनि यो पदमार्गको पूर्वाधारमा करिब एक करोड रुपैयाँभन्दा बढी खर्चिएको छ।
विभिन्न १२ स्थानमा झोलुङ्गे पुल र तीन स्थानमा साना ढल निर्माण गर्न स्थलगत अध्ययन गरेर आवश्यकता पहिचान गरिएको गाउँपालिकाले जनाएको छ। पर्यटकको तथ्याङ्क राख्न, सूचना र प्राथमिक उपचार सेवा उपलब्ध गराउन इटाली आधार शिविरमा चेक पोष्ट सञ्चालनका लागि भवन बनाइएको छ। देउरालीमा बिटिएस टावर राखेर बगरसम्म मोबाइल सेवा विस्तार गरिएको छ। रासस