काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूलाई ब्याजदर घटाउन निर्देशन दिएसँगै बुधबार सेयर बजारमा राम्रो सुधार देखियो। बजारमा सुधार देखिए पनि कारोबार रकम भने अझै बढ्न सकेन।
नेपाल राष्ट्र बैंकले एक पटकमा १० प्रतिशतमात्रै ब्याजदर बढाउन पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकको उक्त निर्देशनले अव प्रत्येक महिनामा १० प्रतिशतका दरले बढ्दै जाने निश्चित छ।
यसले गर्दा हिजो बजार बढ्दा पनि कारोबार रकम बढ्न नसकेको हो । साना लगानीकर्ताले हौसिएर शेयर खरिद गरेपनि ठूला लगानीकर्ता भने मौद्रिक नीतिको पहिलो समीक्षा कुरेर बसिरहेका छन्। यदि राष्ट्र बैंकले आफ्नो माग सुनुवाइ गर्यो भने बजारमा सुधारको निरन्तरता हुने लगानीकर्ताहरुले बताएका छन्।
लगानीकर्ताले शेयर कर्जामा लगाइएको ४/१२ करोडको सिलिङ खारेज गर्न माग गर्दै आइरहेका छन्। राष्ट्र बैंकले साना लगानीकर्ताको पहुँचमा शेयर धितो कर्जा पुगोस् भनेर यो सिलिङ लगाएको बताउँदै आएको छ।
यो सिलिङ हटाइदिन लगानीकर्ताले अर्थमन्त्री लगायतका शक्तिकेन्द्रमा गएर अनुरोध गर्दै आइरहेका छन्। अर्थमन्त्रीले निर्देशन दिएपनि यो विषयमा गभर्नर महाप्रसाद अधिकारीले वास्ता गरेका छैनन्।
त्यस्तै लगानीकर्ताहरुले सीडी रेसियोलाई खारेज गरी सीसीडी रेसियो कायम गर्न अनुरोध गर्दै आए पनि राष्ट्र बैंकले मानेको छैन।
राष्ट्र बैंकले तीन महिना अगाडि मौद्रिक नीतिको व्यवस्थालाई संसोधन गर्ने गरेको छैन। यदि राष्ट्र बैंकले चाह्यो भने पहिलो मौद्रिक समीक्षामा चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्थालाई संसोधन गरिदिन सक्छ। गभर्नर र अर्थमन्त्रीबीचमा खासै राम्रो सम्बन्ध छैन।
गभर्नरले भनेको अर्थमन्त्रीले नटर्ने र अर्थमन्त्रीले भनेको गभर्नरले नटेर्ने चर्चा चल्दै आइरहेको छ। तर लगानीकर्ताको चौतर्फी विरोध पछि भने गभर्नरले केही संसोधन गर्ने संकेत निकटस्थहरुलाई दिएका छन्। यदि राष्ट्र बैंकले माग सम्बोधन गरेमा बजारमा सुधारको निरन्तरता हुने लगानीकर्ताहरुले बताउँदै आएका छन्।